कन्या हाउस् : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कन्या हाउस् : सुबिसुधा आचार्य

२०६७÷०५÷०४ / आउँदा जाँदा प्रत्येकका एकजोडी आँखा फुत्त फुत्किएर त्यही कन्या हाउसको झ्यालमा गएर टाँसिन्थे लपक्क कुनै फेबिकोलले प्लाइउड टाँसिए जस्तो । अनौठोले मलाई कोपरिरहन्थ्यो प्राय जब यहि दृश्य झुल्किन्थ्यो मेरो नजरमा ।
मैले कन्या हाउस नाम दिएको भवन कुनै नर्सिङ कलेजको हो । जहाँ देशका बिभिन्न कुना–कुनाबाट नर्सिङ लाइनमा आफूलाई बिस्तार गरी सुनौलो भबिष्य सजाउने कल्पना मनभरी टाँगेर भित्रिएका होलान् कन्या हाउसमा ।
उसो त कन्या हाउसमा भित्रने सबै कन्या पनि छैनन् होला मेरो अनुमानमा । तर बहुमत कन्याकै हुनेमा दुईमत पनि देख्दिन म । फुर्सदको समयमा हावा खान होला सायद झ्यालको पर्दा हटाएर चियाउँछन् कन्याहरु ।
त्यसो त बार्दलीमा उभिएर कपाल कोर्ने, मोबाइलबाट पालैपालो फोटो खिच्ने, आँखि भौ मिलाउने देखि फेसियलसम्म गरेको सबैका नजरमा आक्कल झुक्कल ठोक्किन नआ‘को भने हैन । यस्को तुलनामा कोही कोही झ्यालमै बसेर अध्ययनरत पनि देखिन्छन् ।
यो उनीहरुको निजी मामिला हो यसमा न मैले हस्तक्षेप गर्न खोजेकी हुँ न कुनै गुनासो । मनमा बयरको काँडा बनेर बिझाइ रहने बिषय यो हो कि स्कुले विद्यार्थी, कर्मचारी, साइकलमा तरकारी बेच्ने भैया देखि पलास्टीक बटुल्ले केटाहरुकोसम्म कन्या हाउस अगाडी पुग्दा हिडाइको गति टक्क् रोकेर, गुन्द्रुक परेको कपाल तह लगाउँदै एक नजर झ्याल तिर फालेको दृश्य साँच्चै नै हेर्न लायक हुन्छ जो सुकैलाई पनि ।
उनीहरु कन्या हाउसका सबै झ्याल पालैपालो नियाल्छन्, आफ्नौ पुरुषत्व प्रति गर्भले छाती फुलाउँछन् मसक्क मस्कन्छन् आँखा आगोको कोइलाझै चम्काउँछन् । मुहारमा कुनै अलौकिक परिवर्तन छाएको देख्न सकिन्छ प्रस्ट जोसुकैले पनि । लामो सास तान्छन् सर्टको कल्लर मिलाउँछन् र घुटुक्क थुक निलेर अलिकति आफैमा खुम्चदै बाटो लाग्छन् ।
उम्रेदेखि लिएर कपाल फुली तालु खुइलेकासम्मको दैनिकी हो त्यो, जो जो कन्या हाउसको बाटो हिड्छन् ।
त्यति मात्र कहाँ हो र कहिले काँही कन्या हाउसको अगाडीको चिया पसल, कम्यूनिकेसन पसल, बेकरी भरिभराउ हुन्छ, एक कप चिया खाएर पनि घन्टौ बस्छन् कुमारहरु,तन्नेरीहरु अनि बुढाहरु, कन्या हाउस नियाल्दै । यसो त किराना पसलेले पनि राम्रै ब्यापार गर्छ चुरोट, सलाई अनि सुर्तीको । अन्य ठाउँका दुकानको तुलनामा बढी चहलपहल हुनु बिक्रीमा बृद्धि हुनुको पछाडी दरो हात छ, कन्या हाउसको ।
पैदल यात्रीको मात्र कुरा उठाउँदा यहाँ प्रसङग नून बिनाको अचारझै हुन सक्छ । भाडाका बस, ट्याक्सी देखि दिएर प्राइभेट कार, मोटरसाइकल, सरकारी गाडीहरु सम्म रोकिन्छ बेकरीमा । सुत्केरीको निहुँ गरेरै भए पनि राम्रो ब्यापार गराउन सफल बेकरी अनि होटलवालाहरुले भन्दै होलान्, ‘जय होस कन्या हाउस ।‘
त्यसो त आजभोली यी सबै कुराकोे रहस्य बुझेर होला गाडामा मकै बेच्ने दिदि पनि कन्या हाउसकै अगाडी मकै पोल्छिन् । सबैले उठाएको फाइदाको लोटरी लगाउनबाट बिचरी उनी पनि किन बन्चित रहुन् त ? ए भन्नै भुलेँछु जुत्ता बनाउने पसले पनि मख्ख छ किन कि टल्किरहेकै जुत्ता सही यसो बुरुश दलेको जस्तो गर्दैमा दश, बीस रुपैया झरिहाल्छ अनि के चाहियो र ?
यति बिधि उथलपुलथ मच्चाउन सफल कन्या हाउसलाई भन्नै पर्छ, जय होस कन्या हाउस र यस्ता हाउस शहरका गल्ली गल्ली र चोक चोकमा बनोस् कमसेकम त्यहाँका पसल राम्ररी चल्ले अवसर पाउँछन् । त्यहाँका यात्रुले मनमा चाहनाका पकौडा पकाउने मौका पाउँछन् भला पुरा नहोस् कतिपय मर्दहरुले सपना सजाउने अनौठो अवसर त भेट्छन् । त्यसैले सबैको हो मा हो मिलाउँदै म पनि भन्छु, जय होस् कन्या हाउस ।
acharyasubisudha@yahoo.com

1 प्रतिक्रिया

  1. SANTOSH CHAULAGAIN says:

    INTERESTING CHA HAJUR,AAJA KO SAMAYAKO ATHARTHA CHITRAN

प्रतिक्रिया छाड्नुस्