किन भइरहन्छ सिर्जनामा फट्याइँ ? : विमल आरोही

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

किन भइरहन्छ सिर्जनामा फट्याइँ ? : विमल आरोही

काठमाडौ, भाद्र २५ –
जगदीश घिमिरेले भूपी शेरचनसित गरेको अन्तर्वार्ता ०२७ असोजको ‘रूपरेखा’ पत्रिकामा छापिएको रहेछ । तर उक्त अन्तर्वार्ता मैले भर्खरैमात्र पढँे, ‘जनमत’ ०६६ माघ अंकमा । अहिले त घिमिरेको ‘स्थान, काल र पात्र’ कृतिमा पनि संकलित भएको छ, उक्त अन्तर्वार्ता । जगदीश सोध्छन्,

‘साहित्यकारको सङ्गत कस्तो लाग्छ ?’ भूपी एक शब्द बोल्छन्, ‘घिनलाग्दो । ‘

भूपीको त्यतिबेलाको ‘घिनलाग्दो’ जवाफ चालीस वर्षपछि पनि उत्तिकै सान्दर्भिक देखिएको छ । ०४६ सालमा भौतिक रूपमा विदा भएका उनको सिर्जनासहित अचेट्ने ‘घिनलाग्दो’ दुष्प्रयास भएको

छ । नेपाली भाषा र साहित्यको आधिकारिक र मानक संस्था मानिएको साझा प्रकाशनबाटै प्रकाशित ‘गरिमा’ले यसो गरेर आफ्नै गरिमा घटाएको छ ।

भर्खरै कालीप्रसाद चोरिए । साझा स्वयम् नै

चोरियो । यी बाँचेका थिए, आफैंले थाहा पाए । हल्लीखल्ली भो । साझाको प्रतिलिपि अधिकार चोरेर छापेका ११ कक्षाका सबै किताब जलाइए । रमण घिमिरेले नेपाल म्यागेजिनमा रिपोर्ट बनाए । विमल निभाले सिउँडीमा ‘कुसुमार्पण’ बनाए, ‘साले गधा’ बनाए । तर भूपी ज्युँदा भएनन्, ‘घिनलाग्दो’ विरुद्ध उजुरी गरेनन्, समाचार बनेनन्, लेख बनेनन् ।

भूपीलाई र उनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’लाई पि्रय लेखक र सङ्ग्रहमध्ये एक नम्बरमा राख्ने यहाँ मजस्ता थुप्रै पाठक छन् । तर पि्रय कविको पि्रय कविता चोरिएको कसैलाई थाहा भएन । धेरैले रूचाएको ‘घुमेमाअमा’ नै चोरिन्छ यहाँ भने हाम्रा कत्ति कवि ‘कवि’बाटै चोरिएका होलान् ?

साझा प्रकाशनबाट प्रकाशित हुने साहित्यिक मासिक ‘गरिमा’को ०६६ असोज अङ्क पढ्दै थिएँ । पेज नम्बर २५ मा सुभद्रा भट्टराई -अर्याल) को नाममा ‘मेरो सपना’ शीर्षकमा कविता छापिएको रैछ । खुब स्वाद मानी पढेँ, कविता त अन्तर्राष्ट्रिय प्रतियोगितै जित्ने खालको लाग्यो । सुभद्राको ‘मेरो सपना’मा कताकता भूपीको गन्ध आउन थाल्यो । दराजबाट ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ झिकेँ । पत्ता पल्टाउँदै सङ्ग्रहको तेस्रो कविता ‘सधैं-सधैं मेरो सपनामा’ पढेँ । मेरी आम्मै, भूपीले ०१६ सालमा देखेकै उही सपना सुभद्राले पनि देखिछन् । भूपीले आफ्नो सपनालाई ०१६ सालको ‘शारदा’मा पोखे, सुभद्राले फेरि उही सपनालाई ०६६ ‘गरिमा’मा छापिदिइन् पचास वर्षपछि । अब यहाँ सुरक्षित भन्ने कुरो केही रहेन । सपना पनि असुरक्षित, सपना पनि अपहरित ! सपनाको पनि चोरी ।

कवयित्रीको प्रतिक्रिया बुझ्न साझा पुगेँ । फोन, इमेल केही पनि नभएको गरिमाकर्मी दुर्गा पौडेलले बताए । त्यतिबेलाका गरिमाका सम्पादक भिक्टर प्रधानलाई ज्ञिजासा राख्दा उनले भने, ‘सबै कुरा सम्पादकलाई कण्ठ हुँदैन । फेरि त्यो कविता त्यति चर्चित पनि होइन । यदि त्यसो भएको रहेछ भने म होइन, जिम्मेवार प्रकाशन संस्था नै हुन्छ ।’ तर साझाका अध्यक्ष तथा महाप्रबन्धक ममता झाले गरिमामा प्रकाशित लेखरचनाका बारे लेखक स्वयम् जिम्मेवार हुने बताइन् । उनले भनिन्, ‘यसमा हाम्रो केही दोष छैन ।’ ‘घुमेमाअमा’ र ‘गरिमा’का दुवै सपना सँगै राखी छामेँ, नापेँ, पढेँ, हेरेँ, तौलेँ । सब थोक उस्तै छ, उही छ । अझ डरमर्नु कुरो त दुवैका प्रकाशन संस्था एउटै । आफैंले ०२६ को साझा पुरस्कारसमेत दिएको अत्यन्त चर्चित र लोकपि्रय ‘घुमेमाअमा’माथि आफैं यहाँसम्मको चोरी र लापरबाही ?

नेपाली भाषा र साहित्यको सबैभन्दा स्तरीय र मानक मानिएको तीन दसक पुरानो ‘गरिमा’ पत्रिकाको गरिमा कस्तरी उच्चिएला यस्तो लापरबाहीले ? भूपीको सपना चोरिएकै अंकमा वर्णविन्यास सम्बन्धी १४ पृष्ठ लामो लेख छापिएको छ, जुन अहिले विश्वविद्यालयमा मानक मानी पढाइन पनि थालिएको छ । यस्तो संवेदनशील विषय पस्केको पत्रिकाले भूपीको कविता चिन्नु पर्दैन ?

अझै चर्चा गरौं, गरिमाकै । ०६७ असार महिनाको ‘गरिमा’मा कमला रिसाल ‘ज्योति’का नाममा प्रकाशित ‘नेपालका क्षेत्रीय भाषिका’ नामक लेख प्रा.मोहनराज शर्मा र डा.खगेन्द्रप्रसाद लुइँटेलको संयुक्त लेखनीमा प्रकाशित ‘आधुनिक भाषाविज्ञान’ पुस्तकमा पढ्न सकिन्छ । विद्यार्थी पुस्तक भण्डारद्वारा ०६० मा प्रकाशित उक्त पुस्तकको पृष्ठ २१ देखि २९ सम्मको पाठ्यांश साभार गरी छापेकी छन्, लेखिकाले आफ्नो नाममा । यी लेखिका गजल संग्रहसमेत प्रकाशन गरिसकेकी गजलकार हुन् र भीमनिधि तिवारी पुरस्कारसमेत पाएकी नेपालीमा स्नातकोत्तर

‘भाषाविद’ हुन् ।

भाषा विज्ञान हो । सिद्धान्त र विशेषता एकै हुनु विज्ञानको धर्म हो । तसर्थ लेखको सारांश पुस्तकसित मिल्नु कुनै नौलो कुरो होइन । तर ‘गरिमा’को चार पृष्ठे लेखका सबै पंक्ति, उदाहरण, विशेषताक्रम ‘आधुनिक भाषाविज्ञान’सँग हुबहु मिल्छन् । लेखिकाको फट्याइँ यहाँनेर पुष्टि हुन्छ, जहाँ ‘सन्दर्भ सामग्री’ भनेर तीन कृतिको नाम उल्लेख छ । तर जुन पुस्तकबाट साभार गरेकी हन्, त्यस कृति र कृतिकारको नाम कहींकतै उल्लेख छैन । किन त ? सुरुमा त लेखिकाले त्यो किताब छ भन्ने आफूलाई थाहा नभएको बताइन् । पछि पढ्न त पढेको तर धेरै नपढेकाले सन्दर्भ सामग्री उल्लेख नगरेको भन्दै पानीमाथिको ओभानो बन्न खोजिन् र भनिन्- ‘खै कसरी मिल्यो मलाई थाहा

भएन । तर मैले चारेको होइन । मिल्न गएको भए त्यो संयोगमात्रै हो ।’

जाँचमा चिट चोर्नेले आफ्नो उत्तरसँगै ‘बाँकी पछाडि छ’ पनि सारेको थियो रे । त्यस्तै यी कमलाले चोर्न त चोरिन्, तर असाध्यै त्रुटिपूर्ण र भ्रष्ट । ‘विपर्यास’ लेख्नुपर्नेमा ‘विपर्याप्त’, ‘नि’ प्रत्यय लेख्नुपर्नेमा ‘नी, ‘नाके स्वर’ हुनुपर्नेमा ‘नाकेश्वर’, ‘उनेर्काे’ हुनुपर्नेमा ‘उर्नेको’ -पृ. ३२), ‘छोरेट्टी’ हुनुपर्नेमा ‘छेरेट्टी’, ‘भएर’लाई बुझाउने शब्द ‘होइबर’ हुनुपर्नेमा ‘होइनबर’, ‘अम्मक’ बोलिने शब्द ‘अम्बा’ हुनुपर्नेमा ‘अम्बाको’, ‘ढोका’लाई बुझाउने शब्द ‘घलो’ हुनुपर्नेमा ‘धलो’, ‘स्वास्नीमान्छे’लाई बुझाउने शब्द ‘बैकिनी’ हुनुपर्नेमा ‘बैकनी’ -पृ. ३३), ‘हल्ला’ हुनुपर्नेमा ‘हब्ला’, ‘गरेर’लाई बुझाउने शब्द ‘अरिबर’ हुनुपर्नेमा ‘अखिर’, ‘खरायो’लाई बुझाउने

शब्द ‘ससो’ हुनुपर्नेमा ‘समो’, ‘अस्ति’लाई बुझाउने शब्द ‘पोर’ हुनुपर्नेमा ‘पोक’ -पृ. ३४) । नेपाली वर्णविन्यासको मानक र आधिकारिक मानिएको पत्रिकामा नेपाली भाषाको यो हदसम्मको भ्रष्टीकरण, त्यो पनि भाषा विषयक लेखमा ?

जब लेखिकाले साभार पुस्तकमा भएका केही वाक्यलाई थोरै यताउता पारिन्, ती सबै त्रुटिपूर्ण । उदाहरणका लागि लगातारका यी दुई वाक्य हेरौं न । ‘यस भाषिकाको प्रयोग कणर्ाली अञ्चलमा गरिन्छ । डोल्पा जिल्लाको केही भूभागमा पनि यही भाषिकाको प्रयोग गरिन्छ ।’ -भाषाविदका अनुसार डोल्पा कणर्ाली होइन । गरिन्छ-गरिन्छको प्रयोग पनि असुहाउँदिलो

छ ।) ‘क्रियापदमा ‘न’को प्रयोगमा ‘ण’ प्रयोग भएको पाइन्छ ।’ -हेर्नस्त, कस्तो छ यो वाक्य ?)

बारम्बार चोरीका समाचार किन आइरहन्छन् त ? भर्खरै आफंैसमेत चोरिएका प्रतिलिपि अधिकार संरक्षण समाजका अध्यक्ष कवि कालीप्रसाद रिजाल भन्छन्, ‘सबैभन्दा पैला चोर्नेकै बदमासी । अनि चोरिएको रचना छाप्नेहरूको । यसरी चोरिँदा लेखकको नैतिक र आर्थिक अधिकार हनन हुन्छ ।’ पत्रकार रमण घिमिरेको भने यसमा अलि फरक धारणा छ । उनी भन्छन्, ‘सानोतिनो पत्रिका हो र गरिमा ? नेपाली भाषा र साहित्यको भरपर्दाे मानक मानिएको पत्रिकाका सम्पादकले भूपीकै सिर्जना नचिन्नु लाजमर्दाे र निन्दनीय कुरो हो ।’ प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका प्रमुख वीरबहादुर राई भन्छन्, ‘यसबारे उजुरी परेमा स्रष्टाको न्यायका लागि हाम्रो कार्यालयले पहल थाल्छ ।’

From kantipur Daily 2067/05/27

5 प्रतिक्रिया

  1. Uddhav Silwal says:

    घीन र लाज भन्ने कुरो हराएछ मान्छेभित्रबाट !! यस्ता कथित कवी वा साहित्यकारहरुलाई दण्डित गर्ने कुनै संयन्त्रको बिकास नभएसम्म समस्याको समाधान हुन्न !

    ‘मैले लेखेको कुरा हुबहु मिल्न गएछ, त्यो संजोग मात्र हो !’ ….. थुक्क !! एउटा वाक्य हो र ? स…िङ्गो लेख हुबहु मिल्नु के संजोग मात्र हो ????

  2. Suresh नाचीज says:

    त्यस्तो शसक्त लेख्नेलाई त मदनै पुरस्कार दिन पाए पो सम्मानको अर्थ रहन्थ्यो र फेरि साहित्यको नोबेलै पुरस्कारको नोमिनेसनमा सरकारैले पहल गरिदिए
    धन्य चेतना!!!!!
    जय होस भाँडभैलोको!

  3. Sushila Sharma says:

    के गर्नु बिचरीको कत्रो हलचल छ शहरमा उदयमान गजलकार अनी ससक्त नारी युबा हस्ताक्षेर भनेर ! अनौठो कुरा त यो छ के बिचरीले भीमनिधि तिवारी पुरस्कार पाउने बेला मेरो मोबाइलमा म्यासेज आको थियो, साहित्यमा गरेको कदर स्वरु उनले पुरस्कार पाउदै छिन बधाई दिनु भनेर !हा हा, म पनि के कम, यसरी म्यासेज पठाउनु भन्दा टि भि च्यानलमा बिज्ञापन दिन पाए हुन्थियो नि भन्देकी थिएँ बिचारा ती साहित्यकार भनाउदा पनि भेट्दा मुन्टो बटारेर हिड्छन !

  4. - मेदिनीप्रसाद शर्मा, says:

    नहोस् सृजनाको चोरी

    शनिबार प्रकाशित विमल आरोहीको लेख ‘किन भइरहन्छ सिर्जनामा फट्याइँ ? राम्रो लाग्यो । उनले सुभद्रा भट्टराई, कमला रिसाल ‘ज्योति’ र साझा प्रकाशनका केही सरोकारवालाले गरेका कवि भूपीका शब्दमा ‘घिनलाग्दा’ साहित्यकारहरू र सृजनाको चोरीको चर्चा गरेका छन् । यस सन्दर्भमा हालै नवीन प्रकाशनले साझा प्रकाशनको ‘सबैको नेपाली’ लाई प्रा. मोहनराज शर्मा र कृष्णविलास पौडेलको सम्पादनमा ‘अनिवार्य नेपाली’ नामले चोरी छापेको मुद्दा प्रकाशमा आएपछि नवीन प्रकाशनले तिनका प्रति नष्ट गर्ने सम्झौता गरेको छ । कान्तिपुरमा २०६६ मंसिर १३ गते प्रकाशित ‘साहित्यमा प्रभाव, चोरी र डकैती’ लेखमा पुराना कवि लोकनाथ पोख्रेल, चव|mपाणि चालिसे, अनङ्गनाथ पौडेल, साम्वभक्त शर्मा सुवेदी आदिका निकै अघि प्रकाशित मौलिक पुस्तकहरूका अक्षरशः चोरी भएको भनेर प्रमाणित गरेको कुराको आजसम्म खण्डन आएको छैन । सम्बन्धितहरूले भूलसुधार नगरेको कुरा पनि

    विचारणीय छ ।

  5. डा. समुन्द्र बस्नेत says:

    “किन भइरहन्छ सिर्जनामा फट्याइ ?” शिर्षकको बिमल आरोहीको लेख पढ्दा निकै दुखद अनुभूती भयो । मुलुक राजनैतिक संकटकालमा हिडिरहेको बखतमा केही भनाउँदाहरु भने सर्जकको सिर्जनाहरु चोरी गर्न तर्फ लागि परेको समाचारहरु एकपछि अर्को आइरहेका छन् । भिमनिधि तिवारी पुरस्कार समेत प्राप्त गरेकी कमला रिसाल ज्योतीको कर्तुत, गरिमा मासिकको लार्पबाही लेखभित्र पढदा, पुरस्कार र सम्मानको मोहजालमा फसेका असङ्ख्य सर्जक प्रति बितृष्णा जाग्यो । वास्तविक सर्जकलाई ओझेल पार्दै आफूले लगन, मेहेनत र परिश्रम गर्दै नगरी साहित्यकार हुँ भन्दै पुरस्कार कुम्ल्याउन पल्केका नक्कली सर्जकहरुका कारण कालीप्रसाद, भुपि प्रा.मोहनराज शर्मा नामक पात्रहरु मात्र हैन अन्य कैयौ सर्जकको सिर्जनाहरु अझ चोरिन सक्छन् तसर्थ पनि नक्कली सर्जकहरुलाई कठघरामा उभ्याइनु पर्छ । भाषा, साहित्य र कला संस्कृतिको तर्फ कलम चलाउने सर्जकको उचित सम्मान हुनु पर्छ ।
    प्रतिलिपि अधिकारको कार्यालय, पत्रपत्रिकाको प्रकाशन संस्थाहरु, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत सम्बन्धित निकायहरुले नक्कली सर्जक भनाउँदाहरु माथि उचित कारवाही गरियोस् ।

    त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा

प्रतिक्रिया छाड्नुस्