मेरो सपनाको नेपाल:कविता-कर्कट काश्यप(सरोज घिमिरे)फोन ९८५१०२६८९०

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

मेरो सपनाको नेपाल:कविता-कर्कट काश्यप(सरोज घिमिरे)फोन ९८५१०२६८९०

जनताले सुखको सास फेर्न नपाएको
विश्वको यो अनौंठो भूगोलको गणतन्त्रमा
कल्पना गर्दा गर्दै थाकेर
अचेल म, अनविज्ञ भै सपना देख्छु ।
विपनाको वर्तमान नेपालसँग
रोइरहेको अतीतको नेपाल
मेरा परेलीका डिलमा नाच्दै
रुन्छ, कराउँछ अनि चिच्याउँछ
अनि भन्छ
खै तरो कल्पनाको नेपाल ?

राजा हटाएर, जनता नै राजा भएको बेला
आफ्नो गाँस काटेको पैसाले
आफ्नै विरुद्धमा हतियार किनेको बेला,
काम चलाउ सरकार, काम चलाउ जनता
अनि काम चलाउ जिन्दगीका त्रिवेणीमा
निस्फल पसिना बगाउँदै सपना देखेको छु ।
मेरो सपनामा नेपाल घुम्छ,
अहिलेको भन्दा फरक, सामान्य तर संभव अनि सत्य ।

मेरो नेपालको सपनामा
अनि मेरो सपनाको नेपालमा
बन्दुकका नालमा नडराइकन
चराहरू बस्छन्, नाच्छन् र गाउँछन् ।
मानिसको रगतको रङ्ग नदलेका
गुराँसका थुङ्गा फुल्दै फक्रन्छन् टाकुरामा
बम, बारुज र विष्फोटन इतिहासमा मात्र पढेर
कलेजको विद्यार्थीले प्रश्न सोध्छ,
नेपाल बन्द भनेको के हो ?

मेरो सपनाको नेपालमा
दार्चुला र जुम्लाका मानिसहरूले
आफ्नै अनुभवमा नून र चामलको स्वाद बताउँछन् ।
सबै नेपाली एउटै चौतारी बसेर
पुर्खाका जातीय र रङ्गीय भेदमा पछुताउँछन् ।
देश हाम्रो हो भनेर चर्को स्वरमा
जनता छाती फुलाएर बोल्दै हुन्छन् ।
आफ्नो देशको माती नचिनेर,
विदेशका ढुङ्गा रङ्गाउन पुगेका बन्धुहरू
देशको सुगन्ध अनुभव गर्दै फर्कन्छन् ।
भावीले भाग्य कोरीदिने कलम
परिश्रमी हातमा सरेर भाग्य लेखिदिन्छ
र, पसिनाको प्रतिफल गुलियो बनाउँदै
आफ्नो परिचयले संसार सुवासित पार्नेछ ।
सगरमाथा र बुद्धको देश नेपाल हैन,
सगरमाथा र बुद्धचाहिँ नेपालका रहेछन् भनेर ।

मेरो सपनाको नेपालमा वीरेनहरू हुन्नन्
र हुन्छन् ख्यातीहरू मात्र ।
प्रविधि हुन्छ र प्राविधिक हुन्छन् सुरक्षालाई
माटोको माया पलाउँछ र पसिनाले विवेक फलाउँछ,
नेता हुन्छन्, नीति हुन्छ र नेतृत्व पनि हुन्छ ।
फरक यति हो देश बेच्ने ठेकेदार हुन्नन् ।
तपाईं आफ्नै ठाउँमा बस्नुहोस् र पसिना पोख्नुहोस्,
देशको सुगन्धले संसार नाचेको देख्न पाउनु हुन्छ ।

म यतिखेर बिउँझको छु,
निदाएन भने सत्य सपनाहरू विपना बन्छन् भन्थे बूढापाका
किनकि मेरोजस्तो सपना
मेरा भावी पुूताले देख्न नपरोस्,
मेरोजस्तो यथार्थ र दुर्दशा
भावी पुस्ताले भोग्न नपरोस् ।

प्रतिक्रिया छाड्नुस्