दशैको खोजीमा सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

दशैको खोजीमा सुबिसुधा आचार्य

दशैको पूर्वार्धमा काठमाडौ बेस्सरी छ तातेको उकुसमुकुससँग, हिन्दु नेपालीको एक महानचाड दशैले उसिनेको छ सम्पूर्ण नेपालीलाई पसिना छुटाउने गरि । खाद्यसामग्रिको मूल्यभाउले आकास चुमेको हुँदाहुँदै पनि हुनसक्ने अभावको कारण पिरोलिएका छन् उपभोक्ता ।
चहलपहल पहिलाकै तुलनामा नगन्यै मात्रामा हुनथाले पनि हलचल भने हुँदैछ बिस्तारै । मेसोमेलो मिलाउनमा ब्यस्त देखिन्छन् आम नेपाली । भए पनि नभएपनि, रिनपान,जे गरी जसो गरी मनाउनै पर्नै यो दशै गरिवको लागी दशा बनि झुल्कन्छ दैलोमा ।
परापूर्वकाल देखि चल्दै आएको दशै लोकको लागी भनेपनि मनाउनै पर्छ, आर्थिक गरिबीको घट्टोमा पिसिएका मनहरु लामो सुस्केराका साथ यसै भन्दै आएका छन् । यस वर्षको दशै कसरी मनाउने तयारी गरिदैछ ? के साँच्चै सबैले दशै मनाउन्छन् त ? यस्तै प्रश्नको ओइरो मनको पहराबाट खस्दै आफूलाई पुर्न खोजेको बेलामा म निस्किए दशै खोज्न ।
दशैलाई भेट्न, छाम्न, मन ब्याकुल भइरह्यो, सबैको घरमा चियाउने, झुल्कने दशैको रुप हेर्न चाहन्थेँ म, परिचित हुन चाहन्थे म उसँग, यसै सिलसिलामा दशैँ खोज्न निस्किएँ विदाको दिन शनिबार पारेर ।
मलाई थाहा छ यहाँ आउने दशै भिन्ना भिन्नै रुप धारण गरेर आउँछ आमनेपालीको घरमा । हो त्यही रुपको पर्दा उघारेर हेर्न चाहन्थेँ म, मैले देखेको दशै, भोगेको दशै, भेटेको दशैमा कति भिन्नता हुन्छ छुट्टयाउने प्यासले आच्छु आच्छु बनाउँछ मलाई ।
बसन्तपुरको डबलीमा झुत्रो कछाड, कुम खुस्केको कमीज र झुम्कना निस्केको टोपीमा नाइलनको नाम्लो सिरान हालेर पल्टदै ठुटो चुरोटको धुवामा जीन्दगी बुनिरहेका एक व्यक्तिलाई सोध्न पुगेँ मैले पहिलो दशैँ ।
बिरबहादर रैछ उसको नाम । उसँगै बसेका साथीहरुले बिरे भनेर जिस्क्याउँदै थिए मैले उसको नाम सोधिरहेको बेलामा । आठदश जनाको समूहमा पनि मैले बिरबहादुर यानेकी बिरेलाई नै चुने दशै सोध्नको लागी कारण अरुभन्दा उसको उमेरले केही बसन्त बढीनै चपाएको थियो भने आङले बढीनै भोटो फटाएको ।
सुरुमा त कुरा गर्न चाहेन बिरेले, ऊ तामाङ्ग परिवारको, बोलाइले त्यही सङ्केत ग¥यो मलाई । “क्यान सोध्छ तुँ हाम्रो दाशै, क्या गर्छस् तुइले सुनेर ?” हो त हुन पनि म जस्ता धेरै मनहरु उसको गरिबीलाई चिमोट्न पटकपटक आउँदा रैछन् यहि बुझेँ उसको भनाइबाट ।
मसँग उसको सवालको जवाफ थिएन, तैपनि कुन्नि किन मन अमिलो बनाइ भन्दै जान्छ । नभन्दै कोहीकोही त प्रशस्त पैसा आउँछ खाने बस्ने ब्यवस्थासम्म गर्न सकिने प्रलोभनमा डकुमेन्ट्रीसम्म बनाउँदा रहेछन् । तर अन्त्यमा एक प्याकेट चुरोटसम्म दिएनन् उसको गुनासो थियो । मलाई थुक्न मन लाग्यो, आफ्नै परिवारको गरिबिको खिल्ली उडाउँदै डकुमेन्ट्री बनाएर विदेशीलाई बेची पैसा कमाउने पढेलेखेका मुर्खहरु देख्दा ।
जसको दुःख बेचेर पैसा आयो त्यही पैसा दुख भोग्नेले सुँघ्नसम्म पनि नपाउने वा ! कस्तो अनौठो न्याय । कुरैकुराको सिलसिलामा ऊ बहकिन्थ्यो भावनामा । दशै त ठुलाबडालाई पो आउँछ हामीलाई के को दशै के को तिहार ?
मोटामोटा मान्छे हो ठुलाबडा भनेको मैले बुझ पचाएरै सोधेँ उस्लाई ।
“कुन्न तु, तुलाइ नै थाहा होला, ठुला मोटर चढ्ने, ठुला ठुला घरमा बस्नेहरुलाई पो आउँछ दशै ।” अलिकति रिसाएको पारामा झोक्किदै भन्छ बिरबहादुर ।
“पहिलाको जस्तो काम पाउन्न, आजकल, सबै सामान गाडीमै लान्छ, मुस्किलले दिनको सय दुइसय कमाउँछ मुँ, साँझ बिहान तु राम्रैसँग चुलाउन सक्दैन मुइले कता दशै मान्छ खै ?” अझ उस्लाई त दशैमा काठमाडौ सुनसान र चकमन्न हुने हुँदा कुनै काम पाइन्न र भोकै बस्न पर्ने पिरले पो सताउँदो रैछ ।
मैले हातमा नाम्लो र बोरो च्यापेर काठमाडौका गल्ती र चोकमा हिड्ने सबै बिरबहादुरहरुको दशै रहर र अभावमा बितेको देखेँ ।
पीडा सबैसँग उतिकै छ पीडा सबै भित्र उस्तै, रत्नपार्क अगाडि सफा ट्याम्मोमा बसेर पेसेन्जर कुरिरहेकी सबितालाई चिमोट्न मन लाग्यो मलाई हराएको दशै भेटिन्छ की भन्ने आसमा । पहिला त ग्राहक नै होला भन्ने आसमा मुस्कान पस्किदै ढोका उघारीदिइन् ।
मेरो सवालको ओइरो उनी माथी खसेर च्याप्न थालेपछि अलिकति चिडिएको पारामा उनले पनि बिरबहादुरकै जस्तो भनाइ ओकलिन् – “ठुलाबडा, धनि, महाजनलाई पो दशैँ । हामीलाई त दसा हो दसा । दिनको सात सय ट्याम्पु साहुलाई बुझाउन परि गो, दुईसय देखि साढे तिनसय सम्मको ग्याँस खान्छ यस्ले त्यो पनी आफ्नै भागबाट हाल्नु प¥यो कुनै कुनै दिन त जम्मा सातसय पनि कमाइ हुँदैन । दुइटा बच्चा छन् पढाउनै प¥यो लोग्नेको कुनै भर छैन, छ भन्नु र छैन भन्नु उस्तै हो । गलामा देखाउँदै यतिकै लागी हो लोग्ने । खाद्यान्न ल्याएको पसले यही दशैको मुख पारेर बन्द गर्न खोज्छ खाता, बच्चाको स्कुलले पनि टिचरलाई तलब दिने बहानामा दुई महिना अगाडि सम्मको फिस खिचेर पठाउँछ बिल, पहिलादेखी खापिएर बसेको र अझै दुइ चार महिनाको पनि भाडा चाहिन्छ है दिनको एकपटक चिमोट्न आइपुग्छे घरपेटी बुढी । कपडाको डिमाण्ड गर्छन् बच्चा एकातिर । आफ्नो कमाइको हातल यस्तो छ दशैको बेलामा त मारामार कमाइ हुन्छ अलि बढाउनु पर्दा पैसा, ट्याम्पु साहुँ ¥याल चुहाउँछ अर्कोतिर । सहकारीले क्रणको सुबिधा भटाभट दिएपछि अधिकांश मान्छे कार र बाइक चढने भकाछन् उसैपनि प्यासेन्जर भेट्ने गारो । बल्ल बल्ल ट्रिप भरिए पनि सुन्धाराबाट चाबहिल पुग्न दुइतिन घण्टा लाग्न सक्छ जामको कारण, जतापनि जहिलेसुकै पनि जामैजाम । कुनैकुनै दिनमा त तीनचार ट्रिप भन्दा बढी गर्नै भ्याइन्न । अनि कसरी मनाउनु दशै ?” निरासाका साथमा आफ्नो भनाइ ओकलिन् उनले पनि ।
“ल ल हजुर यता आउनुस् यता मैतिदेबी, गौशाला, चाबेल ।” भन्दै ट्याम्पुको झ्यालबाट टाउको निकालेर कराउने सबै सबिताहरुको दशैँ यस्तै होला अभाव, समस्या, दबावले जेलेको भन्ने सोचाइमा पिलपिल भएँ म ।
त्यसो त चाबेल गुम्बाको पछाडी मकै पोलेर बस्ने फुलमायाको लागी पनी धेरै वर्षदेखि दशै आफूलाई भेट्न नआएको छुट्टै गुनासो छ । द्धन्दको कालरात्री समयमा लोग्ने बेपत्ता भएपछिका समयमा कुनै चाडबाड आफ्नो लागी नआएको कुरा भक्कानिदै सुनाइन् उनले यो पङ्तिकारलाई । उनको बोलाइमा नै कणार्ली सुसाएको स्पष्ट सुन्न सकेँ मैले । त्यसो त गोपीकृष्ण हल अगाडि पुलको छेउमा नाङ्लोमा चुरोट, सुपारी, सुर्ती चक्लेट, दुर्खा बेचेरै प्राण धान्दै आएका वृद चक्रबहादुरको पनि दशँैको बिषयमा त्यस्तै मुटु चिमोट्ने कहानी छ ।
चारवर्ष अगाडि घरखेत बन्दकी राखेर छोरो कतार उडेपछि सुरु भएको साढेँ सातको दशा छोरो गएको तिन महिनामै मृत्यु भको खवरले भुकम्प गएको बताउँछन् । आफू गएको कम्पनी छोडेर कसैको लहलहैमा पैसा धेरै कमाउने लालसामा भागेछ त्यसैले खवरसम्म आयो न छोराको लास आयो न त कुनै रकम नै, आफुले लगाएको दौराको छेउले आँसु पुच्छ्दै भाबबिहोलतामा दशैको कुरा उठाउँदा भनेका थिए, नानी मेरो दशैँ छोरासँग कतार गयो अव फर्कदैन मेरो लागी ।
यात्राका क्रममा यहाँ सम्म आइपुग्दा भेटिएका पात्रहरु बिरे, सबिता, फुलमाया र चक्रेको कहानीले यति चिथ¥यो, कोप¥यो र चौटा लाम्टा बनायो कि मलाई त्यहाँ भन्दा अगाडि दशँै खोज्न जानै सकिन । हुन त दशै कहाँ हराएको थियो र ?
भन्नेहरु भन्छन् द्धन्दको समयमा दशैँ दशैँ जसरी मनाउन नपाए पनि यो यी पछाडीका समयमा दशै गजवले मनाउन पाएका छन् तर म यो भनाइमा पटक्कै सहमती छैन, त्यो समय गुज्रिएर गएपनि त्यस्ले छोडेका काला दाग र तुसहरुले अहिले पनि हाम्रा चाडपर्वहरु बिथोलीएका छन् ।
एकातिर यसरी अभाव, पीडा, हेपाइ, थिचाइ र समस्यामा झेलिदै ब्यहोर्नु परेको छ दशैलाई भनेँ अर्कोतिर कस्को भन्दा ठुलो खसी किन्ने, कस्को भन्दा राम्रो कपडा हाल्ने र कस्को भन्दा नयाँ डिजाइन्को गहना खरिद गर्ने होडबाजीमा अर्को समाजलाई ग्रसित बनाएको छ । आफूभन्दा बढी हैसियतले चाड मनाउँला र गाउँ समाजमा आफ्नो उचालिदै आएको आडम्बरको नाक थेप्चिएला भन्ने डर त्रासले गाजेको छ अर्कोतिर ।
दशँै यसरी दुई वर्गका लागी भिन्नभिन्नै चिन्ता बोकाएर भित्रिएको भेटेँ मैले । त्यसो त दशैको मुखैमा आएर बढने थालेको चोरी, लुटपाटले पनी हुनेखाने भनाउँदाको गीदी चाटेर लिदी बनाएको छ । त्यसैले पनि होला बुढापाका भन्ने गर्थे हुनेलाई सय शोक नहुनेलाई एकै सोख ।
चिन्ता, शोक भन्नेकुरा अभावमा पनि र भरिपूर्णतामा पनि लपेटिदो रैछ मान्छेसँग सधैँसधँै । शान्ति, अमनचैन भन्ने कुरा कहीँ कतैपनि नहुँदो रैछ । दशैँ खोज्न हिँडेको म मनमा असङ्ख्य प्रश्न प्रतिप्रश्न बटुलेर फर्किएँ क्यून्टेलको मन बनाउँदै । थाहा पाएँ दशै त कसैलाई आउँदै आउँदो रहेनछ ।

1 प्रतिक्रिया

  1. Ganesh bhandari says:

    दशै त कोइ-कसैको लागि दशा बन्दो रहे६..

प्रतिक्रिया छाड्नुस्