कठै ! हाम्रो मानसिकता

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कठै ! हाम्रो मानसिकता

नरेश खपाङ्गीमगर
केही हप्ताको बेलायत बसाइपछि नेपाल फर्किँदा प्रवेशिका परीक्षाको नतीजा साँझ बिहान भएको थियो । लाखौँ किशोर किशोरी एकतह उक्लेर अर्को तहमा जाने त्यो प्रक्रियालाई सहज बनाउन हो वा त्यसबाट व्यावसायिक तर मार्न हो, छुट्याउनै मुस्किल बनाउँदै उच्चमावि (प्लस टू) का विज्ञापन यत्रतत्र सर्वत्र थिए । कुनै उत्सवजस्तै थियो माहौल । अखबारका पानाभरका विज्ञापनहरु, हरेक सय/डेढसय मिटरका अन्तरमा भेटिने प्लस टूका विवाह घर झैँ सिँगारिएका द्वारहरु, कलेज प्राङ्गणका कन्सर्टहरुले माहौल जो यस्तो बनाइदिएका थिए । सडकमा ओहोरदोहोर गर्दा लाग्थ्यो – प्लस टूका विज्ञापन झुण्ड्याउन अब कुनै बिजुलीको खाँबो बाँकी छैन ।

यतिसम्म त ठीकै थियो । राजनीतिक पार्टीहरुले, उनीहरु सम्बद्ध संघ संगठनहरुले ठाउँ खाली नराखी प्रचार गर्न हुने तर प्लस टूहरुले यसरी प्रचार गर्न नहुने भनेर भन्नु पूर्वाग्रही हुन्थ्यो । कानुनले छुट नदिए पनि महानगर, उपमहानगर र नगरपालिकाहरुले आँखा चिम्लिदिएपछि अरुले बकबक गर्नु सार्थक हुँदैनथ्यो । त्यसो भए चिन्ता केका लागि त ? पीर थियो यी कलेज, प्लस टूका नामहरुसँग । प्लस टू सञ्चालकका पराधीन सोचाइसँग । जसले त्यहाँ पढ्ने विद्यार्थीलाई प्रभाव पार्थे ।

क्यानाडा, अष्ट्रेलिया, युएस र युकेमा मात्र भएको बि्रजवाटर अब सिनामंगलमा थियो । संयुक्त अधिराज्यको स्कटल्याण्डमा रहेको एभरडिन अब नेपालमै थियो । बेलायतका अक्सबि्रज, क्याम्बि्रज, किंग्स, साउन वेस्टर्न स्टेट जस्ता कलेजहरु अब काठमाडौँमै उपलब्ध थिए । अमेरिकाका टेक्सास, पेन्टागनहरु मात्र होइन अन्तरीक्षको अध्ययनमा समर्पित नासा पनि अब नेपालमै थियो । विश्वकै पुरानो शैक्षिक प्रतिष्ठान दाबी गरिएको तक्षशिला पनि नेपालमै आइसकेको थियो ।

अरु क्षेत्रमा प्रगति नभए पनि नेपालको शैक्षिक क्षेत्रले फड्को मारिरहेको प्रतीत हुन्थ्यो । जे भइरहेको थियो गजब भइरहेको थियो । त्यसै अजब नेपाल गजब काशी भनेका होइन रहेनछन् । अमेरिकाबाट भर्खरै फर्केकाहरुले पनि आफूलाई पेन्टागन र टेक्सासकै वरिपरि पाउँथे । बेलायतबाट नेपाल पुगेकाहरुले पनि एभरडीन, अक्सबि्रज, क्याब्रीज, साउन वेस्टर्न, बि्रजवाटरकै छेउछाउ आफू भएको पाउँथे । यस्तै महसूस गरिरहेको बेला पत्रकारिताका एक विद्यार्थी मित्रले सुनाएको टेक्सास कलेजको विज्ञापनको सार काठमाडौँको टेक्सास कलेज पढे अमेरिकाको टेक्सास पुगिने थियो ।

मनमा प्रश्न उठ्नु स्वाभाविक थियो के अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडाकै नाम राखे मात्र नेपालमा कलेज चल्न सक्छ ? कलेज नामले चल्छ कि स्तरीय पठनपाठनले ? के सरस्वती विद्यालय, मञ्जुश्री उच्चमावि नाम राख्यो भने अब नेपालमा कलेज चल्न सक्दैन ?

केही समयअघि एक विद्यालय सञ्चालकले अनौपचारिक प्रसंगमा भनेको सम्भिmएँ । वर्षौँदेखि चलिरहेको मिलन विद्या मन्दिरलाई ब्लुमिङ एकेडेमीमा बदलेका उनले भनेका थिए – सबैले सरकारी स्कुल जस्तो नाम भयो भने, विद्यार्थीहरु पनि आउनै छाडे । उनले विद्यालयले बजार ब्यवस्थापन गर्न नसकेर विद्यार्थीहरु तान्न सकेको थिएन कि नामकै कारणले ? यथार्थ थाहा भएन तर आदर्श विद्यामन्दिर, त्रिपद्म विद्याश्रम, बुढानिलकण्ठ स्कुल आदिले विद्यार्थी नपुगेको गुनासो गरेको वा नाम फेर्न पहल गरेको सुनिएको छैन ।

ल नेपालमै बसी बसी हाम्रा भाइबहिनीहरुले क्याम्बि्रज, अक्सफोर्ड, टेक्सास, पेन्टागनमा पढ्न पाए भनी घिरौँला जत्रो नाक पनि फुलाउँला रे । भोलि नेपालको क्याम्बि्रज कलेजमा पढेको विद्यार्थी बेलायतको क्याम्बि्रज युनिभर्सिटीमा पुग्यो भने युनिभर्सिटीकाले के सोच्लान् र उसले के जवाफ देला ? नेपालको टेक्सासमा पढेको अमेरिकाको टेक्सासमा पुग्दा कहाँ पढेको भन्ला ?

यी कलेजहरुको नाम जुराइदिने पुरेत चाहिँ को छन् हँ ?
अनलाइनबाट

प्रतिक्रिया छाड्नुस्