मौन वियोगान्त : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

मौन वियोगान्त : सुबिसुधा आचार्य

2067/05/06// न्यूरोट गेटबाट भित्र पस्दैको ओम मेडिकल हलको छेवैमा उनी ढुङ्गाको मुर्तीझै उभिएकी थिइन् । परैबाट हाम्रो नजर एकैपटक हाम फालेर जुधे बिचैमा । उनी फिस्स अल्छीलाग्दो हाँसो हुत्याउँछिन् मतिर, म पनि के कम त्यस्तै बैरागलाग्दो मुस्कान बडो कन्जुसका साथ उनको हाँसोमा लोली मिलाउन उपस्थिति गराइदिन्छु ।
परैबाट जुधेका नजर आमने–सामने पर्दा कुन्नि किन ठक्कर लाग्न मानेनन् एक अर्कामा । बिना संवाद उनी अघि लागिन् बिवस्थाले क¥याप–कुरुप अठ्याएको कारण म पनि पछि पछि लाग्छु उनैको पाइला पच्छ्याउँदै । कुनै दिन हात नसमाती एक पाईला नबढ्ने हाम्रो यात्रा आज नदीको दुईकिनाराझैँ चुपचाप अघि बढिरह्यो सडकको दुई पेटिबाट महाबौद्धतर्फ ।
हाम्रो असमझदारीमा व्याकुल हुँदै मौसम सुस्तरी रोयो हल्का वर्षाको रुप धारण गरेर । पानीको थोप्ला बाक्लिए पछि मैले एकपटक चोर नजरले चियाएँ उनीलाई, संयोग उनले पनि त्यही बेला नियालिन् मलाई, आजको भेटमा नजर टक्राउने दोस्रो सौभाग्य थियो त्यो ।
असाध्यै हतारका साथ नजर हटायौँ एक अर्काबाट दुबैले । मसँग ब्यागमा छाता थियो तर उनलाई ओढौँ भन्ने हिम्मत ममा थिएन एक्लै ओढ्न नैतिकताले पनि दिएन । कसो–कसो निकै अप्ठयारोले चिमटिरह्यो भित्रभित्रै । उनको असहज परिवेश म सजिलै बुझ्न सक्थँे कि त्यही समस्याबाट अछुत छैनिन् उनीपनि ।
करिब पन्ध्रमिनेटको मौन यात्रा पछि हामी गन्तव्य बिन्दुमा प्रवेश गर्यौँ । ठाडेगाउँबाट आएको जन्तिझैँ बसाँै नभनी ढुङ्गाको मौलोझैँ दुवै दुईतिर उभिन्छौँ विना संकोच र अप्ठयारोका साथ । बस्नुस् न हजुर दुकानवाला कालो मुहार लगाउँदै अनि हामीतिर हेर्दै नहेरी चुत्थो औपचारिकता निभाउँछ ठुस्स परेर ।
‘के हामी यहाँ बस्न आ‘को हो र ?‘ अलिकति आगो ओकल्छु मैले । बाटोभरी उनी नबोलेको रिस पनि मिसाएर । ‘खुरुक्क हाम्रो खाता पल्टाउनुस् कति रैछ तिर्नुपर्ने ?‘
मैले ओकलेको आगोमा अलिकति मटितेल छ्यापिदिन्छिन् उनी । हामी पसलभित्र छिरेर पुर्वपश्चिम कुनाका कुर्सी पक्रिएर बस्छौँ टुसुक्क । दुकानमा अरुपनि ग्राहक छन् सबै पालैपालो हाम्रो अनि दुकानदारको मुखमा नियाल्छन् भयानक संभाब्य घटनाको परिकल्पनामा डुबेर । अनुमान लगाउँदा लगाउँदै पनि हाँडीमा मकै पड्किएझैँ आफ्नै सुरमा पड्किरहिन् उनी । बेला–बेला कप्टेरोले होडल्ने काम भयो मबाट पनि । प्रसङ्ग हामीले हाम्रो एउटा बुटिकको लागि सामान लिएका थियौँ त्यो दुकानबाट । केही रकम बेचेर दिने सर्त थियो तर दुकानदारले मैले चिनेको एउटा गफाडी व्यक्तिलाई हामीले तिर्नु पर्ने भन्दा दशगुणा ज्यादा रकम लिन बाँकी छ भनिदिएछ । हुन त त्यही गफाडी व्यक्तिको माध्यमबाट हामी पहिले त्यहाँ पुगेका थियौँ । गफाडी व्यक्ति, मेरो निकै नजिकको नाताका व्यक्ति हुन् । मैले आजसम्म कसैको एक कौडी पैसापनि खाएकी छैन । अनि किन नचढोस् त रिसको पारो ? बाफरेबाफ चढ्न पनि धेरै चढेछ बिचरो दुकानदार निलै भयो निलोतुत्तोझैँ ।
शेष नागले कृष्णलाई मार्न, यमुना नदिमा बिष ओकलेझैँ हामी दुईले पनि खुव बिष बमन गर्दै उसलाई तिर्न पर्ने रकम फालेर त्यहाँबाट निस्कियौँ ।
यी बिचमा पनि न उनी बोलिन् न मैले बोलाएँ । फेरी उहि नियम लागु भो हामी सडकको दुई किनाराबाट नचिनेको परचक्रीझैँ लमक–लमक लम्किरह्यौँ ।
उनी मसँग किन रुष्ट छिन् ? त्यती सारो बुझ्न नसक्दै हामी विर अस्पताल अगाडि आइपुग्छौ । पछाडि पनि नफर्की जारलाई सोधेको सैलीमा भनिन्–‘तपाईं चाबहिल जाने हो ?‘
ओ माइ गड, बल्ल फुट्यो उनको बोली । म पनि के कम
‘हो ‘उनीतिर नहेरी टुडिखेललाई नियाल्दै जवाफ दिएँ । हामी चाबहिलको माइक्रोबसमा उक्लियौँ । बस्न पनि एउटै सिटमा बसियो तर उनी एउटा साइडमा फर्किन् म अर्को साइडमा । कुन बिषय अनि कुन कुराले उनीलाई गिजोलिरहेको थियो त्यो त म अनुमान लगाउन सक्दिन तर म भने भित्रभित्रै सल्किरहेको थिएँ अव हाम्रो सम्बन्धमा ग्रहण लाग्न लाग्यो भनेर ।
खै कसरी कसरी जोडियो नाता, गाँसियो सम्बन्ध, रगतको नाता बिल्कुल थिएन हाम्रो तर मन गाँसेर मुटु जोडेर नयाँ साइनो बनाएका थियौँ हामीले अति प्यारो अनि न्यानो पनि । आज भन्दा दश वर्ष अगाडि जग्याकै आगो अनि धेरै मनहरु साक्षी राखी जुन तारालाई सोधेरै गाँसेको हो मुटु । अन्जान, अपरिचित उनै पराइलाई आफ्नो स्विकारेँ मैले नयाँ नाता मितिनी ।
यो सम्बन्ध, यो नाताबाट उनी कति खुशी थिइन् त्यो त म भन्न सक्दिन तर म भने बेहदै खुशी थिएँ हाम्रो सम्बन्धदेखि । दुई ज्यान एक आत्मा, एउटालाई चोट लाग्दा अर्कोलाई पीडा हुन्थ्यो र रुन्थ्यौँ सँगै बसी । यतिसम्म कि मर्ने बेला पनि सँगै मर्ने यस्तै सल्लाह थियो हाम्रो । हामीले धेरै रातसँगै बिताएका छौँ त्यो पनि मिठा–मिठा मायाका कुरा, सुनौलो जिन्दगीको कुरा अनि दुखका कुरा गर्दै ।
उनीसँगको बिछोड कल्पनैमा पनि धाती हुन्थ्यो मेरालागि । धेरै ठाउँमासँगै पनि गइयो उनीसँग यात्रा निकै रमाइलो लाग्ने मलाई । म अरुसँग कहीँ जान पनि मन नपराउने व्यक्ति उनीसँग भने, भोकै प्यासै भए पनि कुनै गुनासो हुन्न थियो ।
ठासठुस घुर्कीघार्की पनि चल्थ्यो एकअर्कामा, घोचपेच पनि मज्जाले गरिन्थ्यो मेरो आफन्तकहाँ होस् या उनको आफन्तकहाँ होस्, ढुक्कले खुलेयाम जान्थ्यौँ हामी । हाम्रो बिचको छोटिएको दुरी, हाम्रो मिलन देखेर भित्रभित्रै जल्थे सबै । कुडिन्थे इष्र्याले तै पनि कुनै पर्वाह थिएन हामीलाई । हाम्रो जुठो चल्थ्यो, हामी दुई मिलेर तेस्रो ब्यक्तिलाई धेरै पल्ट कार्टुन पनि नबना‘को हैन । कहिले न नाचेकी म उनको आग्रह टार्न नसकेर उनको भाइको विवाहमा पञ्चेबाजामा खुब मज्जाले नाचेको आजै जस्तो लाग्छ । त्यति बेलाको हुटिङ् म कसरी भुल्न सक्छु एक घण्टासम्म टुसुक्क बस्न नदिइ नचाएका ।
चितवनबाट आउँदा पटकपटक हामी ठट्टा गथ्र्याँै यो त्रिसुलीमा मदन भण्डारीलाई एउटा खवर दिन जानु छ । एक अर्काको मुख पालैपालो थुनेर एक अर्कालाई उछिनेर भन्थ्यौँ, पहिला म जाने ….पहिला म जाने । आखिर दुबै एकैपल्ट जाउँला नि जानै परे यसैमा आएर सम्झौता पनि हुने गथ्र्यो । हामी दुईजना साथमा हुनुपर्छ दिन गएको रात गएको पत्तै हुदैनथ्यो ।
तर अचानक हाम्रो सम्बन्धमा कसरी बाढी आयो ? बागमती जस्तो फोहोर अनि धमिलो बन्न गयो । मैले नुबझेको बिषय यही हो र यसै कुरा मनमा खड्किरह्यो ।
बुटिक हामी दुबैले मिलेर खोलेको भए पनि मेरो ब्यस्तताले त्यति जान पाउँन्न थिएँ म । कहिले रिपोटिङ, कहिले अफिस, कहिले साहित्यिक गोष्ठी, कहिले लेखन, कहिले के, फुर्सदको समयमा मात्र म बुटिकमा जान्थेँ । बुटिकमा प्रशिक्षण पनि दिने गरिएकाले, सिक्न आउने केटीहरु धेरै हुने कारण खुव रमाइलो हुन्थ्यो त्यहाँ । तर सबैले मलाई सधै जिस्काउँथे बेलाबेला झुल्कने बृहस्पति भन्दै । म उनीहरुको मुखमा बुझो लगाउन मेरा नयाँनयाँ आर्टिकल छापिएका पत्रपत्रिकाहरु लगिदिन्थेँ । सबैले काम छाडेर बढो आनन्दका साथ, एउटाले पढ्ने र अरुले सुन्ने गर्थे, अनि भन्थे सुबिदि हामीलाई पनि लेख्न सिकाइदिनुस् न । म पनि के कम अलिकति घमण्ड लिपेर भनिदिन्थेँ –‘गड गिफ्ट हो साथी लेखन क्षमता भनेको ।‘ उनीहरु हाँस्थे ।
समय हाम्रो मुठ्ठीबाट चिप्लेको पत्तै हुन्न थियो, सबै भन्थे हैन तिमीहरुको गफ कहिल्यै सकिन्न, किन हो ? खै त्यो त हामीलाई पनि थाहा थिएन तर भर्खरभर्खर लभ परेको नव जोडीकोझैँ गुनगुन भने खुव चल्थ्यो, अरु कसैले पनि पत्तो नपाउने गुनगुनाहट ।
चाबहिल झर्ने जति झरौँ त । खलासीको आवाजले म वर्तमानको मझेरीमा नराम्रोसँग पछारिएँ । भाडा तिरेर हामी माइक्रोबाट झ¥यौँ । उनी अझै बोलिनन् झरिको काठ फुलेझँै ठुस्स परिरहिन् । मैले नै सोधेँ जाउँ खाजा खान । गानो जालाझैँ गरी भो नखाने भनिन् उनले । मेरो आग्रहलाई बेवास्था गरेकोमा खुब पिलपिले भएँ यसपल्ट । उनको मुहारनै बिझाउन थाल्यो मुटुमा । एकछिन हेल्पिङ्घ ह्याण्ड अस्पताल अगाडि उभियौँ हामी । मन नलाइनलाइ जाउँ मेरो घरमा उनले भनिन् मैले पनि भनेँ, हैन म रिर्पोटिङमा पनि जानु छ, म भ्याँउदिन ।
हिँड्ने बेला एकपल्ट फेरि तीतो शब्द ह्वात्त ओकलिन् उनले–बुटिकमा आउनु म हिसाव बुझाइदिन्छु ।‘ यो शब्दले मलाई छियाछिया बनायो कसैले टाल्न, सिउन र मलम लगाउन नमिल्ने गरी । दशवर्ष सम्मको मित्रताको हिसाव बुझाउने भैछिन् उनले असाध्यै नराम्रो लाग्यो । उनी फटाफट बाटो लागिन् । आँखाबाट ओझेल नपरुञ्जेल नियालीरहेँ मैले । कस्तो नमिठो मौन वियोगान्त प-यो हाम्रो मायामा, सम्बन्धमा अनि मित्रतामा ।

प्रतिक्रिया छाड्नुस्