कविता:रीत “प्रकार अन्तर”

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कविता:रीत “प्रकार अन्तर”

एकजोर चरासँग
तिमीले जवानी साट्यौ
चरा भएर उड्ने बेला
बचेराहरुले केही छाडेर गए
तिम्रो काखमा ।
जब तिमी सुक्यौ
उनीहरु उड्ने बेला
तिम्रो पतझर हाँगामा
यौटा पुरानो गुँड थियो
ती तिम्रै छातीको प्वालमा बस्थे
त्यहाँ केही मसिना प्वाँखहरु थिए
ती उडे
केही न्याना यादहरु
तिमीलाई सुम्पेर ।
पानी पर्ने समय नजिकिदै थियो ।
कमिलाहरुले तिम्रो सुकेको जरा मुन्तिर
भव्य आवास तयार पार्दै थिए
तिम्रो टाउकोतिर माटो ओसार्दै थिए
एकदिन
यौटा घुमन्ते चरा त्यही आएर बस्यो
र मलाई छाडेर गयो
पानी पर्‍यो र मैले दुइ वटा पात फैलाएँ
हात झैँ आकाशतिर

अब तिमीले मेरा जरा थेग्न सक्दैनौ
त्यसैले तिमी फाटेकी छौ
तिम्रा हड्डीहरु मक्किदै गइहेछन्
र म फैलिरहेछु तिम्रा जरा-जरासम्म
तिमी माटो भइरहेछौ
अब कमिलाहरु मेरा पातहरु बुनेर
भव्य आवास बनाइरहेछन्
एकजोर ढुकुर भर्खरै आए मेरो शरणमा
मेरो घनिभूत सियाँलमा
यौटा भरियाले भर्खरै बिसायो आफ्नो भारी
एक हूल माहुरी मेरै हाँगा वरिपरि घुमिरहेछन्
रीत यही रहेछ
मैले जानेँ र तिमीलाई भूल्ने प्रयत्न गरेँ
त्यो चरा कहाँ होला ?
म सम्झिरहेछु ।

प्रतिक्रिया छाड्नुस्