सहमतिको राष्ट्रिय सरकार गठन गर !

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

सहमतिको राष्ट्रिय सरकार गठन गर !

व्यवस्थापिका संसदमा भएको मतदानमा देशले प्रधानमन्त्री पाउन सकेन । चुनाव चुनावका लागि भएको छ । तटस्थ बस्ने नाममा तमासाको झाँकीले ह्याट्रिक गरेको छ । आफ्नो स्वार्थमा टसका मस नभएका पार्टीहरु जनताको विश्वासबाट टाढा गइरहेका छन् । अब जनताको भरोसा मृगतृष्णाभन्दा बेगल रहेन । ठूला दल जुँगाको लडाईमा छन् । जनता यो लडाईले वाक्कदिक्क छ । वाक्कदिक्कबाट निराश बन्दै गएको जनता विकल्प खोज्नतर्फ आकर्षित हुँदै गएको छ । विकल्प राम्रो नराम्रो जे पनि हुनसक्छ । डुब्न लाग्दा अगाडि भेटिने सानो त्यान्द्रो समात्न पुग्छ मानिस बाँच्ने आशमा । तर बाँच्न सफल नहुने निश्चित छ । यस्तै भयावह निराशा जनताले व्यक्त गरेका छन् यतिखेर ।
लोकमतले संविधानसभामा माओवादीलाई अगुवाई गर्न र अन्य सबैलाई सहमति, सहकार्यमा जान भनेकै हो । तर लोकमतको सम्मान हुन सकेन । लोक ग्लानी ग्लानी भएको छ । नेताहरुको लोकप्रतिको कुठाराघात कुकृत्यबाट । लोक बोलिरहेको नेताहरुलाई सुध्रन र ठीक बाटोमा लोकको नेतृत्व गर्न तर ती आवाजहरु सुनिएका छैनन् । मानौं नेताहरु सदाका लागि जनताभन्दा पनि सर्व शक्तिमान भएका छन् । उनीहरुको जीवनशैली नवसामन्तको भैसकेको छ । पूराना रामराजाहरुलाई उछिनिसकेका छन् । जनताले आफ्नो भनाई राख्नसक्ने स्थिति छैन । वरिपरि फरियाको रजगज छ । भाइ, भतिजा, ज्वाई, छोरी, फुपु सबैको चक्रव्युह बनाएर नेताहरु सुरक्षित छन् जनताबाट । अब जनता उनीहरुलाई आवश्यक छैन किनकि रगत बगाउनु छैन , आन्दोलनको मशाल उठाउनु छैन । केवल छ त सिंहदरबार छिर्नु, देशविदेश घुम्नु, करोडौंको गाडीमा हुईकिनु, आरामदायी ओछ्यानमा निद्रा मदिरामा खोज्नु । अनि जयजयकार खोज्नु, सँधै जीत मात्रै रोज्नु हारलाई पनि जीतकै संज्ञाले छोप्नु, आफूलाई मात्र देख्नु, पृथ्वी आफूबिना नघुम्ने अहंकार बोक्नु । सबैसबै बेठीक आफैंआफैं मात्रै ठीक । बादशाह नाङ्गो भईसक्दा पनि पालकीमा मुस्काई रहनु अहिलेको देशको नियति भएको छ । सत्य बाहिर भुसको आगो भएर सल्कँदै छ । बादशाह नाङ्गै छन् जनता चिच्याउन थालिसकेका छन् । बादशाहको शानसौकातबाट वास्तविक हैसियतमा नेताहरुलाई ओर्लन जनताको बीचमा फर्कन र कमीकमजोरीहरुलाई गम्भीर आत्मा समीक्षा गर्न जनताले विनम्र आब्हान गरिरहेको छ । लोक आवाज सुनाई भइरहेको छैन । सुन्न थप लोकधुन घन्काईरहेका छन् नेपालीहरु । यसको एउटा खास सीमासम्म त्यसपछि विकल्पमा जानैपर्ने बाध्यता लोकले अंगिकार गर्दा आफ्नो नाङ्गो लाज छोप्न सदाका लागि नेतृत्वबाट माग्नपर्ने बेला आइरहेको छ । नेताहरुले बुझ्नसके नेपाली जनता अझै सलाम ठोक्न तयार छन् । अन्यथा पिलो निचोर्न पर्ने नै हुन्छ ।
अहिलेको राजनीतिक संघर्ष व्यवस्थापिका संसदमा जुन ढंगले मुखरित भएको छ त्यो लोककल्याणमा छैन । लोक नयाँ संविधान चाहन्छ, शान्ति चाहन्छ, अब थप द्वन्द्व तत्काल आवश्यक देखिरहेको छैन । लोकले नदेखेको द्वन्द्व आफैंमा रोमान्स बन्छ, त्यो मनोगत हुन्छ । बस्तुगत नभएपछि पानीविनाको माछाजस्तो बन्न जान्छ । तसर्थ लोकलाई अगुवाई गर्न, लोकलाई बुझ्नु आवश्यक छ र यस्तै गरी अगुवाई गर्नु आवश्यक छ । व्यवस्थापिका संसद्मा दलहरु लोकमतको खिलाफमा जाँदैछन् । यो कस्तो दुर्घटना सबका सब एउटै अध्याँरो सुरुङतिर उन्मूख छन् । पार्टीगत र व्यक्तिगत स्वार्थको खिचडीका रुपमा जनताले अहिलेको संसद कक्षको प्रधानमन्त्री निर्वाचनलाई लिइरहेको छ ।
यो खिचडी पकाउन नछाड्दा पाक्ने देखिन्न । तीन पटकसम्म बाफसम्म निस्कँने संकेत भेटिएन । लोकलाई तमासा देखाएर आफ्नो साख गिराईरहेका छन् नेताहरु । जनताको ठूलो त्याग, तपस्या, बलिदानले पार्टी र त्यसका नेताहरु बनेका हुन् । जनताले विश्वास नगर्दा पार्टी र नेताहरु नरहने दृष्टान्त इतिहासमा हाम्रा नेताले पढेका÷ भोगेका छन् । त्यो स्मरण गरुन । अब लोकमतलाई सम्मान गरुन । आफ्नो पार्टीगत, व्यक्तिगत स्वार्थ महत्वाकांक्षा छाडुन र सहमतिको जनमतलाई सम्मान गर्दै अगाडि बढुन । त्यसका निम्ति व्यवस्थापिका संसदको नियमावली परिवर्तन गरेर भएपनि सहमतिको सरकार निर्माण गर्न प्रतीज्ञा गरुन । यसका निम्ति जनमतकै निर्णयलाई मार्ग बनाएर एकीकृत नेकपा (माओवादी) लाई नेतृत्व गर्न दिएर सबै सहभागी भएको राष्ट्रिय संयुक्त सरकार गठन गर्नुको विकल्प छैन । जनताले भनेको नै यही हो । यसमा कसैलाई पाच्य नहुने र कसैलाई अहंकार पलाउनु पर्ने छैन । दुवै जनताले चाहेका छैनन् । जनताको चाहना नै सहमतिमा जानु हो ।
विश्वासको जुन खाडन निर्माण गरिएको छ, त्यो विल्कुल निराधार छ । सहमतिको राष्ट्रिय संयुक्त सरकार गठन भएपछि सबै मुद्दाहरु सरकारको मन्त्रीपरिषदमा उठाउन र निष्कर्षमा पु¥याएर टुङ्ग्याउन सकिन्छ । किनकि त्यहाँ सबैको प्रतिनिधित्व हुन्छ । सबैले आ–आफ्नो एजेन्डा लगेर एउटा मिलन विन्दुमा लग्नसक्ने वस्तुगत आधार थलो बन्दछ । त्यस्तो हुनबाट रोक्न अहिले यो बहुमतीय खेल मञ्चन भइरहेको छ । यो लोकहित र जनमत विपरित छ । जस्तो कि कांग्रेस, एमालेले एनेकपा (माओवादी) लाई नागरिक पार्टी नदेख्नु, सेना समायोजनमा संख्या तोक्न माग गर्नु, वाइसीएलको अर्धसैनिक संरचना भंग गर्न माग गर्नु, युद्धकालमा जफल भएका घरजग्गा फिर्ता जस्ता मागहरु राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर त्यहींभित्र एजेन्डा लगेर सहमति गर्नु र नयाँ संविधान निर्माण तथा शान्ति स्थापना गर्नु विधिसम्वत, न्यायसम्मत र जनमत सम्मत हुन्छ । तर यसो हुन दिइएको छैन । ढिलै भएपनि पार्टीहरु अहिले सहमतिको सरकारको विकल्प नभएको रटान लगाउँदा लगाउँदै व्यवहारमा बहुमतीय खेलमा सामेल भएर तीनपटक बेतुकको ब्यायामको ह्याट्रिकबाट पाठ सिक्दै माथि उठ्नुको विकल्प छैन । यो खेल बाहिर खेल्न उद्यत पार्टीहरु जनहित विपरित छन् । तिनीहरुलाई जनताले पहिचान गर्दै गईरहेको तिनीहरुले बेलैमा बुझुन । सत्य त एकदिन छर्लङ्ग हुँदा जनताले तिनीहरुलाई पनि राजसंस्थालाई झैं इतिहासमा सदाका लागि कैद गर्ने दिन नआउला भन्ने आधार छैन । अहिलेको तथाकथित अविश्वासको खाडल सिर्जित झुठो किला हो । जुन नेपाली जनताको मुटुमा ठोक्न खोजिंदैछ । पार्टी तथा नेताहरु सजग भएर आफ्ना कमीकमजोरीलाई सच्याएर अगाडि आउन । अन्यथा उनीहरुको कमीकमजोरी उनीहरुकै चिता बनाउन लोक उठ्ने चेतावनी बुझुन ।
तसर्थ अहिलेसम्म पार्टी तथा नेताहरुले जे जति, जेजस्ता कमीकमजोरी गरेका भएपनि आत्म समीक्षा गर्दै सुध्रिउन भन्ने जनताको व्यापक आवाज छ । जुन आवाजलाई व्यवहारतः सुनुन । क्षणिक लाभहानी भन्दा माथि उठुन र सहमतिको राष्ट्रिय सरकार निर्माण गर्न आवश्यक पहल गरुन । जनतालाई नयाँ संविधान र शान्ति चाहिएको छ । अन्यथा विकल्प ज्यादै कठोर रोज्नुपर्ने कुरा जनताको दिग्दारीमा व्यक्त भैरहेको कुरा सबैलाई बढारेर किनार गर्न सक्नेतर्फ सबैको ध्यान जाओस् ।

प्रतिक्रिया छाड्नुस्