चङ्गा (लघुकथा):Mohan Swaroop

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

चङ्गा (लघुकथा):Mohan Swaroop

बैशाख महिनाको मध्यदिन बाहिर टनटलापुर घाम लागिरहेको थियो । परिक्षा नजिकिदै आउँदा पढ्ने बहानामा प्रायः कोठा भित्रै बन्द हुन्थी प्रभा । पुस्तकबाट आँखा हटाएर पटक पटक झ्यालबाट बाहिर तिर हेरिरहेकी हुन्थी ऊ । अकस्मात् क्षितिजमा एक रातो रंगको चङ्गा देखापर्छ । सुन्दर आकृति……।हल्लि हल्लि उसैलाई जिस्क्याई रहे जस्तो……… उसले जीवनमा धेरै चङ्गाहरु देखि तर किन किन त्यो चङ्गासँग उसका आँखाहरु गाँसिएको भान हुन्छ उसलाई । केहीछिन ऊ एकोहोरो हेरिरहन्छे फेरि आफूलाई समाल्दै पुस्तक तिर ध्यान केन्द्रित गर्न खोज्छे तर पटक्कै मन मान्दैन ऊसको । ऊ पुस्तकका हरेक पानाहरुमा चङ्गा कै आकृति देख्न थाल्छे । झ्यालबाट बाहिर हेर्ने सिलसिला पुनः शुरु हुन्छ । चङ्गा केही अनियन्त्रित जस्तो लाग्छ उसलाई । सायद कसैको हातबाट फुत्किएको होला त्यो । हावाको झोंकासँगै यता उता गर्दै केही नजिकिदै आईरहे जस्तो लाग्छ । फेरि आँखाहरु हटाउँने प्रयास गर्छे, केहिबेर झ्याल बन्द गर्छे तर प्रयास असफल नै रहन्छ । किन किन त्यो चङ्गा आलौकिक लाग्छ ऊसलाई । ऊ चाहन्छे त्यसलाई समातेर उसको कोठामा सजाएर राख्न । यता उता हेर्छे…… छिमेकीका छत तिर आँखा लम्क्याउँछे……… सबैका आँखा त्यही चङ्गा तिर पाउँछे ऊ । उसलाई ईर्ष्या लाग्छ र सहन नसकी ऊ दौडदै छतमा पुग्छे । केही शान्त जस्ती भएर अरुका कुराहरु तिर कान लम्क्याउँछे । त्यो चङ्गा प्रति सबैका भिन्न भिन्न हेराई पाउँछे ऊ । चङ्गा प्रति उसको तादात्म्य बढ्दै जान्छ ऊ आफैलाई अनियन्त्रित महशुस गर्छे । ऊ दौडन्छे चङ्गा समात्न किन्तु त्यो धेरै दुरीमा छ भन्ने उसलाई होसै छैन बेहोसी मै ऊ दौडन्छे तर छतको रेलिङ् उसको व्यवधान भएर उभिन्छ । ऊ त्यही रोकिन्छे सायद रेलिङ् नभएको भए ………
उसमा एक बालहठ देखिन्छ । ऊ चङ्गाका लागि रुन…… कराउँन…… चिच्याउँन तयार जस्ती देखिन्छे । दौडदा रेलिङ्मा अल्झिए पछि केही होस आए पनि त्यो रातो रंगमा उसको भावी सिन्दुर देख्छे ऊ । सारा जीवनका खुशीहरु त्यसमा देख्छे ऊ । ऊ चङ्गा उढाउँन होईन सजाउँन चाहन्छे । ऊ सोच्छे कतै धागाबाट अलगिएको, कसैको मायाबाट विच्छेद भएको चङ्गा हो त्यो । ऊ देख्न सक्दिन त्यसलाई भूईंमा लत्रिएको, कसैले कुल्चिएको, हिलोमा मुच्छिएको………
तर प्रभा किन एक सामान्य कागजको टुक्रामा यति धेरै आसक्त देखिन्छे, साच्चै त्यो चङ्गामा उसले चाहे जस्तो खुशी छ? के त्यसले उसलाई शास्वत सुख प्रदान गर्न सक्छ? के त्यो नित्य त्यसरी नै आकर्षक भईरहने छ? के त्यसको आकर्षणता प्रकृतिको नियमलाई उलङ्घन गरेर सधै-सधैका लागि उसका युगल नयनलाई शीतलता दिन सक्छ? उसलाई किन यो ज्ञान छैन कि सामान्य कागजको टुक्रा न हो केही पानीका थोपाहरु पर्याप्त छन् त्यसलाई नष्ट गर्न भनेर । मेरा आगाडि प्रश्नै प्रश्न तेर्सिएर आए । परिक्षा…….. बैशाख……. टनटलापुर घाम……… चङ्गा……… प्रभा…… झ्याल…….. छत……. रेलिङ्ग……… शास्वत सुख …… जीवन…… नयन आदि शब्दहरु नै घुमिरहेका छन् मेरो मनमा । म पनि यी शब्दहरु बरबराउँदै आफ्नो बाटो लाग्ने विचार गरें ।

1 प्रतिक्रिया

  1. sajja dkhakal says:

    good concept and great writting. keep it up and hope to read more from you soon.

प्रतिक्रिया छाड्नुस्