भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

भावनाको नाताले के सुखानुभूती देला र ? : सुबिसधा आचार्य

नाता र सम्बन्धको हजारौं आकृतिहरु हिउँ फुस्फुसाएझैँ मनका भित्ताहरुमा तरेली परेर बर्षिएको सुखानुभूतीले उसै पुलकित भएकी म, फेरि अलिकति विगत उम्लिएर आगतको बग्दो बेगलाई सर्लक्क आफूमैं समापन गराउन तम्सिएपछि अनौठो कालो छायाँले निलेको महसुस हुन्छ मलाई ।
एक हप्ताको लामो अन्तरालपछि मैले याहूमेल चेक गर्ने समय जुटाएँ, सधैँको हतारो, सधैँको चटारो खै के, खै के नमिलेर सधै टाढै भइरहेँ, जब मेल खोलेँ, मेरो खुशीको सीमा कावा खाँदै आकासमा उड्नथाल्यो, बादललाई चुनौती दिँदै । मेरो मेलबक्स नयाँ–नयाँ मेलले भरिएको थियो । नयाँ नाम, नयाँ आफ्नोपन अनि नयाँ अनुभूती ।
मेलका शब्द–शब्द नियाल्दै जानेक्रममा बल्ल थाहा भयोे “के तिमी माइतीको माया दिन सक्छौ ?” भन्ने मेरा लेख अन्तराष्ट्रिय राजधानी साप्ताहिक, कतारमा छापिएको रै‘छ । कल्पना गरेकी थिईन, त्यो लेखले त्यति धेरै मनहरुलाई छुन्छ र मेरो मेलबक्स कोचाकोच हुन्छ भन्ने कुराको ।
अनौठो त यो थियो कि एकैजनाको दश भन्दा बढी मेल पनि थियो । यो सबै मेरै कमजोरीको उपज हो मैले दिन–दिनै मेल चेक गरेकी हुँदी हुँ त शायद उहाँहरु मसँग त्यति रिसाउनु हुन्न थियो होला । सबै–सबैले आफ्नो मेलको प्रतिजवाफ माग्नु भएको रै‘छ । सोचेँ, जवाफ दिएर पार लाग्ला जस्तो लागेन अनि अर्को एउटा लेख मार्फत् नै किन सबैको जिज्ञासाको समाधान नगरौँ ?
मेलको प्रत्येक शब्दसँग लुकामारी खेल्दै गर्दा म हर्षको दुबोमाथि पुतली बनेर नाच्दै थिएँ । ममत्व लेपिएका ती शब्दहरु, आफ्नोपनले लफलफ्ती भिजेका अनुनय अनि विनय– “चेली मलाई माइती स्विकार ।” कति मीठो आग्रह । जतिजति मेल खोलेर पढ्दै जान्छु उति उति मन काबुमा पटक्कै रहन्न, सपनाका सून्दर सहरमा म हराउँदै गएँ, मेरो लागी यति धेरै दाजुभाइहरु जन्मनु भएको रै‘छ । तर जब विगतका दृष्यहरु ह्वात्तै छाल बनेर मलाई भिजाउन आइपुग्यो, अब मेरो उमङ्ग, मेरो उत्साहमा धमिलो बाढी हेलियो अनि सम्झन बाध्य भएँ कि यो एउटा मेरो काल्पनिक संसारको अद्भूत दुनियामा हराउने चाहना, रम्ने इच्छा मात्र साइकोसिस् र मृगतृष्णा हो, जुन कहिले सम्भव नहुने ।
मेरो अज्नभी माइती, माफ गर्नुस् मैले तपाईंहरुको मेलको जवाफ दिन सकिन यसको मतलब, म घमण्डी, स्वार्थी हुँदै होइन । खै कहाँबाट सुरु गरु र खोतलु आफूले आफैँलाई, मेरो भोगाईको न सुरुवात छ न अन्त्य नै । म त मज्धारमा फलेको फर्सि जस्तो छु । बिना टेको हावामा झुण्डिएकी कुनै दिन आउन सक्ने सम्भावित हुरीको चिसो बवण्डालाई आत्मैदेखि स्विकार गर्ने ।
प्रत्येक मेलहरुका शब्दले मलाई चिथर्यो, कोप¥यो र लात्तीले हान्यो मुटुको सिरा अनी धमनी चुडिने गरि । पटकपटक बेहोस हुँदै अनि मर्दै पढेँ सबै मेलहरु । समयले मलाई जहिलेसुकै परीक्षा दिन्छ किन ? किन म दिल खोलेर हाँस्न सक्दिन ? मेरो पोल्टामा आनन्दको मकै–भटमास कहिले पोको परेन, प¥यो त केवल, दुख अनि पीडाका कोक्काउने पिडालुको सेला जसलाई न भोक टार्नका खातिर खान सक्छु न मिल्काउन नै सक्छु ठुलो भिरबाट ।
संसारमा म मात्र एउटा त्यस्तो व्यक्ति हुँला जसले जीवनका उकाली, ओरालीमा मात्र समयका चुनौतीसँग सामना गरेको । मैले तपाईहरुको मेलको जवाफ दिनु पर्ने छ, म चाहन्न तपाईहरुको मन मेरो कारणले दुखोस । बहिनी के तिमी मलाई चेलीको माया दिन सक्छौ ? यहि लेख्नु भा‘को छ तपाईहरुले हैन ।
किन किन मलाई बहिनी र दिदीको सम्बोधनले बेस्सरी चिमोट्छ मुटुको कुनाकन्दरामा । अब म यी सम्बोधनलाई गहिरो रुपमा लिन सक्दिन, मुखले उच्चारण गरेपनि आत्माले कसैलाई दाजु र भाइ पुज्न अन्कनाउने भा‘को छ यो खुनखुने मन । हो, म आज तपाईहरुको सामु आफूलाई खोतलेर सार्वजनिक गर्दैछु ।
मेरो आमाले मलाई दाजु र भाइको अभाव पूरा गरिदिन सक्नु भएन । प्रत्येक तिहारमा मेरी दिदी मलाई भाइझैँ सिगारेर सप्तरङ्गी टिका र मालाले सजाउँथिन् । वाल्यकालको कुमारी बुद्धी, आफूलाई दिदीको प्यारो भाइनै सम्झन्थेँ र मख्खिन्थँे दिदीले पुजेको त्यो रमाइलो वातावरणमा ।
जब–जब समयले ममाथी परिपक्कताको घुम्टो ओढाउन सुरु ग¥यो तब बुझ्न थालेँ । दिदीले मलाई टिका लगाएको भाइ पुजेको सब कागजको खेलौना जस्तो पो रै‘छ अझ यसो भनौं बाल्यकालमा पुतलीको बिहे गराएको जस्तो रै‘छ । म दिदीको अभागीनी बहीनी कता भाइ बन्न सक्नु ? वास्तविकता थाहा पाएपछि म खुब रोएकी थिएँ त्यो समयमा । खै मेरी दिदीले त मन बुझाइन् तर ममा भने अभाव खुब खडकिरह्यो, प्यास पलाइरहयो र म सांसारिक मरुभूमीमा त्यही साइनोको खोजमा भौतारिन थालेँ ।
चाडबाड मेरो लागि नआइदिए पनि हुने यस्तै सोच्थेँ म, म तिहारको भाइटिकाको दिन दिनभरी रोएर बस्थेँ, मेरो उदासीनता, अनि रुन्चे मुहारले दया पलाएछ काकाको छोरालाई । उहाँले आफूलाई टिका लगाइदिन अनुरोध मात्र गर्नु भएन, बोकेर घरमा लैजानु भो, म पनि मख्ख थिएँ अब मेरो लागि पनि तिहार आउँछ भनेर । दिदी त गइनन् सायद उनले बुझेकी रै‘छिन्, भाग्यमा नभा‘को साइनो गास्न खोज्नु मुर्खता हो भनेर । कलिलो सोचाइ अनि मोटो बुद्धि, म कसरी सम्झन सक्थेँ र ? संसारलाई मात्र बुझ्न खोज्दै गर्दाको अबोध वालापनमा ।
दाइले मलाई पिंढीमा लगेर राखे पछि –“यसपाली देखि कालीलेपनि टिका लगाउँछे मलाई, तीनवटी दिदीबहिनी थिए चार वटी भए ।” यति भन्दै दाजु धारोमा नुहाउन जानु भो, भर्खर रातोमाटोले लिपेको भित्तामा म मेरो दाजुको नाम कोरिरहेकी थिएँ मनको ब्याल्कबोर्ड सम्झदै । भित्रबाट एउटा तीतो आवाज मेरो कानसम्म ठोक्किन आइपुग्यो । “त्यसले मेरो दाजुलाई टिका लगाउँछे भने म लगाउँदिन टिका, मान्दिन तिहार ।” तिखा काँडाले कसैले आँखाको नानीमै घोचेर नुन दलेको जस्तो असाध्यै पीडा भयो त्यो भनाइले मलाई, काकी सम्झाउँदै थिइन् आफ्नी छोरीलाई– “यसपाली त हो नि अर्को सालदेखि तिमीहरु सबै दिदीकोमा जानु, दाइ पनि उतै जान्छ अनि उस्ले टिका लगाउन कहाँ पाउँछे र ?”
त्यहाँभन्दा बढी वार्तालाप सुन्न सक्ने क्षमता थिएन मेरो कलिलो मनस्थितिमा, चुपचाप रुँदै म गल्ली–गल्ली घर फर्किएँ । त्यो पल आमालाई तथानाम गाली गरेर रुवाइ दिएकी थिएँ । एउटा दाइ दिन नसक्नेले मलाई किन जन्माएको भनेर । त्यो पल मेरी आमा नाजवाफ भइन् र मात्र आसु बगाइन् । आज सम्झदा खेद लाग्छ आफैलाई किन त्यसो भने हुँला ?
भाइटिकाको दिन ढोका थुनेर रोएरै बिताई दिन्थ्याँै हामी दिदी– बहिनी । दाजु भाइको अभाव तिहारमा मात्र हैन जहिले सुकै खड्किरह्यो मलाई, जब विद्यालय जान थालेँ, सबैले दाजुभाइको कुरा गर्थे, मेरो दाइ यस्तो, मेरो दाइ उस्तो । दाइले यो ल्याइदियो, त्यो ल्याइदियो । म खुब कल्पन्थेँ र भित्रभित्रै रुन्थेँ आफ्नै अभावको भुमरीमा रुमलिदँै ।
समयसँग म बगी रहेँ कहिले चैत्रको खहरे बन्दै त कहिले श्रावणको भेल बनी । म मात्र दाजुभाइ बिहीन थिइन् तर पनि आफ्नो मन कहिले बुझाउन सकिन, यस्तै हो संसार भनेर । दुःख र सुखका बुद–बुद बाड्ने दिदी पराइको घर गएपछि म झन शून्य एकदम शून्य हुन थालेँ ।
खै मनमा के लहर उर्लिन थाल्यो –“मेरो पीडादायक तिहार तँ नआइदिनु ।” भन्ने शिर्षकको एउटा लेख लेखेर ख्याल–ख्यालैमा पत्रिकालाई पठाएकी थिएँ छापिएछ । जव पत्रको लाम मेरो घरमा ओइरिन थाल्यो तब मात्र थाहा पाएँ छापिएको कुरा पनि ।
सबै–सबै पत्रहरुको भाव, भनाई, लेखाई एउटै थियो । म बन्छु तिम्रो भाइ वा दाइ यस्तै यस्तै । बाबा र आमाले गाली गर्नु भो, नचाहिँदो ढर्रा यसलाई गर्नुपर्छ । आफ्नो शिर कुल्चेको दाइ त आफ्नो भा‘को छैन को–को चिन्दै नचिनेको मान्छेलाई बनाउँछेस् नि दाई । हुन पनि मेरी आमाको एउटै मात्र दाई तर कुनै पनि तिहारमा मेरी आमाले भाइ पुजा गरेको थाहा पाइन मैले । टिकाको दिनभरी मूलबाटोमा आखाँ बिच्छ्याएर आँसु बगाउँदै बिताउँथिन् विचरी मेरीआमाले । यी सबै देखेर पनि ममा पलाएको अनौठो प्यासले खान्थ्यो कहिलेकाँही मलाई । लेख त साप्ताहिकमा छापियो तर मन बिस्तारै कुमारीबाट वयष्क बन्दै थियो र त कुनै पनि पत्रको जवाफ दिइन मैले ।
यो संसार स्वार्थी छ । आफूले शिर कुल्चेको दाजुले त बहिनीलाई भुलेर श्रीमतीको बुहारीको हातबाट टिका थापी बहिनीलाई आँसुमा डुबाएर बस्यो भने मैले जोडेको भावनाको नाताले के मलाई सुखानुभूती देला र ? दुःख लाग्थ्यो अनि बिस्तारै मनपनि बुझाउँदै बस्न थालेकी थिएँ । अकस्मात मेरो जीवनमा फेरि अर्र्काे सुनामी ह्वात्तै आयो र मलाई नराम्रोसँग बगायो कता पु¥यायो पु¥यायो, थाहै नपाउने गरि । प्रत्येक मेरो दुःखमा साथ दिन मेरो ममताको न्यानो काख मेरी ममतामही आमालाई दैवले खोसेपछि ममा उदासिनता, एक्लोपना र नैराश्यता झन बढी मौलाउन थाल्यो । एकातिर मेरो उदासीनता अर्कौ तिर काठमाडौंकै एक भाइले मैले जवाफ नपठाउँदा पनि एकोहोरो दर्जनौं पत्र पठाई सकेका थिए म तपाईंलाई दिदी मान्छु भनेर ।
मैले जवाफ पठाएँ । नभन्दै अर्कोसाल तिहारको भाइटिकाको दिन बिहानै ऊ सोध्दै–खोज्दै मेरो दैलोमा टुप्लुक्कियो । उसको दिदी र बहिनी दुवै थिए तै पनि कुन्नि किन उसले मलाई दिदी बनाउन चाह्यो । बाबाले त्यहीपल हामी दुबैको सामु भन्नु भा‘को थियो– “सधँैको दिगो सम्बन्ध गाँस्छौ भने गाँस र लगा‘ओ टिका नत्र एक सालको नौटंकी हो भने पर्दैन, गाउँले शत्रुलाई हँसाउन, उसले मेरो गोडा समातेर कसम खाएको थियो मेरो सास छउञ्जेल आकासपाताल जताबाट भएपनि म दिदीको हातको टिका लगाउन आउँछु ।
हाम्रो सम्बन्ध दुबोझैँ मौलाएको थियो । उसको घरमापनि मलाई माइली छोरी बनाएका थिए । आमाबाबाले सारै माया गर्नु हुन्थ्यो । दिदी अनि बहिनीले पनि माया गर्थे । म त्यहाँ गएपछि आफ्नो घर फर्कनै भुल्थेँ । सबैको न्यानो आफ्नोपनले भिजेर मैले मेरी आमालाईसम्म भुल्न थालेँ ।
महिनाको एकपल्ट ऊ मेरो दैलोमा उपस्थित हुन्थ्यो, सानो भन्दा सानो कुरा हामी एक अर्कामा बाड्थ्यौ, उसले मलाई यति माया गथ्र्यो कि शायद कुनै साख्यै दाजुभाइले पनि गर्दैनन् । ऊ म कहाँ आउनु र म ऊ कहाँ जानु भनेको पानी पधेरो जस्तै भा‘को थियो । यतिसम्मकी ऊ मेरो हरेक काम पनि सघाउन आइपुग्थ्यो । गाउँका सबै जिल्ल पर्थे हाम्रो सम्बन्ध,हाम्रो नाता र मायालाई देखेर । लगातार चारवर्षसम्म हाम्रो सम्बन्ध गाढा भएर जमिरह्यो । यसै बिचमा ऊ कोरीया गयो । कोरीया जाने अघिल्लो दिन साँझ ऊ मेरोमा आएको थियो । रातभरी हामी दिदीभाई खुब रोयौँ बिछोडको तीतो पीडा सम्झेर । उसलाई विदाइ गर्न म स्वयम् एयरपोर्ट गएकी थिएँ ।
आमासँगको बिछोडमा भन्दा पनि भाइ कोरिया जान लागेको दुखमा म हदै रोएकी थिएँ । गाउँमा फोनको सेवा त थिएन पत्र मार्फत् नै दुःख–सुख आदान–प्रदान हुन्थ्यो हामीबिच । हप्ता–हप्तामा उसको पत्रहात प¥थ्र्यो, र म पनि प्रत्येक पत्रको जवाफ तुरुन्तै दिन्थेँ । जसरी उसको पत्रको बेचैनी मलाई बढ्थ्यो उसलाई त्यसको तीन खण्ड बेचैनी हुन्थ्यो रे ।
दुई वर्षको लागी भनेर गए पनि ऊ चार वर्ष बस्यो कोरियामा । तीन वर्षसम्म त राम्रै सम्पर्क हुन्थ्यो बिस्तारै उसको पत्र आउन छाड्यो म उसको घरमा गएरपनि सोधेँ, घरमा पठाएको पत्रहरु हेरेँ मेरो नाम निसाना उच्चारण थिएन । बैनीसँग नम्बर मागेर फोन गरेँ, फोन उसैले उठाएर पनि म …..हैन भन्यो । त्यो पलको तीतो यथार्थ म यहाँ व्यक्त गर्नै सक्दिन । तैपनि मनलाई बुझाएँ । बाबा–आमा र बहिनीले ब्यस्तताको कारण होला आएपछि सब ठीक हुन्छ चित्त नदुखाउन सम्झाए । मनमा झिनो आश पालेर बसिरहेँ । ऊ आयो तर मलाई भेट्न आएन । म आफैँ उसलाई भेट्न जाँदा बोल्न पनि पैसा पर्ला जस्तो ग¥यो, परिवारका अरुले दिएको माया बरु लाख भो त्यो पल । उसले पराइको व्यवहार देखायो । मनमा गाँठो पारेर म साहै दुखी बनी फर्किएँ उसको घरबाट । त्यो पल देखि कहिले पनि उसको दैलो टेकिन । त्यही साल उसले बिहे ग¥यो अहँ मलाई सम्झेन, अनि बल्ल मलाई थाहा भयो भाग्यमा नभएको साइनो जोड्न खोज्नु, नाता बनाउन खोज्नु भुल मेरै रहेछ । मेरीले आमा सत्य भन्थिन् गाँसेको र टाँसेको नाता कहिल्यै पूर्ण हुँदैन । उसको साथीले बरु बेला–बेला फोन गरेर दुख–सुख सोध्छ तर उसले कुनै वास्ता गर्दैन ।
हो म टुटीसकेकी छु सिसा जस्तै, अब जोड्न कुनै हालतमा पनि मिल्दैन, मुटुमा घाउ दिने साइनो पटक–पटक जोड्न सक्दिन म । यो बिषयलाई उठाउने रहर मेरो हैन, न त आफ्नो अतितलाई बिस्कुन सुकाएर कसैको सहानुभूती बटुल्नु नै छ, एकजना मित्रको व्यवहार अनि नारीप्रति हेरिने कु–नजरले सारै चिमोटेर मैले त्यो लेख –“के तिमी मलाई माइतीको माया दिन सक्छौ ?” लेखेकी हुँ । फेरि मेरो जीवनमा कुनै दाजुभाइ आउँलान् मेरो लागी खुशी लिएर, म वसन्तको हरियालीमा फेरि फुलौँला भन्ने आशाले लेखेकी बिल्कुल हैन । कतिपय मित्रले सोध्नु भा‘को छ– कस्तो माया खोजेको हो भनेर । मायामा पनि प्रकार रुप हुन्छन् कि कसो ? त्यो मैले बुझ्न सकेकी छैन । कसैले भन्नु भा‘को छ–‘म आर्थिक रुपमा केही गर्न सक्दिन मात्र बैनीको माया दिन्छु ।, यो भनाइले झन मलाई बिचलित बनायो । आफूले दश नङ्ग्रा खियाएर कमाएकोले त पुग्दैन भने मान्छेले अरुबाट किन आश गर्ने ? अरुले गरेको सहयोगले कहिले कसैलाई पुग्छ र ? म अलि भिन्न खालकी मान्छे छु, आफ्नै आश त आफैँलाई लाग्दैन भने मैले अरुबाट किन कस्तो आश गरौँ । विन्ती मेरा सहृदयी मनहरु त्यस्ता जिज्ञासाको झटारो नहुत्याइदिनु होला । म धेरै दुखी सकेकी छु । अब फेरी पनि दुख्न सक्ने हिम्मत, क्षमता पटक्कै छैन ममा । यो तितो स्मरण पनि तपाईहरुकै जिज्ञासाको समाधानका खातिर लेखेकी छु सहानुभूती र नयाँ साइनो जोडौँला, मेरो फेरी माइतीको माया, दाजुको माया, नाता, साइनो भेटौँला भनेर विल्कुल होइन् । विछोड अनि चोटको धेरैपल्ट सामना गरेकी छु, कहिले दिदी पराइ घर जाँदा, कहिले आमाले संसार छोड्दा त कहिले गाँसेको साइनो भाइ आफँैले तोड्दा, त्यतिले मात्र नपुगेर आफ्नो भन्ने बाँकी रहेको बुबाले पनि संसारबाट विदा लिएपछि मेरो मुटु चाल्नो भा‘को छ । जहाँ कुनै कुरा रहदैन, जसरी पानी अड्न्नि चाल्नोमा ।
मेरा मनका अनुभूतीहरु, कथाहरु, लेखहरु आदि पढिदिनु हुन्छ, प्रतिकृया लेखिदिनु हुन्छ लाख भा‘को छ मलाई । तपाईंहरु सबै आफन्त हो मेरो लागी र म त्यही आफ्नोपनमा भिजेर रमाएकी छु । तपाईंहरुको साथ, सधै सरानीय हुने छ मेरो लागी ।
यो भावना, यो लेखाई तपाईहरुमा समर्पण जस–जसले– “के तिमी माइतीको माया दिन सक्छौ ?” लेख पढेर मलाई मेल पठाउनु भा‘को थियो र जवाफको लागी अनुनय विनय गर्नु भा‘को थियो । सम्झनुस् यही मेरो जवाफ हो । आफ्नो जीवनको अमुल्य समय निकालेर मलाई सम्झने कष्ट गरिदिनु भो त्यसको लागि मन देखिनै साधुवाद र तपाईहरुको सधै जय होस् ।
www.kabyasudha.com
acharyasubisudha@yahoo.com
subisudha9841140180@gmail.com

1 प्रतिक्रिया

  1. ramesh gautam says:

    हजुर को बिचर सरै रम्रो ६ हम्रो नेपलि नरि को थोलु बिचर मन्मा खेलि रहेको

प्रतिक्रिया छाड्नुस्