नेपाली साहित्य, हिजो आज र भोली – कृष्ण धराबासी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

नेपाली साहित्य, हिजो आज र भोली – कृष्ण धराबासी

हिजो
पृथ्वीनारायण शाहको राष्ट्र एकीकरणको अभियान सँग सँगै प्रारम्भ भएको नेपाली कविताको यात्राले नेपाली राष्ट्रियताको इतिहास सँग सँगै यात्रा तय गरी आइहेको छ । एकीरण अभियानलाई बल प्रदान गर्दै उदयानन्द र यदुनाथहरूले वीर रसका कविताहरूका रचना गरेका छन् । एकीकरण अभियानताका गोर्खाली सिपाहीहरूका वीरताका वर्णनहरूले काव्यको रूप लिएको छ । १८२६ देखि १८७२ सम्मको नेपाली कविताका युगलाई वीरगाथा काल मानिएको छ ।
तर, भानुभक्तदेखि मोतीरामसम्मको युग भने नेपाली कविताको एक त्यस्तो विशिष्ट युग हो जुन युगले स्थापित साहित्यक मार्गको यात्रा पारम्भ गरेको छ भानुभक्तले तयार गरेको रामायणको प्रचारप्रसार पछि नेपाली साहित्यमा भक्तिधाराको प्रवेश भएको छ । विहा बटुलो जहाँसुकै पनि श्लोक हालेर गाउने परम्पराको थालनी गर्दा नेपाली साहित्यका भक्तिधाराले प्रमुख महŒव प्राप्त
गरेको हो ।
एकीकरण अभियानका क्रममा वा त्यसपछि पनि लेखिएका कविताहरूले वीरताको वर्णन गरेका छन् । राष्ट्र एकीकरण र निर्माणका लागि साहित्यिक अभिव्यक्तिका क्रममा प्रारम्भ भएका नेपाली कविहरूमा उदयानन्द अर्याल र सुवानन्द दासको नाम अग्र पक्तिमा आउँछ । त्यसै अवधिका अन्य कविहरूमा शक्तिबल्लभ अर्याल, सुन्दरानन्द बाँडा, राधाबल्लभ आदि कविहरू छन् । यस बीचका रचनाहरूमा राजाको स्तुति, देश प्रेम, युद्धको वर्णन, वीर बन्दना राज्यभक्ति आदि परिलक्षित भएका छन् ।
यस कालमा लेख्य भन्दा गायन परम्परा ज्यादा विकसित भएर गएको हुँदा साहित्यिक स्तरीयता र भाषिक विकासमा पूर्वाधारहरू तयार भएका देखिँदैनन् । यद्यापि संस्कृत तथा अन्य भाषाहरूको अध्ययन र प्रभावबाट नभई स्वतः स्फूर्ति भावनाको उपजका रूपमा प्रष्फुटन हुन प्रारम्भ गरेका यस कालका यी कविताहरू नेपाली काव्य विधाका गाडधन सरह भएका छन् ।
वि. सं. १८७३ देखि १९४० सम्मको ६७ वर्षको कविताले वीरधाराबाट मुक्त भएर आध्यात्मिक चेतनाका खोजी गरेको छ । देश निर्माणको बाह्य अभियानको समाप्तीपछि आन्तरिक राष्ट्रिय चेतना, जागरण र नैतिकताका खोज प्रारम्भ भएको देखिन्छ । राष्ट्र निर्माण भयो । राष्ट्रिभित्र विभिन्न सानासाना राज्यहरू विलय हुँदा विभिन्न जातजाति संस्कृति, भाषिकाहरू आदि समाहित भएका थिए । त्यस समाहितता भित्र विरह, कुण्ठा, हिनता आदि अनेक सामाजिक भावनाहरू पनि थिए । हारिएको समाज पनि त्यहि मूल प्रवाहमा गाँसिएको थियो ।
जीतको उन्माद र हारको पीडा र बेदनाहरूबाट मुक्तिको बाटोको खोज गर्दै जाँदा कविहरूले आध्यात्मिक अडेसो लिएका छन् । राम भक्ति र कृष्ण भक्तिका गीत, भजन, र गाथागायनहरू प्रचूर मात्रामा हुन थाले । संस्कृत साहित्यमा अगाध स्रोतका रूपमा रहेको आराधना, स्मृति र भक्तिभावनाको अभिव्यक्तिलाई नेपालीकरण गर्ने प्रारम्भ भएको देखिन्छ । यस कार्यमा सबैभन्दा उत्कृष्ट योगदान भानुभक्त आचार्यले गरेका छन् । उनको रामायणको सस्वर गायन र सिलोक परम्पराले त्यस समयमा ठूलै आन्दोलन ल्याउन सकेको छ ।
नेपाली ब्राह्मण समाजमा पाञ्चायन पुज्ने परम्पराका कारण भक्ति साहित्यमा पाञ्चायन देवताहरूकै आराधनाले पाथमिकता प्राप्त गरेको देखिन्छ । त्यसै भएर विष्णुका अवतारका रूपमा मानिएका राम र कृष्णको वर्णन र आराधनाले भक्तिधार भित्र प्रमुखता लिएको हो ।
त्यही कालमा एउटा अर्को धारा पनि सँगसँगै बगेको छ । भक्तिधारा भित्रै निगुर्ण धाराले पनि आकार ग्रहण गरेको देखिन्छ । वा हिजोका सबैखाले असफलताहरूको समेत जिम्मेदारी छ आजमाथि । हिजोका अनुभवहरूको पुर्नअध्ययन पनि हो आज । आज माथि उभिएर हामी हिजोलाई हेर्छौं र भोलितिर फर्किन्छौं । हरेक अब चुनौती छ आज । भोलिमा पुग्न प्रत्येक पाइला कठिनाइ छ । सगुण भक्तिधाराका रूपमा रामभक्ति र मृष्णभक्तिले विशेष प्रभाव पारिरहका बेला जोसमनी सन्त परम्पराल अर्को आधार टेकेको छ राम, कृष्ण आदि साकार स्वरूपलाई ईश्वरका रूपमा मानेर भक्तिको मार्ग खोज्ने आध्यात्मिक र चेतनासँग जुध्न निगुर्ण सच्चिदानन्द ब्रह्म स्वरूप ईश्वरको चेतना अर्कोपट्टि बगेको छ । ईश्वरलाई आकारमा, रूपमा मूर्तिमा कतै पनि नदेखेर निराकार निरञ्जन मान्ने जोसमनी शन्त परम्पराले भने नयाँ खाले साहित्य दिएको छ । यसमा सामाजिक कुरितिहरूमाथि व्यंग्य प्रहार भएको पाइन्छ भने, मानसिक र बौद्धिक चेतनाको खोज पनि उल्लेख्य छ ।
राम भक्तिधाराका भानुभक्त, कृष्णभक्ति धाराका इन्दिरस र निर्गुण भक्तिभाराका ज्ञान दिलदास प्रमुख कविका रूपमा देखा परेका छन् ।
वि.सं. १९४१ देखि १९७४ सम्मको ३३ वर्षको अवधिलाई नेपाली साहित्यको जीवनमा सृंगारकालका रूपमा लिइएको छ ।
भक्तिधाराबाट एकाएक सृंगारधारातिर नेपाली कविताले फड्को मार्नको लागि देशको शासन व्यवस्था पनि प्रमुख रूपमा रहेको छ । वीर शम्शेरदेखि चन्द्र शम्शेरसम्म तन्किएको यस अवधिमा नेपाली दरबार भोग विलासमा मस्त रहेको अवस्था हो । यौन र सृंगारको रोचकतामा लटपटिएका राणा दरवारले बिदेशबाट हिन्दी तथा बंगाली भाषाका नाटक मण्डलीहरू झिकाएर पनि हेर्ने गर्थे भने नर्तकीहरूलाई नचाएर आनन्द लिने परम्परा पनि विस्तारित हुँदै थियो । यसै लहरले दरबारबाहिर पनि सृंगारिक धाराको प्रचार गर्न थाल्यो ।
मोतीराम युगसम्म कविता भनेको मनोरञ्जको साधनका रूपमा रहेका थियो । यसलाई पढेर आनन्द लिने र रमाउनेसम्म थियो भने लेखनाथमा आईपुग्दा कविता एउटा नैतिकताको सन्देश बन्न पुग्यो । जीवन के हो ? जगत के हो ? हाम्रो कर्तव्य के हो । आजको संसारले मागेको के हो ? जस्ता बैचारिक प्रश्नहरूको उत्तरहरूको खोजीतिर लेखनाथका कविताले नेपाली काव्यलाई निर्देशन गर्ने थाले । आधुनिक मानवजीवनका सोच र समस्याहरूमा कवितालाई केन्द्रिभूत गरी अघि बढाउन थालेपछि लेखनाथको आगमनलाई आधुनिक कालको सन्देश मानिएको छ ।
वि.सं. १९७५ देखि प्रारम्भ भएको आधुनिक नेपाली कविताको आजसम्म आउँदा धेरैवटा खुड्किलाहरू पार गरेका छ । परिस्कारवादी, स्वच्छन्दतावाद, प्रगतिवाद, प्रगोगवाद, आदि खुड्किलाहरू चढ्दै वर्तमानमा समसामयिक धारासम्म यो आइपुगेको छ ।
राणा शासनको उत्तराद्र्धकाल नेपाली राजनीतिक क्षेत्रमा पनि संक्रमण अवस्थामा थियो । राणहरूका विरुद्धमा जनताहरूमा आन्तरिक रूपमा विद्रोहको प्रारम्भ हुन थालिसकेको थियो । भित्र भित्रै राणा विरोधी भावनाले लेखकहरूलाई सृंगार, भक्ति वा आध्यात्मतिर भन्दा राननीतिक, मुक्ति, विद्रोह र क्रान्तिपट्टि झुकाउन थालिसकेको थियो । सांकेतिक प्रहार वा व्यंग्य लेखनबाट राणाहरूको आलोचनाको शुरुवात कवि लेखनाथको “पिँजडाको सुगा” ले नै गरिसकेको थियो भने सम, देवकोटा, सिद्धिचरण, व्यथित, आदिहरूका कलमले पनि विद्रोह प्रारम्भ गरेको देखिन्छ ।
यसैबेला कवि गोपालप्रसाद रिमाल नेपाली कवितामा गद्य लेखनका संस्थापक भएर देखा परे । परापूर्वकालदेखि मात्रिक र वाणिक छन्दमा लेखिँदै आएको कविताले छन्दको कठोर अनुशासनबाट एकाएक मुक्ति पाएपछि नेपाली कविताका आधुनिक यात्रामा एउटा क्रान्तिकारी पाइला चालिएको छ ।
कवि गोपालप्रसाद रिमालबाट शुरु भएको गद्य कविताले महाकवि देवकोटा, सम, सिद्धिचरण, व्यथित, युद्धप्रसाद मिश्र जस्ता प्रतिभाहरूबाट पनि सम्मान पाएपछि नेपाली कविताको राजमार्गमा गद्य लेखनले आफ्नो गतिलाई तिब्र बनाएको छ । कवि गोपाल प्रसाद रिमालका कविताहरूमा आएका क्रान्तिका स्वरहरूले आधुनिक नेपाली कवितालाई यस्तो उर्जा प्रदान गरे जसलाई आधार स्रोत मानी त्यसपछिका धेरै कविहरूले कविता लेख्न प्रयत्न गरे ।
नेपाली साहित्यको अघिल्लो काल काव्यात्मक देखिन्छ । बि.सं. १९९१ को शारदा प्रकाशन पछि नेपाली साहित्य अनेक विधामा छरिन थालेको पाइन्छ ।
आज
आज जहिले पनि प्रश्नात्मक र आलोच्य हुन्छ । आजसँग कोही पनि सन्तुष्टि हुँदैन । आजैमा उभिएर बाँच्नु परेको छ । जीवनको सबैभन्दा नजिकको र घनिष्टता नै आज हो भोगको सम्पूर्ण प्राप्ती आजसँग छ तर त्यही आज हरेक क्षण असन्तुष्टिको घेरामा पर्दछ ।
विगत हामी आजको साहित्य यसै हेर्दा त हिजोको निरन्तरता नै हो । हिजो हुँदा हुँदै आइपुगेको हो यो आजमा । तर आइपुगेको यो आज हिजोकै उत्तराधिकारी मात्र होइन । हिजो हुँदै आए पनि अब आज यो आजैको ध्वनी, आवाज र शैलीमा उभिन पुगेको छ । अब यो नितान्त नयाँ र अर्थपूर्ण हुन पुगेको छ ।
जीवनको बिम्बात्मक अभिव्यक्ति साहित्यको आफ्नो भाषा हो । जीवन आज जो छ, त्यसको अवस्थाको चित्रण गर्दछ साहित्यले । हिजोको स्थितिमा समयको बिताईसँग यो आज भएको हो तर प्रत्येक आज हिजोको तुलनामा प्रगतिशील र उत्तरोत्तर हुन्छ भन्न सकिँदैन । अपेक्षा रहन्छ, प्रत्येक आगत विगतको तुलनामा उत्तरोत्तर बनोस् तर धेरैजसो त्यस्तो हुँदैन । बरु एकदम नै झिनो पाराले अघि बढिरहेको समय यथास्थितिकै स्वरूपझैं लाग्दछ । तथापि कालान्तरमा पुग्दा नथाहा पाइने गरी परिवर्तन भइरहेको हुन्छ । झिनो गतिमा अघि बढिरहेको समाजको तस्वीर साहित्यमा आउँदा, साहित्य पनि समाज जस्तै देखिन्छ । तर, जब समाजमा परिवर्तनका ठूलाठूला घटनाहरू चाँडैचाँडै हुन थाल्छन्, साहित्यमा पनि नयाँ नयाँ प्रयोग र प्रवृत्तिहरू देखा पर्दै आउँछन् ।
विभिन्न समयमा देशमा भएका राजनीतिक परिवर्तनहरू सँगै साहित्यिक सिर्जनाले पनि नयाँनयाँ बाटो तय गर्दै आएको छ । राजनीतिक घटनाक्रम र राज्यको नीतिले साहित्यमा प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।
२००७ सालको राजनैतिक परिवर्तनसँगै नेपाली साहित्यमा पनि एकाएक नयाँखाले चेतनाहरूले प्रवेश गर्न थाले । वि.सं.१९९१ को शारदा पत्रिकाबाट आधुनिक युगमा प्रवेश गरेको नेपाली लेखन २००७ सालको रेखा नाघिसक्दा हलक्कै बढिसकेको थियो । गोपालप्रसाद रिमालबाट प्रवेश गरेको गद्य कविता, विश्वेश्वरप्रसाद कोइरालाबाट प्रवेश गरेको मनोविज्ञान र गुरूप्रसाद मैनालीबाट हुर्केको सामाजिक यथार्थवादी लेखन २००७ सालअघि नै स्थापना भएका आधार शिविरहरू थिए, जसमा वास बसेर हिँडेको नेपाली साहित्यिक यात्रा दिनानुदिन नयाँ नयाँ अभिव्यक्ति शिल्पले सजिदै आएको छ ।
विभिन्नखाले प्रयोगहरूमा छटपटाउँदै सिर्जनायात्रा अघि बढिरहेको पाइन्छ । परिस्कारवाद, स्वच्छन्दतावाद, प्रगतिवाद, झर्रोवाद, तेस्रो आयाम, राल्फा, बुट पालिस, अमलेख, अस्वीकृत जमात, यङ राइटर्स क्लब आदि अनेकौं छटपटीले ल्याएका यी प्रवृत्तिहरू नेपाली साहित्यिक यात्राका सशक्त पाइलाहरू हुन् । यिनै पाइलाहरूलाई परम्परा मानेर सिर्जना तथा समालोचनाको अघिल्लो यात्रा तय हुँदै आएको छ । २००७ सालपछिका अनेकौं राजनीतिक घटनाक्रमहरूसँगै लेखिएका नयाँखाले सिर्जनात्मक कृतिहरूमा पनि लेखन आधार भने यिनै मान्यताहरू नै हुन् ।
२० को दशकको प्रयोगवादी अमूर्त धाराको प्रभाव ३० को दशकमा पुग्दा सरलतामा परिणत भइसकेको थियो । सडक कविता आन्दोलनले उठाएको उन्मुक्त अभिव्यक्ति यात्राले २०३६ सालपछि पनि निरन्तरता पाएको देखिन्छ । हरेक दशकमा देखा परेका राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि नयाँ नयाँ आयामहरू आएका छन् । यसैबीच नेपाली साहित्य प्रयोगवादी र प्रगतिवादी धारामा स्पष्ट रूपले विभाजित हुँदै समानान्तर प्रकारले अघि बढिरहेको पाइन्छ । प्रयोगवादी धाराका स्रष्टाहरूले विभिन्न विधामा दिनदिनै नयाँ नयाँ प्रयोगहरू गरिरहँदा अनेकौँ रंग र स्वादहरू देखा पर्दै आएका छन् । साहित्यलाई गतिशील बनाउन प्रयोगवादी धाराको योगदान विशेष प्रकारको देखिन्छ । प्रगतिवादी धाराले एकै प्रकारको वर्गीय चेतनाको रुढ अभिव्यक्ति मात्र गरिरहँदा सिर्जनामा खासै आकर्षण दिन सकेको पाइँदैन । समाजवादी परिवर्तनको राजनैतिक आन्दोलनसँगसँगै साहित्यलाई पनि लिएर जाने मान्यताअनुसार कला र मानवीय मनोवैज्ञानिक चेतनाको अनुपस्थितिका कारण प्रगतिवादी धारा संख्यात्मक र राजनैतिक रूपमा जति चर्चित र सशक्त देखिए पनि अनुभूति र जीवनबोधको निकटतासँग सानिध्यता राख्न असमर्थ देखियो । पछिल्लो कालमा लेखिन थालेका प्रगतिवादी सिर्जनाहरूमा भने सामान्य आकर्षणहरू प्राप्त हुन थालेका छन् ।
राजनैतिक परिवर्तनका सन्दर्भमा साहित्य, संगीत र कलाका क्षेत्रमा कार्यरत प्रतिभाहरू र तिनीहरूका सिर्जनाको ठूलो महŒव रहेको छ । एक एकवटा कविता, कथा वा गीतहरूले पाठक र स्रोताहरूलाई भावनात्मक रूपमा ठूलो परिवर्तन गराइरहेका हुन्छन् ।
२०३६ सालपछि नेपाली साहित्यिक खुलापन आएकाले त्यस खुलापनको उपयोग गर्दै साहित्यिक सिर्जनाहरू पनि उन्मुक्त हुँदै आएका पाइन्छन् । २०४६ सालसम्म आइपुग्दा साहित्यका प्रायः सबै विधाले प्रतिरोध लेखनलाई मूलधार बनाइसकेका थिए । राजनीतिक प्रतिरोध लेखनतिर आकृष्ट भएका साहित्यकारहरू सैद्धान्तिक प्रतिबद्धतामा जतापट्टि रहे तापनि सिर्जनात्मक यात्रामा भने प्रगतिवादी प्रभावले सशक्त देखिन्छन् । आन्दोलन मानसिकतामा एकीकृत हुन पुगेका अधिकांश लेखकहरू एउटै मञ्च र चेतले परिचालित देखिए । यसकालका लेखनमा निर्दलीयताबाट मुक्रि र प्रजातन्त्रप्रतिको आकर्षण सबैभन्दा ठूलो स्वरमा सुनिन्छ ।
२०४६ सालपछिको परिवर्तित वातावरणले लेखनमा नयाँखाले चिन्तनले प्रवेश गरेको छ । अब लेखकहरू चिन्तन र दर्शनतिर आकर्षित भएका सामाजिक समस्याहरूमा केन्द्रित रहेका र आन्दोलित मानसिकताबाट मुक्त हुन खोजेका देखिन्छन् । केही कालसम्म त लेखन एकदम नै खेलो हराएको जस्तो भएर उभिएको जस्तो पनि लाग्छ । प्रतिरोध लेखनमा बानी भएका लेखकहरू नयाँ व्यवस्था आइसकेपछि अर्थात् आफूले सम्बोधन गरेकै व्यवस्था प्राप्त भइसकेपछि अब के लेख्ने ? भन्ने जस्ता मानसिकतामा देखिए । यस अलमलबाट मुक्त हुन झन्डै पाँच वर्ष जति लागेको छ ।
तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पहिलो जननिर्वाचित संसद् विघटन गरेपछि र २०५१ साल फागुन १ गतेदेखि नेकपा माओवादीले जनयुद्धको घोषणा गरेपछि उत्पन्न भएको राजनैतिक अन्यौलले लेखकहरूमा फेरि नयाँखाले गतिशीलता देखा पर्न थाल्यो । निदाएजस्तो भएका लेखकहरू बौरिएझैं देखिए । विभिन्न पत्रपत्रिकाहरूमा स्तम्भलेखनदेखि साहित्यका अनेक विधामा नयाँखाले छटपटीहरू देखा पर्न थाले ।
नेकपा माओवादीको जनयुद्धको घोषणापछि साहित्यकारहरू बीच नयाँखाले ध्रुवीकरण देखापर्छ । आस्थाले वामपक्षधर भए तापनि माओवादीसँग असहमति राख्ने लेखकहरू र प्रजातान्त्रिक दृष्टिकोण बोकेका लेखकहबीच निकटता देखा पर्न थाल्यो । यस निकटताबाट साहित्यिक क्षेत्रमा लेखनको नयाँधारा देखा परेको देखिन्छ । नेकपा माओवादीसँग निकटता अनुभूत गर्ने लेखकहरू पूर्णक्रान्तिको पक्षमा देखिए भने अन्य लेखकहरू प्राप्त भएको प्रजातन्त्रभित्रका विकृतिका आलोचकका रूपमा प्रकट हुन थाले । माओवादी जनयुद्धका क्रममा धेरै लेखक तथा पत्रकारहरू द्वन्द्वरत दुवै पक्षका आक्रमणका शिकार भए । त्यसबेला पक्षविपक्षमा बाँडिएका लेखकहरू कतिपय स्थितिमा अन्यौलग्रस्त र मौन पनि देखिएका छन् ।
२०५८ सालको दरबार हत्याकाण्डपछि भने नेपाली राजनीतिले एकाएक नयाँ मोड लियो र यससँगै लेखकहरू पनि फेरि नयाँ ढङ्गले प्रस्तुत हुन थाले । दरबार हत्याकाण्डपछि, वर्षौंदेखि दबेर रहेको गणतान्त्रिक चेतनाले उध्र्व गति लिएको देखिन्छ । यो गणतान्त्रिक चेतनाले फेरि एकपल्ट सबैखाले विचार बोकेका लेखकहरूलाई झन्डै–झन्डै एउटै मञ्चमा उभिन पु¥याएको भेटिन्छ ।
यसैबीच भित्रभित्रै भने विभिन्नखाले शिल्प तथा चिन्तनपक्षहरू विकसित हुन खोजिरहेका पाइन्छन् । यही दशकमा लीलालेखन, मुक्त अभियान, उत्तरआधुनिकता आदि लेखन प्रवृत्तिहरूले हुर्कने अभ्यास गरे । प्रगतिवादी धारासँग फरक मत राख्ने लेखकहरू अन्य विभिन्नखाले शैलीहरूका प्रयोग गर्दै सिर्जनामा अभ्यासरत् देखिए ।
नेपाली साहितय २०१२ सालदेखि नै नयाँ–नयाँको खोजमा छटपटाइरहेको देखिन्छ । भाषामा आएको झर्रोवादी आनदोलन (२०१२) देखि आन्दोलन यात्रामा पसेको यस यात्राले हरेक पुस्तामा नयाँ प्रस्तावहरू राख्दै आएको छ । प्रायः सबै प्रयोगवादी आन्दोलनहरू केही कालसम्म गतिशील देखिँदै पुनः मूलधारमा प्रवेश गर्दै गरेको देखिइरहे तापनि तिनले छाडेका प्रभावहरू ने कुनै न कुनै रूपमा नेपाली साहित्यका सम्पत्ति बन्दै आएका छन् । प्रगतिवादी तथा मुक्त दुवै धारामा सक्रिय लेखकहरू प्रयोगका पक्षमा देखिन्छन् । प्रयोगलाई आफ्नो सैद्धान्तिक चेष्टा अनुरूप उभ्याउन अभ्यासरत प्रायः लेखकहरूले केही न केही सिर्जना गरिरहेका पाइन्छन् ।

भोलि
समग्रमा हेर्दा,
आजको नेपाली साहित्य अझै पनि स्पष्ट बाटो नपाएको र अन्यौलभित्रै छटपटाइरहेको देखिन्छ । पुरानै मान्यता र दृष्टिकोणहरूलाई दह्रो गरी समात्दै नयाँ युगको भाषण गर्ने परिपाटी झन् सशक्त भएको देखिन्छ । नेपालको राजनैतिक इतिहासले यति ठूलो फड्को मारिसक्दा पनि यहाँ सामाजिक, मनोवैज्ञानिक तथा साहित्यिक चेतनाले भने खासै गति समातेको देखिँदैन । लेखकहरूमा नयाँ युगलाई सम्बोधन गर्ने सन्देशहरू र प्रस्तुतिका सघन शिल्पहरू अझै विकसित हुन सकेका देखिँदैनन् । सुरुदेखि नै राजनैतिक आनदोलनसँगसँगै मिसिएर वा समानान्तर भएर आएको साहित्यिक यात्रा, जुनसुकै बेला पनि राजनैतिक चेतनासँग नै एकदम टाँसिएको हुनाले आजको दलीय परिवेशमा लेखकहरू दलका प्रचारक जस्ता भएर आपसमा सडक संसदीय बहसमा सामेल भएझैँ लाग्छन् । समग्र राष्ट्रिय मुद्धा र विषयवस्तुमाथि राखिनुपर्ने चेत र सोच पार्टीका आन्तरिक र बाह्य अन्तरविरोधहरूभित्र अलमलिएका देखिन्छन् । लेखिएका कतिपय, उपन्यास, काव्य र नाटकहरूले एकपार्टीको पक्षमा अर्को पार्टीको आलोचना गरिरहेका
पनि भेटिन्छन् ।
गणतान्त्रिक नेपालमा लेखकहरूको यो अन्यौल र ढुलमुलस्थिति नेपाली साहित्यको चिन्ताजनक काल हो । नेपाली साहित्यको इतिहासले यस काललाई भविष्यमा शिथिलताको समयसूचिमा सुरक्षित गर्ला कि †
६० को दशकमा लेखिएका कृतिहरू अहिले जुन प्रकारले चर्चामा छन्, पठनीय छन्, तिनीहरू पनि अनिकालमा भेटिएका सामग्रीजस्ता मात्र लाग्छन् । विश्वसाहित्यको त्यत्रो फड्कोका तुलनामा हामी कता छौँ ? राजनीति र साहित्य कहिले सँगसँगै, कहिले एकाकार र कहिले पृथक हुँदै अघि बढिरहेको हुन्छ । इतिहासको आवश्यकता अनुसार ती कालिक स्थितिहरू आफैँ स्थापित हुँदै जान्छन् तर त्यसै अवधिमा पनि साहित्यले देखाउने आफ्नो फरक अस्तिŒवको उपस्थिति त सुरक्षित रहनै पर्ने हो । हाम्रो देशमा भन्दा पनि कत्ति भयानक आन्दोलन र गृहयुद्धहरूको घाउ बोकेका मुलुकहरू छन् तर त्यहाँ लेखिएका साहित्यको सम्प्रेषणीयता र चेतनाको स्तरलाई हामीले कति देखेका हौला ?
राजनैतिक आस्थाको प्रदुषणले ग्रस्त मानसिकता समसामयिक व्यंग्य विनोदमा रमाइरहेको छ । कालजयी सन्देश र शक्तिले सजिने कृतितिरको अभ्यास थियो भने पनि कुण्ठित छ, थिएन भने पनि प्रारम्भ हुन डराइरहेको छ । यो डर केको हो ? कसबाटको हो ? यदि कुनै व्यक्ति वा संस्थाप्रतिको राजनैतिक आक्रमण होइन हाम्रो लेखन भने, डर केको ? कोसँग ?
आज पनि देशका कुनाकुनामा दसौं हजार ठाउँमा पुराण वाचन भइरहेको होला । राजधानीका व्यस्त अस्पताल र कलेजका प्राङ्गणहरूमा पनि सप्ताह पुराणहरू वाचन भइरहेका छन् । के छ आखिरी ती पुराणहरूमा ? हामीले लेखिरहेका यत्रा कृतिहरूको तुलनामा पुराणहरूको लोकप्रियता मात्र किन छ ? प्रत्येक मानिस आधुनिक साहित्य पढ्नुभन्दा पुराण सुन्न किन चाहन्छ ? जनयुद्धका महारथीहरू समेत पुराणको प्रशंसामा किन घण्टौं बिताइदिन्छन् ? के त्यो पुराण साहित्यमा रहेको कालजयी शिल्पको आकर्षण हो त ?
हामीले पनि हाम्रै युगका पीडा र वेदनालाई निरपेक्ष लेखक व्यक्तिको उपस्थितिद्वारा आउने पुस्तालाई सशक्त सम्बोधन गर्ने कृति दिन नसकौंला र ?
नेपाली साहित्यले भानुभक्तदेखि उठाएर लिएर आएको साहित्यको मूलधारमा अब परिवर्तनका संकेतहरू भने देखिन थालेका छन् । खासगरी पचासकै दशकमा प्राज्ञ वैरागी काइँलाले तात्कालिक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहेका बेला प्रज्ञा प्रतिष्ठानबाट बहुभाषिक गोष्ठी र छलफलहरू चलाउन थालेपछि र आफैँले दर्जनौं किरात संस्कृति र साहित्यमाथिका खोज अनुसन्धानका कृतिहरू तयार गरेर प्रकाशन गराउन थालेपछि नेपाली साहित्यभित्र नयाँ खाले स्वरहरू सुनिन थालेका छन् । ठूलाठूला आवाजमा प्रगतिवादी र बुर्जुवा लेखकहरू माझ साहित्यिक बहस चलिरहेको बेला भित्रभित्र भइरहेको आस्तित्विक छटपटीले कोल्टे फेर्न थाल्यो । अब प्रगतिवादीका नाममा एकोहोरो दिक्दार लाग्दो माक्र्सवादी रटान र मुक्तताका नाममा अव्यवस्थित मनोगत अभिव्यक्तिको पठनबाट टाढिन खोज्दै साहित्यले सिमान्तकृत समुदायका दमित स्थितिहरूको अभिव्यक्ति दिन खोजिरहेको देखिन्छ । सांस्कृतिक अध्ययन र तिनले युगौं युगदेखि बोकी ल्याएका मौलिकताहरूको खोज र पहिचान गर्न नयाँखाले लेखनले प्रस्ताव गर्न थालेको छ । खासगरी २०५० को दसकको अन्त्य र ६० को दसकको प्रारम्भमा केही किराँत युवाहरूबाट सुरु भएको सिर्जनशील अराजकता, रंगवाद र उत्तरवर्ती सोचका अभियानहरूले प्रजातान्त्रिक तथा माक्र्सवादी चेतहरूसँगसँगै सांस्कृतिक समस्याहरूको साझा अभिव्यक्ति प्रस्तावलाई अघि सारेका छन् । साठीको दशकले नेपाली साहित्यमा ल्याएको यो एउटा ठूलो फड्को हो । तर यो लेखन जुन ढंगले र जुन बौद्धिकताले आउनुपर्ने हो त्योभन्दा केही संकुचित र जातीय कोणिक चेतले बढी आक्रामक देखिनु यसको कमजोर पक्ष हो ।
यी आन्दोलनहरूले अन्य भाषा तथा संस्कृतिका लेखकहरूलाई पनि आफू आफूतिर हो । हाम्रो सांस्कृतिक पृष्ठभूमि र त्यसबाट उत्पन्न भएको मनोविज्ञानको अध्ययनबाट मात्र हामी आपसमा र अरुहरूका बीच अलग्गै चिनिन सक्नेछौँ । हाम्रा आफ्नै छुट्टै र विशिष्ट सांस्कृतिक पक्षहरू छन् जो अनेकौँ विदेशी चिन्तनको प्रभावबाट दमित हुँदै आजसम्म स्वरविहीन बन्दै आएको छ । आफ्नै मौलिक सांस्कृतिक पहिचान नभएको कुनै पनि जाति स्वतन्त्र रहन सक्दैन । हजारौँ वर्षदेखि अलग्गै पहिचान बोकेर उभिएका हामी तर आज आफ्नै परिचयको अभावमा पीडित हुन लागेका छौँ । अबको लेखनले हाम्रा जातीय, धार्मिक, भाषिक तथा शास्त्रीयतालाई सम्बोधन गर्नुपर्छ । आधुनिकताका सबै सर्तहरूलाई हाम्रा मौलिक पहिचानका दायराभित्र समावेश गरिनुपर्छ ।
खासगरी पश्चिमबाट सर्दै आएका दार्शनिकताहरूबाट अत्यधिक प्रभावित भएको हाम्रो मानसिकताले अब अलिकति आफन्ै चेतनालाई सम्बोधन गर्नुपर्छ । पूर्वीय विश्वास, मान्यता र विम्ब, प्रतीक र मिथकको संसारमा प्रवेश गरी पश्चिमी प्रभावबाट मुक्त बन्न सकिने आधारहरू अनेका छन् । पश्चिमले उसका पुरानाहरूलाई रंगरोगन गरेर हामीलाई बेचिरहँदा हामी हाम्रा आफ्ना प्राचीन सांस्कृतिक मूल्य र मान्यताहरूलाई अवमूल्यन गरिरहेका छौा । हाम्रा आफ्नै मौलिक पौराणिक र ऐतिहासिक सामथ्र्यहरूलाई नदेखेझैं गरी विदेशी चम्किलो व्यापारमा उपभोक्ता छौँ । राष्ट्रवादका भावुक राजनैतिक नाराहरूले सडक तताउँदैमा वा गुडिरहेका गाडीका ऐना फुटाउँदैमा राष्ट्रियता संरक्षित हुँदैन । राष्ट्रियताको पहिचान दिने त्यसको प्राचीनता, पुरातात्विकता, ऐतिहासिकता, कलात्मकता आदि सन्दर्भहरू सजीव हुनुपर्छ । धेरै वर्ष विदेशी सिकोमा बितेको हाम्रो विगतको छायाँबाट अब आगतलाई जोगाउनुपर्छ । नेपाली लेखक, पाठक तथा बुद्धिजीवीहरूमा अब पश्चिमेली बौद्धिक दासताबाट मुक्तिको चेतनाका ढोका खुल्नुपर्छ र स्वअध्ययन र स्वमूल्य निर्धारणको स्वाभिमान जाग्नुपर्छ ।
अबको लेखनले नेपालीयता अँगाल्न सक्नुपर्छ, नेपाली शिल्प, शैली र चिन्तनको आफ्नै उचाइबाट ।
साभार – मनोभावबाट

प्रतिक्रिया छाड्नुस्