होटलकी केटी (कथा) : रवि रोषी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

होटलकी केटी (कथा) : रवि रोषी

  आज पनि विगतका क्षणलाई सम्झदा आगतमा दुखद पिडाले कोपरिरहन्छ । निलमसंग छुट्टिएर दुई ध्रुव भएर विताएको छ /छ वर्षका तित्तताका स्मृतिले आजकल पनि झस्काईरहन्छ । त्यस बखत भर्खर १५ बसन्तमा कदम राखेकी निलम थापा सिन्धुपाल्चोक जिल्ला जलविरे गा.वि.स. बाट जनयिताको देहवसान पछि कान्छी आमाको नित्य प्रातडना सहन नसकी काठमाण्डौं आएकी थिईन् । जन्मदिने आफ्नो वुवाले समेत उनीमाथी जगन्नयिन्ता दायित्व ननिभाएको कारणले जलविरेबाट विस्थापित जीवन विताउनु परेको कटु यथार्थता म समक्ष पोख्दै रोएकी थिईन् । त्यसक्षण उनको आर्तनादबाट म द्रविभूत हुन पुगें । उनलाई सहानुभूतिका शव्दहरु व्यक्त गर्दै सुख दुखमा साथ दिने प्रतिवद्धता व्यक्त गर्दै हामी एउटै होटलमा काम गर्दै आयौं । मैले मनमनै सोच्ने गर्थे “त्यति राम्री किशोरी यदि उनको आमाको देहवसान नभईदिएको भए आज उनी एक रेष्टुरेन्टमा वेट्रेस काम गर्नु पर्ने थिएन । उनको आमा बुबाले एक इज्जतदार कुलीन परिवारमा आँगन पोलेर अन्माएर पठाईदिने थिए होलान् । नौमति बाजा संगसंगै विछोडका क्षणलाई विरहमा अलाप्दै जाने थिईन् होली ।” उनी प्रत्येक रक्स्याहा र मतालहरुको अश्लील “अफर” र यौन पिपासुहरुको यौनतृष्णा मेटाईदिए वापत उनको कुमारीत्वको अस्मिताको मूल्य दिने जस्ता अपाच्य दुष्वचन र दुव्र्यवहार सुन्नु पर्ने थिएन । होटलमा काम गर्दाका क्षणमा सुन्न र भोग्नु परेका यस्ता क्षणलाई सकिनसकी शमन गरेर बाँच्नु पर्दाको वाध्यता देख्दा उनी पारिवारिक मानसिक यातनाले कति पिडित रहिछन् भन्ने वास्तविकता मैले सहजै अड्कल काटेको थिएँ ।पारिवारीक तथा मानसिक आक्रमणले आक्रान्तित अपरिपक्व उमेरकी निलम गम्भीर मुद्रामा नै रहेको बढि पाउँथें । बनावटी हाँसो लिएर ग्राहकका सामु उपस्थित हुनु उनको बाध्यता थियो । उनको चढदै गएको पुष्पित र पल्लवित बैंशले उनमा निखार ल्याउँदै गरेको मैले स्पष्टता पाईरहेको थिएँ । वैंसले परिष्कृत गराएको उनको लालित्यवान कौमार्यताले मलाई उकुसमुकुस बनाएर चिमोट्ने र निमोठने गरिरहयो । उनको मध्यम कद विस्फारित लोचन र म प्रति प्रस्तुत हुने मृदुमुस्ूकान सहितको भद्र चन्चलताले म उनीसंग नजानिदो किसिमले आकर्षित हुन थालिसकेको थिएँ । एकदिन मेरो मनमा उकुसमुकुस भएर मडारिरहेको मनको कुटुरो उनी समक्ष राख्ने जमर्को गरेँ र आफ्नो मनको उद्वेगलाई पस्किदिएँ । मेरो वैवाहिक प्रस्तावले उनमा भुचाल पैदा भएको सहजै अनुमान गरिरहेको थिएँ । मेरो प्रस्तावले उनी अवोध वालिका झें बेसरी रोइरहिन् । म सशंकित भएँ र मेरो मनमा आशंकाको वादल मडारिन थाल्यो । यदि यो कुरा रेष्टुरेष्टको मालिकले थाहा पाएमा मैले सोचेको सुखद प्रणय र विवाह बन्धनमा बाँधिने दिवा स्वप्न स्खलित र विखण्डित भै कामबाट समेत निकालिनु पर्ने जस्ता कल्पनाले अतिग्रस्त बनायो । रोदनको साम्यता पश्चात उनी व्हारव्हारी बोल्न थालिन् “मेरो कारणबाट तपाई किन समाजबाट उपेक्षित भएर बाँच्न चाहनु हुन्छ ? हामी होटलमा काम गर्ने केटी त मदिराको मातले उन्मुक्त भएका जँड्याहाको बैंसको उन्माद विसाउने चौतारी हौं । क्षणिक उत्तेजनाको फोहर फाल्ने “कन्टेनर” हौं । संकीर्ण सोच भएको जमातमा मैले त उपेक्षा सहन सक्ने क्षमता बटुलिसकेकी छु । तपाईं किन यो समाजले कलंकितको उपमाले विभूषित गरिएकी होटेलमा काम गर्ने केटीसंग विवाह गर्न चाहनहुन्छ ? आफ्नो घरबाट त अपहेलित र तिरस्कृत भएर बाँच्नु परेको मेरो नारकीय कहालिलाग्दो खाटा बसिसकेको घाउ तपाईको घरमा गएर एक होटलमा काम गरेकी केटीसंग विवाह गरेको वास्तविकता थाहा पाईसकेपछि त्यो तिरस्कार र अपमान म शमन गर्न सक्दिन, विन्ति छ मेरो कारणबाट कलंकित भएको तपाईलाई देख्न चाहन्न ।” मैले उनलाई शान्त्वना तथा ढाडस दिने क्रममा भनें “तिमी मेरो लागि निष्कलंकित तथा सदावहार बग्ने गंगा जस्तै छ्यौ । पारिवारिक प्रतिरोधको बाबजुद पनि म तिम्रो साथ छोड्न सक्दिन ।”समय अनवरत सुलुलु चिप्लँदै अनवरतता दिँदै गयो । हामीले मन्दिरमा गई भगवानलाई साक्षी राखी श्रीमान श्रीमतीमा परिणत भएको स्वघोषणा ग¥यौँ । उनको सिउँदो सजाउँदा उनको निर्दोष लोभलाग्दा आँखा आँसुमय भएको थियो । निलम त्यसक्षण मलाई गम्लङ्ग अँगालो मारेर बेसरी रोएकी थिईन् र भनेकी थिईन् “म जीवनमा धेरै रोएँ, नुनमय आँशु धेरै पिएँ । आज बाट मलाई कहिल्यै पनि रुवाउने छैन भनेर कसम खानुहोस ल ?” भनेर बचनबद्धता गराएकी थिईन् । जव मैले निलमलाई आफ्नो घरमा लिएर गएँ र एकै रेष्टुरेष्टमा काम गर्ने केटीसंग विहे गरेको जानकारी गराएँ । तत्पश्चात घरमा गृह कलह प्रारम्भ हुन थाल्यो । मैले सम्झाउने हरेक प्रयास गरें तर बुवा आमाको असहमतिका कारण म निर्लज्जताकासाथ घर छोड्नु पर्ने भयो । बुबा आमाको भनाई अनुसार कि त मैले घर छोडनुपर्ने कि निलम छोड्ने उर्दी आयो । संगसंगै मर्ने संगसंगै बाँच्ने कसम खाएर बैवाहिक बन्धनमा बाँधिएको प्रतिज्ञालाई मैले भुसुक्क विर्सिएर निलमलाई परित्याग गरेंर धोखा दिन चाहिन र पुन म नीलमलाई लिएर काठमाण्डौ नै फर्किएँ ।ं हामी काठमाण्डौँ फर्किएर रेष्टुरेष्टमै काम गर्न थाल्यौं ।निलम गर्भवती भएको कुरा एकदिन मलाई लाज मान्दै बताईन् । म मा एक बाबु बन्ने गर्वले निलमलाई आफ्नो बाहुपासमा बाँधी अनवरत चुम्वनकासाथ मायाँका न्यौछावरहरु वर्साइरहें । दिनानुदिन महिनाहरु जति पार हुदै गइरहेको थियो म मा भय र उत्सुकता पनि निलमको पेटभित्र बढ्दै गएको नवजातसंगै बढदै गईरहेको थियो । कामगर्ने सिलसिलामा दिनहु बढदै गएको उनको पेटले कामगर्न उनलाई अप्ठ्यारो पार्दै गईरहेको थियो । मैले निलमलाई “यथाशक्य आरामको जरुरत छ काम छोडिदेउ” भनि आग्रह गरें । उनले असहमति प्रकट गर्दै अरु एक महिना काम गर्ने र संकलित टिप्स र तलवले दुई चार महिना बसेर खानलाई अरु सुविधा हुने जिकिर गरिन् । म आफू पनि न्यून तलव पाउने कारिन्दा भएको कारणले चुपचाप मौनता साँधेर सहमति जनाएँ । टिप्सको प्रलोभनमा उनी ग्राहकसंग नजिकिएर बातचित गर्ने तथा ग्राहकरुले उनलाई जिस्काउँदा तथा उनको कपाल र पिठ्युँ सहलाउँदा पनि विरोध नगरिकन बस्ने क्रियाकलापले मलाई ईष्र्या जागृत हुन थाल्यो । एकाएक उनमा आएको आकस्मिक परिवर्तित स्वभावले म भित्रभित्रै आन्दोलित हुन थालें । गर्भाबस्थामा मैले उनलाई बढी मायाँ दिनुको अलावा उनको भावनालाई नबुझी खनिईरहें । त्यो त उनको वाध्यता र कला थियो, ग्राहकसंग बक्सिस प्राप्तिको लागि गरिएको एक अभिनय थियो । पुरुष र पति हुनुको अभिमानले मेरा उदारबादी सोचहरु निस्तेज र क्षीण हँुदै जान थाल्यो । म गालिमा मात्र सिमित रहिन । उनको गालामा अक्कल झुक्कल थप्पड हान्न पनि पोख्त हुँदै गएको थिएँ । ममताले हातका औंलाहरु दौडने लोभलाग्दो बावियो जस्तो लामो कपाललाई जगल्टाका संज्ञा दिँदै भुतल्न सक्ने “बहादुर” पनि बन्दै गएको थिएँ । उनको पेट दिनानुदिन जति बढदै जाँदै थियो हाम्रो वैमनस्यताको विष लहरो पनि त्यत्तिकै बढ्दै र झाङ्गिदै गईरहेको थियो । मेरो ज्यादतिले निलमको सहनसिलताको सीमा नाघे पछि रुँदै भनेकी थिईन् “तपाईलाई भन्दा खेरी मैले सर्वस्व त्यागी तपाईं प्रति समर्पित भएँ, विवाह गर्न राजि भएँ, ऐले दोजीया भएको अवस्थामा तपाईंको मायाँ र सहयोग पाउनु कता हो कता अझ मलाई पिट्ने र नानाथरी लान्छना लगाई तुच्छ व्यवहार गर्नुहुन्छ । आफ्नो घरको अंश खान पाउने जन्मसिद्ध अधिकारलाई त लिन नसक्ने लाछिले कस्तो मायाँ दिएर यो पेटभित्रको बच्चालाई र मलाई पाल्न सक्नुहुन्छ ? मलाई स्वतन्त्र भएर काम गर्न दिनुहोस । म तपाईको दासी होईन ।” रोषता प्रकट गर्दै ओकलेका उनको यिनै अन्तिम वाक्यले मलाई नराम्रो झट्का पु¥यायो । फलस्वरुप सुमधुरता र निकटता हुँदै जानुपर्नेमा उनी र म मा कटुता र दुरताको दरार गहिरिँदै गयो । हामी एउटै घरको छतमुनि बस्न नसक्ने अवस्थामा पुग्यौं । परिणामतः हामीहरुको मौखिक डिभोर्स भयो र म निलमलाई काठमाण्डौंमा नै छोडी आफ्नो घरतर्फ ग¥हौ कदम लिएर हानिएँ ।छ वर्ष पश्चात मलाई निलमको भन्दा पनि हाम्रो प्रेमको प्रतिफल स्वरुप जन्मिएको बच्चा के भयो होला, छोरा भयो कि छोरी भयो होला ? कस्ले न्वारान् गरीदिए होलान् ? यस्तै यावत कुराहरुले मलाई नराम्रो संग झक्झकाईरह्यो । अवोध जन्मजातको सम्झनाले गर्दा निलमको सहनसिलता प्रति तारिफ गर्दै सहानुभूति जागृत हुन थाल्यो । “होटलमा काम गर्ने केटी न ठहरिईस् स्वभावलाई परिवर्तन गर्न कहाँ चाहन्छस् र ?” यि तुच्छ शव्द त्यस वेला कसरी चिप्लिए, नीलम संग छुट्टिएपछि धेरै नै ग्लानिबोध हुन थाल्यो । आवेशमा मैले गरेको गल्तिले मलाई भत्भति पोल्न थाल्यो र मैले नीलमलाई अपनाउने आत्मनिर्णय गरेँ । बुबाको देहवसान भैसकेको र आमाले मेरो रोजाईलाई अस्विकार गर्न सक्नु हुन्न भन्ने सोचेर म निलमलाई लिन काठमाण्डौं आएँ । निलमले त्यो होटल पहिल्यै नै छोडिसकेको र उनी सरेको स्थान तथा घरको ठेगाना लिएर म सोध्दै खोज्दै पुगेँ । कम्पित मेरा कदम सकि नसकी घिसार्दै मनमा अनेकौ तर्कना खेलाउँदै म अघि बढदै गएँ । ”ओहो मैले त निलम र हामी द्धयवीचको निशानीको संरक्षण र दायित्व निभाउनु पर्छ नि । नत्र त्यो अवोध वालिकाको श्रापित पीडा अनन्तसम्म भोग्नुपर्छ ।” विगतका क्षणमा आलिङ्गनमा बाँधिएर प्रेमप्रलाप विनियम गरेको अतितको क्षण सम्झँदा मेरो चक्षु श्रावित हुन थाल्यो ।नयाँ वानेश्वरको व्यवस्थित रुपमा खोलिएको हार लाएर थापिएका तरकारी पसलका पंक्तिबद्ध लाममा मेरो आँखाहरु चाहार्न थाल्यो । अनायास मेरो र निलमको आँखा एक हुन पुग्यो त्यहाँ । मेरो चेहरामा गाम्भिर्य भावमुद्रा सिर्जित भएको महसुस भएको थियो भने उनमा एक दृढ आत्मविश्वास । मेरो आँखा एक्कासि छो्री खोज्नलाई हतारिन थाल्यो र सोध्न पुगिहालें “छोरी खोई त निलम ?” म उत्तरको प्रतिक्षामा व्यग्र भएर बसीरहेको थिएँ भने नीलमले मेरो प्रश्नको वेवास्ता गर्दै ग्राहकहरुलाई तरकारी जोखेर दिने र पैसा लिने सिलसिलामा नै आफुलाई व्यस्त बनाईरहिन् । ममा पुनः छोरी खोइ त नीलम ? भनेर प्रश्न गर्ने साहस विलय हुन पुग्यो । अलि पर वच्चाहरुको वालक्रिडामा निमग्न खेलिरहेको हुलमा आँखा हानियो, म बाल्यकालको बालगीतमा रमाईरहेका बालबालिकाहरुको थुप्रोतर्र्फ गएँ । सवै वालवालिकाहरु एक अर्काका हात समाउँदै वालगीतमा निमग्न थिए । तिनै बालगीत मैले पनि आफ्नो शैशवकालमा मुखबाट कति उरालेको थिएँ । आफ्नो शैसवकालको स्मृतिले मलाई झन् रोउँ रोउँ बनाई रहेको थियो । सबै साथी संगीहरुको हस्तवन्धनको विच घेरामा बन्धित् नयाँ चेहरामा अतिकति अपनत्व पाएँ । शुक्ल पूर्णिमाको जुनजस्ती वाटुलो मोहडा, निलमको जस्तै सुन्दर गोरोवर्ण, गुच्चाजस्ता गोलागोला आँखा, पुतलीजस्तै फ¥याकफुरुक का साथ बालसुलभता र बालचन्चलता प्रस्तुत गर्दै बालक्रिडाको आनन्ददायी क्रियाकलापमा खेलिरहेकी नै मेरी छोरी हो भन्ने अड्कल काटेर बोलाएँ । मेरो बोलावट र इशारा बुझेपछि उनी निर्भयताका साथ मेरो सामु ठिङ्ग उभिईन् । मैले प्रश्न राखें “तिम्रो नाम के हो नानु ?” “मायाँ ।” “तिम्रो नाम कसले राखिदिएको नि ? किन मायाँ नै राखेको नि ?” “मम्मीले, हाम्रो बुबा हुनुहुन्न रे, अनि बुबाले दिने मायाँ पनि मम्मीले नै दिने गर्नु भएकोले मेरो नाम मायाँ राखेको रे ।” छोरीको गम्भीर उत्तरले म झन्झन् गलित हुन थालेको महसुस भईरहेको थियो । आफ्नो पैताला मुनिको भू–तल भासिदै गएको भान भईरहेको थियो म आफूलाई सम्हादै छोरीलाई शीरदेखि पाउसम्म नियाली रहें । काठमाण्डौंको चिसो ठिही, ठाउँ ठाउँमा कुँयेत्रो लागेर फाटेका मैला जामा, खालि खुट्टा, घाँटी र हातका पाखुरामा जमेर स्पष्ट देखिएको मयलको काँठ देख्दा म आफूलाई धिक्कारीरहें । निलम र छोरीलाई निरिह, वेसहारा वनाएर कारुणिक, मानसिक तथा आर्थिक दारिद्रयतामा बाँच्न बाध्य बनाउने पापी मै हुँ भनेर भित्रभित्रै भक्कानिएर रोईरहें । अपराधवोधले मेरो ओठ थरथराई रहेको थियो । के थाहा विचरीलाई यस्ता प्रश्न गर्ने र सामान्य वादविवादको कारणले उस्को मम्मीलाई गर्भावस्थामा एक्लै छाडिजाने एक स्वार्र्थी वावु हो भनेर । अन्यमनस्क भावले उनले मलाई नियालेर सोधिन् “तपाईको घर कहाँ हो नि अँकल ?” त्यसपछि अरु कुनै कुरा सुन्ने मेरो सामथ्र्य रहेन । धैर्यताको बाँध टुट्यो र अनायास साउनको वर्षे झरी झैं मेरो आँखाबाट आँसुहरु बर्सिरह्यो । म निरुत्तर तथा किंकर्तव्यविमूढ भएर उभिईरहें । हामी बाबु छोरीको विचमा निलम आईपुगिन् र छ / छ वर्षसम्म विताएको संघर्षमय व्यथाको तिक्तता सबै पोख्न थालिन् “आज तपाईं यहि होटलमा काम गर्ने केटीलाई नै भेटन आएर खाटा बसिसकेको घाउ कोट्याउन आउनु भयो होईन ? के त्यति अक्ष्यम्य अपराध गरेकी थिएँ र मलाई यति ठूलो सजाय को भागी बनाउनु भयो ? यतिका वर्ष तपाईको सहयोग र माया विना मैले कसरी के खाएँ होला ? छोरीलाई के ख्वाए र लगाउन दिएँ होला ? कहिल्यै सम्झना आयो तपार्इंलाई ? कति कठोर हुन सक्दो रहेछ होईन पुरुष हृदय ? तपाईको आँखा अगाडी पवित्र हुन नसकेकी यो होटलकी केटीलाई यतिका वर्षसम्म हामी एउटै भूगोलको दूई पाटो भएर अलग जिवन व्यतित गरी वस्दा तपार्इंको ईष्र्यालु र शंकालु संकीर्ण सोचाईमा कति परपूरुषले वर्वाद पारे होलान् ? कतिले लुछे र थिचे होलान् ? तपाई कल्पना गर्न सक्नुहुन्छ ? म आफु पवित्र छु, पतिव्रता छु र एक पत्नीले निर्वाह गर्नुपर्ने सत्यताको सिमारेखा उलँघन नगरी तपाईं विनाको एक्लो जीवन पनि तपाईंले कोर्नु भएको सिउँदोको गोरेटोमा तपाईकै नाम जपी सिंदुर लगाएर बाँचिरहेकी छु भन्ने कटु यथार्थतालाई पत्याउन सक्नुहुन्छ ? मलाई अपनाउन सक्नुहुन्छ ? यदि छोरीको मात्र मायाले भेटन आउनु भएको भए विन्ति छ अवदेखि कष्ट नगर्नुस् । यो छोरी र म माथि दायित्व निभाउन नसक्ने व्यक्ति पिता र पति हुन सक्दैन । विर्यदान गरेर एक निरीह नारीलाई गर्भिणी बनाई लत्याएर जानेलाई म पिता र पति मान्न तयार छैन ।” उनी आफ्ना छ वर्षसम भोगेका भयावह सर्वकालरात्रिका निरस र पट्यार लाग्दा भोगाई मुख र आँखाबाट संगसंगै पोखिरहिन् । “मैले गरेको गल्तीलाई माफ देउ नीलम, अव आइन्दा यस्तो हुने छैन । विगतका ति तिक्तताका क्षणलाई अव विर्सिदेऊ । तिमी मसंग अव यति नै बेला मेरो घर चितवन जानुपर्छ । हो निलम तिमी अव यति नै बेला म संग घर जानु पर्छ । उफ् ,अपरिपक्व विचलित मेरो शंकालु मनले विगतका २६ वर्ष अघिका घटनाले मलाई आजपनि झस्काईरहन्छ, आज पनि चिथोरिरहन्छ ।

प्रतिक्रिया छाड्नुस्