माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

माओवादी जनयुद्वमा, मेरो गाउँमा बम पड्किँदाका कहालीलाग्दा दृष्यहरु : सुबिसुधा आचार्य

पर क्षितिजबाट रबिले बिदाइको हातहरु हल्लाए पछि गोधुली सन्ध्याको आगमन भइसकेको हुन्छ । घर नजिकैको बाँसघारीमा चराहरु पनि चिरचिर चुरचुर गर्न थाल्छन् । हुन सक्छ उनीहरु पनि बास खोजिरहेका छन् । आकाश अलिकति घोरमाइलो छ । शायद बादलका लप्काहरुले चाँदलाई छोपेर होला । वातावरण सुनसान भित्र कैद भएको छ । दैलाको संघारमा आमा टुसुक्क बसेकी छिन् । उनको निश्छल नयनहरु परपर सम्मका गोरेटाहरुलाई पच्छाइरहेछन् । बाटाका किनाराहरुमा कुनै आकृति अघि बढेमा संझिन्छिन् छोरो साइलो आएछ । बिडम्बना जव त्यो आकृतिले अर्कै बाटो पक्रन्छ रात गाढा बन्दै जान्छ । निस्तब्ध चुक पोखिए झैंंंंंंंंंंंं अध्यारोमा जव आकृतिलाई नै पच्छयाउन छाड्छन् आमाका आँखाहरु तव खुइय ! लामो सुस्केरा हाल्दै उनी भित्रिन्छिन् ।

अगेनामा आगो पनि पुत्ताउन छाडि सकेको हुन्छ । ठोक ठाक पार्छिन् दाउराको ठुटाहरुलाई अनि बसाल्छिन् सानो डिप्चेमा पानी, कचौरामा भुटेको भटमास र तोरीको गुन्द्रुक त पहिला नै तयारी अवश्थामा थियो । जव पानी उम्लन थाल्छ मकैको पिठो राखी सानो पन्यूले चलाउँछिन् त्यसलार्ई, त्यहि भित्र चल्दै जान्छ उनको सोंचाइ पनि, बिहानै घरबाट निस्केको छोरा रातको एक प्रहर ढलिसक्दा पनि घरमा नभित्रिएको देख्दा मनको आकाशमा शंखाको कालो बादलहरु एकपछि अर्र्को गर्दै रङ्गमगिन्छ । केही दिन अगाडि मात्र पल्लो गाउँमा बिचरा ! फुर्वाको छोरा नेपाली सेनाबाट भेटघाटका लागि आएको मात्र थियो । घरमा पसेर पानीको घुट्को निल्न नपाउँदै अन्जान चार ब्यक्ति आई सानो काम छ भनेर तल चौर सम्मका लागि लगेका थिए रे । दुई तीनघण्टा सम्म नफर्किएपछि फुर्वाको परिवार खोज्न जाँदा खर्काको फेदिमा अकस्मात टुक्रा टुक्रा भएको लास भेटिएछ । आमा एकपटक झसक्क झस्किन्छिन् । उनको हातबाट पन्यू खुत्रुक्क भुइमा खस्छ । त्यतीबेला सम्म ढिडो पाकीसकेको थियो । चुलोबाट डेक्ची उचालेर भर्सेलीमा राख्दै आगो निभाउँछिन् । बिचरीको हातमा घडि नभएकोले यति नै बजेको निक्यौल गर्न नसकेता पनि जूनको हेराइबाट अनुमान लगाउने अठोट बोकेर संघारबाट बाहिर चियाउँछिन् । घरको छतमाथि जून मुसुक्क मुस्काइरहेको थियो । हुन सक्छ रातको बाह्र बजिसकेछ । आमा भित्र पस्छिन् । छिडिंमा बसेर रुङ्ग्नु भन्दा माथि आँटिमा नै जानु पर्ला । उनको मनले यहि निधो गर्छ ढोका ढयाम्म थुन्छिन्, मधुरो टुकि हातमा बोकेर मन नलागि नलागि लिस्नु चढ्छन् उनका गोडाहरु ……………….. ।

आँटिमा पुग्न नपाउँदै धिपिक्क निभाउँछ टुकि बतासले, हडकडिन्छन् आमाका हातहरु ट्ुकि बाल्ने सलार्ई खोज्नका खातिर । त्यती नै खेर पल्लो गाउँबाट एउटा ठूलोे आवाज तरङ्गीत हुँदै आउँछ, जसको आवाजले पुरै गाउँले भयभित र त्रसित हुन्छन् । माथ्ला घर पुड्के चिच्याउँछ–“लौ आज पनि कहाँ बम पड्कियो ।”यिनै शब्दसँगै खत्राक्क आमाको हातबाट टुकि भुइमा खस्छ । टुकिको खसाइसँगै झस्किन्छ उनको मन पनि । आज पनि कुन कुन चेलीको सिन्दुर पुछियो ? कति आमाहरुको काख रित्तियो होला ? आफैले मन मनै आफैलार्ई प्रश्न गर्छिन । “हे इश्वर यो कस्तो परिवेशको सिर्जना गरिदियौ ।” उनका पाइलाहरु बिस्तारै झ्यालतिर अघि बढछन् । एकातिरको झ्याल बिस्तारै खोलेर चियाउँछिन् । गाउँ पून सुनसान वातावरणमा हराईसकेको थियो । छरपस्टिएका बादलका टुक्राहरुले चाँदलाई आफ्नो कब्जामा पारिसकेको रहेछ । गह्रौ मन बनाएर झ्याल ढप्काउँछिन् ।

खाटको सिरानीमा रहेको सलार्ई घोटी टुकि जगाएर खोपीमा राख्छिन् । पोल्टाबाट सानो बिडिको ठुटो झिकी बत्तीमा सल्काउछिन् । बिडिको सर्कोबाट निस्किएको धुवाँहरुसँग सल्कन्छ, आमाका सोचाइहरु पनि फेरी कानको जालि फुट्ने गरी अर्को आवाज आउँछ सँगै फट्ट पेस्तोलको आवाजले पनि वातावरण तताउँछ । झ्याल खोलेर हेर्ने साहस हुन्न । एक्कासी उनको मुखबाट आवाज निस्कन्छ –“थुइक्क पापी हो खायौ तिमीहरुले मेरो छोरा, मुटुको टुक्रा, मेरो टेक्ने बैसाखी, बुढेसकालको एक मात्र सहारा ? ”भाव विहोल हुन्छ उनको मन, मष्तिष्कमा एकपछि अर्को गर्दै विगत दौडन थाल्छ । नौ महिना गर्भमा बोक्दाको पींडा, जिन्दगीको समाप्ती नै सरह संझदा पनि कहाली लाग्दो प्रसुव बेदना, मुखको गाँस ओकलेर खुवाएको क्षणहरु, औला समाई आँगनीमा टुकु टुकु हिडाएको उफ ! उनी लामो श्वास तान्छिन् । आँखाबाट खसेको आँसुले मयत्रो निथ्रुक्क भिजेको हुन्छ । रात कसरी ढल्क्यो त्यो त न उनलाई थाहा छ न त रित्तो बिस्तरालाई नै थाहा छ ? बाहिर चिरबिराएका चराहरुले भने उज्यालो भएको संकेत गरिरहेको थियो । आँखैमा रात बितेर उज्यालो भएपनि मनमा उज्यालो नहुँदो रहेछ । यसरी नै आफ्नो फाटेको मन आशामा झुण्डिएको प्राण छोरा आउँछ की भनेर ती आमाले निकै रातहरु बिताइन् । प्रतिक्षामा नै आँखामा धेरै रातहरु बिते । कहाँ के र कुन उद्देश्य बोकेर साइलो घरबाट निस्कियो ? के गुमायो ? के पायो ? यी सारा प्रश्नको जवाफ र हिसाव किताव आमालाई बुझाउन अवस्य आउँछ भनि ती बृद्व आमा कुरेर बसेको झुपडिमा उ फर्किएन । अहँ कहिल्यै फर्किएन । असार बिते, माघ बिते, बसन्त र शिशिरहरु पनि धेरै आलोपालो गर्दै बिते तर उ फर्किएन ।

1 प्रतिक्रिया

प्रतिक्रिया छाड्नुस्