कथा–सम्झौता

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा–सम्झौता

–विद्या सापकोटा

“आखिर ! जीवन घटनाहरुको लिपिवद्ध सिलसिला न रहेछ, खुइया……” निश्वास छाड्दै बर्बराई ऊ । जीवन भोगाइका २५ औं बसन्तसम्म उसले यति लामो उच्छवास छाडेकी थिइन, ‘उसको उसले उसलाई नकार्दासम्म पनि’ । मध्यरात मै अचाक्लि मुटु दुखेर आयो । भित्रैबाट कम्पन छुटेर आयो । सहि नसक्नु भएर फुत्त निस्किई ऊ, असनको साधुँरो गल्लि हुँदै चूपचाप चूपचाप ।

लर्वराएका पाइला जमलको आकाशे पूलमा पुगेर टक्क अडिए । घण्टाघरको घडिले रातको दुई बजेको संकेत टङटङ बजेर दिलायो । ऊ उभिइरही रानीपोखरीमा आँखा गाडेर । गाडिहरु फाट्टफुट्ट चलिरहेकै थिए ।रात्रिजीवन मन पराउनेहरुको झुण्ड हा हा……… हुँ हुँ………. मा मस्त नै देखिन्थे । ऊ एकाकार रानिपोखरीसँगै । मानौं, त्यो उसको ड्युटि हो। जुनेली रात, जूनको उज्यालोमा पानि धमिलो थियो कि सङ्लो खुट्ट्याउन गार्हो थियो तर सुन्दर भने पक्कै देखिएको थियो । उसलाई लाग्यो छेउछाउका फूल शीतको तप्पतप्पसँगै खिलखिलाउदैछन् । तर पलभरमै सोची, त्यो ‘पानि’नभएर आँशुको पोखरी हो अनि यी फूल सुकसुकाउदैं पो छन् , पूरा परिवेश रोएको छ उसगैं । वेचैनीले सररररर…… पूलको वल्लोछेउबाट पल्लोछेउ/पल्लोछेउबाट वल्लोछेउ हुत्याइरह्यो/हुत्याइरह्यो ।

उसले आफैंभित्र महशुस गरी,आफू पागल भएको कुरालाई । लाग्यो ,पागल हुनु रमाइलै रहेछ । सानोछदाँ घरकाकोठा चौका त के के ट्वाइलेट जाँन समेत आमा–बालाई गुहार्ने ‘म्हेन्दो’ बहादुर पो भई ….. ”तँ बहादुर भइस् म्हेन्दो” ऊ आफैंसँग खित्खिताई ।तातो रापको आभासले आफैंलाई चिमोटी, वरिपरि २/३ जना हात सेकाउदैं रहेछन् ।यादै रहेन, कत्तिवेला झिक्राझिक्री र फोहोर बटुलेर आगो बालिसकिछ उसले ।

“सगुन ! म तिमी विना बाँच्न सक्दिन यार ।”

“ह्या झुर कुरा नगर न ।”

“प्रमिस यार, ……..विलिभ मि ।” लर्वरिएको आवाजमा एकजोडी आगोसँगै बल्ल पो लागे ।उसको हाँसो उसलाई उछिनेर जोडजोडले पोखिए हा…हा….हा ………….।

“साली वौलाही, हाँस्न पो थाली …….. ” साच्चै बौलाएछु कि क्या हो ? कटक्क मन कुडियो एकसाथ अतितका वेदनाले भत्भती पोल्न पनि ।

” म्हेन्दो ! म तिम्लाई असाध्यै मन पराउछु । खूब माया गर्छु । ”

” होला नि खूव ? ”

” नपत्याए के गरु त ? छाती चिरेर देखाउन नसकिने रहेछ ………. ” निन्हाउरिदैं जगत बोलेथ्यो ।

उसका चोर हेराइमा ‘जगतका आशुँ टल्बलिइरहेका नजर’ परेथें ।

केही भन्न नसकेर अघिअघि हिंडिथीं ऊ ।

“तिम्लाई थाहा छ नी म्हेन्दो …………. ”

धारापधेँरा, गाँउबेशी गर्दा उसले सधैं यस्तै सुन्थी । विस्तारै उसलाई उससँगको सामिप्यता मीठो लाग्न थालेथ्यो ।उसकी लाहुरेनी आमाले सम्झाएकी थिई, ‘शहरीयाँ र घरानीयाँहरु बेइमानी हुन्छन्’ ।जगत त आफू जस्तै न थियो । त्यही गाउँठाउँको, आफूजस्तै निम्नवर्गको ।सानोकुरा, जातै नमिल्या त हो । आफू तामाङ्गकी छोरी, ऊ क्षेत्रीको छोरा ।हट्टाकट्टा छ, बहादुर छ, मनमा द्धेष छैन ….यती कुरामा उसको प्रेम कसरी लत्याउनु ? मन भरिएर आयो । आँखा चिम्लेर विश्वास गरिदिई उसले जगतलाई ।सावा अक्षर मात्र चिन्न पाई उसले , उसको गाउँमा त्यो भन्दा बेशी पढाइ भए पो ? जगत पनि ऊ जस्तै । बुढासुब्बा त उसले देखिन तर बाबुको पल्टने गफमा धेरैपटक सुनेकीले मेलापात पानिपधेँराको बाटोमा पर्ने रुखरुख, पातपातमा निस्फिक्री लेखिदिई ‘म्हेन्दो+जगत’ / ‘जगत+म्हेन्दो’ । प्रेमको पालुवा झाङ्गिदै थियो आफैंलाई बिर्साउने जंगल बनेर ।

झरी परेको विहान ढुङ्गे धारासँगै कलकल बग्दै बोलिथी ऊ “जगत मेरो हात माग्न कहिले आउछौं ?”

“तिम्रो लाहुरे बा’को पेन्सनले नक्कल पार्न पुगेकै छ क्यार, अहिले के हतार ?” हावामा उडाएथ्यो उसले ।

“मलाई त पुगेकै छ तर…तर…….तिम्री छोरीलाई त आफ्नै बाबुको कमाइ खानुपरेन ?” लजाउदैं,अड्कदै कानैमा गएर साउती मारिथी उसले ।

“हँ……….” करेन्ट लागे झैं तीनहात पर हुत्तिएथ्यो उसको प्रेमी ।

“के भयो जगत ?” गोडाको बूढीऔंला हिलोमा गाड्दै याचनापूर्वक बोलिथी ऊ ।

कालोनीलो अनुहार लगाएर हतासिदैं चिच्याएथ्यो ऊ, “के भनेकी म्हेन्दो तैले ? यस्तो कसरी हुन्छ ?

…………………………………

“लाहुरे कै छोरी भएपनि तँ भोटिनी होस्, म काजी खलकको……….| ” सधैंको प्रेमिल सम्बोधन ‘ भोटिनी’ शब्दमा घृणाको पराकाष्ठा सहजै झल्कियथ्यो |

…………………………………

“फेरी के प्रमाण यो बच्चा मेरै हो भन्ने ?” धैर्यताको बाँध छुट्दा दुई थप्पड लगाएर खुइखुइ गाग्रि बोकेर उक्लिइथी ऊ ।

आफैंदेखी खूव रिस उठेथ्यो उसलाई ।पहाड थर्किने गरी रुन मन लागेथ्यो । मुटु नै झिकेझैं निस्सासिएकी थिई । एकमन त लागेथ्यो बाबुको कोठामा झुन्ड्याइराखेको बन्दुक ल्याएर मारिदिऊ जगतेलाई अनि मरिदिऊ आफैं पनि ।

“तँ त बहादुर सिपाहीको छोरी होस् तैले हरेश खानु, तेरो बाबुको पराजय हो । त्यो प्रेमि,जसलाई आफ्नो पुरुषत्वमाथि विश्वास छैन त्यस्ता नामर्दलाई के मार्नु?” फेरी आफैंले आफैंलाइ ढाडस दिइथीं उसले ।

बाबुआमाको एक्ली छोरी ऊ | बूढा-बा र रोगी-आमालाई छाडेर हिड्ने कुरा सम्झदैमा पनि मनभित्र सेती भाँसिएथ्यो। आँखिझ्याल छेउमा बसेर चामल केलाउदैं गरेकी आमा , अनि फलैंचामा बसेर हुक्का तान्दै गरेका बाबुको अनुहार धित मरुन्जेल हेरेर ‘जीवनसँग जीउने’ सम्झौता गरिथी उसले । सम्झौता र भोगाइको लामबद्ध खाल्टोमा भाँसिदै-भासिदैं यही असनको गल्लिमा लटपटिएथी ऊ । यहाँ आएर उसले के गरी र के चाहिँ गरिन ऊ मात्र जान्दछे । भगवानप्रतिको आस्था त पहिल्यै छुटेथ्यो, हुदाँ हुन् त ती पनि जान्दा हुन् ।

काखे छोरीका प्रश्नसूचक आँखाहरुको एकटक हेराइसँगै उसका पनि आखाँ भरिएर आउथे । चाउरिएका बाबु-आमाको धमिलो तस्बिरले धरधरी रुवाउथ्यो । कहिलेकाहिँ दौडेरै जाउ कि जस्तो पनि लाग्यो । “तै चण्डाल्नीले गर्दा मेरो यो हालत भयो ” भनेर काखे छोरीलाई लुछौं झै पनि लाग्थ्यो तर त्यही बच्ची नै त उसको जीवन थिई । आफैंभित्र बौलाइसकेर ऊ आफैलाई सराप्थी । “खूब ‘फूल’ झैं भनेर ‘म्हेन्दो’ नाम राखेका…थुइक्क तिमीहरु ” बाबुआमाको उपहाँस गर्नसम्म गर्थी । जे होस् , ऊ बाँचिरहेकै थिई।

हिजै मात्र भूई पुछ्दापुछ्दै पछारिइथी ऊ । दैवको इजलासले अर्को सजायँ सुनाइदियो ।

डाक्टर–घरवेटी दिदी/घरवेटी दिदी–डाक्टर कानमै दोहरी खेल्न लागे ।

“बैनी ! तिम्रो दुइटै मिर्गौलाले काम गर्न छाडेको छ ………….. ”

“पीर नगर् कान्छी ! तँ मलाई सन्तान दे, म तँलाई जीवन दिन्छु ।”

निसन्तान घरवेटी दिदीको क्रन्दन हो की मोलमोलाइ ?? विरोधाभाषवीच बजिरहे पीडा, दुःख अनि मृत्युका साइरन ।

तर्कनैतर्कनामा लोलाइछ ऊ ,आफूमाथि कुचीकारको कुच्चो परेपछि व्युझिई ।

“ओहो! उज्यालो भैसकेछ । ” धोतीको फेर मिलाउदैं दौडिई ऊ । छोरी निद्रा मै थिई ।छोरीको निर्दोष अनुहारसँग सापट मुस्कान मुस्कुराइदिई । आखाँमा एकसाथ गाँउघर, आमाबाबु र त्यो निर्मोहीसमेत नाच्न आइपुग्यो । उसले यसपटक कसैसँग गुनासो गरिन, कसैलाई गाली गरिन बरु छोरीमाथी चुम्बनको बर्षा गरिरही,गरिरही । अन्तमा, सन्तुष्ठीको एक शूक्क हाँसो हाँस्दै छोरी च्यापेर दौडिई ।

केहीबेर मै घरवेटी दिदीका रसिला स्वरहरु बजिरहें । रौनक पोखियो घरभरी ।

“कान्छी……तैले हामी तीनैजनाको जीवन रक्षा गरिस् । धन्दा नमान् साहुजिले तेरो उपचार गराउनेछन् । ” केके भन्दैथिइन् दिदी, सुनिन उसले ।

गला दवियो ।जिब्रो लटपटियो । ओठ थर्थराए । ‘जीउने अभिनय वा जीवन ?’ अनिर्णयको पहिरो झर्दै गर्दा, सधैं पर-निर्णयमा घिसारिदैं आएकी म्हेन्दोले यसपटक आत्मनिर्णय गरी । बन्द आँखा र स्थिर ढुकढुकीको अन्तिम फैसला/स्पष्ट संकेत “मुटुसँग जीवनको सम्झौता ?????? असम्भव ……………………. ” ।

प्रतिक्रिया छाड्नुस्