यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

यी सबै कसरी भयो काका ? : सुबिसुधा आचार्य

पुसको चिसो काठमाडौं उपत्यकालाई हुस्सुले बेहुलीलाई झैं घुम्टो ओढाएको थियो । मानौ शहर प्रत्येक बिहानी नव दुलही बन्दै अन्मिन्छिन् दुलाहा रविको आगमनमा, जब जब रविका कलिला ताता र राता किरणरुपी हातले उनीलाई सुमसुम्याउँछन् तब बेहुली जस्तैनै हुन्छिन् । त्यही बेहुलीको बसाई भित्र केही न्यानो तातो कपडाका साथ म बिहानको मेरो कार्य अनुरूप शिक्षण गर्न क्याम्पस तर्फ लम्कन्छु  । बिहानको सात जति बजेको हुनुपर्छ, सडकमा त्यति चहल पहल थिएन । त्यहाँको दृष्य अवलोकन गर्दा यस्तो लाग्यो अति जरुरी काम नभै मान्छे बाहिर निस्किदैनन् । कलेजको गेटबाट म भित्रिएँ । आफ्ना पाइलाहरु कार्यालय तर्फ मोड्नु अगावै गीता र रन्जिता मिस मेरो प्रतीक्षामा रहेछन् । उनीहरुले बोलाए, मेरा पाइला उनीहरु भए तिरै मोडिए ।  त्यसदिन कलेज बन्द रहेछ कारण बुझ्दा अज्ञात समूहबाट तीन दिन कलेजमा पठन पाठन नगरी बन्द गर्नु पर्ने दवावमूलक पत्र आएको रहेछ । हामी दुःखी भयौं तीस दिनमा पाँच दिन मात्र पढाएर के गर्ने ? हाजिरी कापीमा हाजिर मात्र गरेर तलव बुझ्दैमा हाम्रो काम, कर्तब्य त पूरा हुदैनथ्यो । हाम्रो दियोले हजारौ नयाँ पिडीमा शिक्षाको ज्योति भर्नु थियो । मैले त्यस्तै सोचेकी थिएँ । गीता मिसले आज पशुपति जाउँ भन्नु भयो, मैले पनि त्यसमा समर्थन जनाएँ । म, गीता र रन्जिता मिस पशुपति तिर लम्कियाँै । गाउँमा गुन्द्रुक खाँदे जस्तै, कोचिएर उपत्यकाको माइक्रो बसबाट पशुपति जान गौशालासम्म पुग्यौँ । पशुपतिनाथको दर्शन गरेर फर्कने क्रममा बाटोमा मैलो, थोत्रो कपडा लगाएर पैसा मागी रहेको दुब्लो, ख्याउटे, बृद्ध मान्छेमा ठोकिए मेरा आँखाहरु । एकपटक झस्किएँ, त्यो मान्छे त……….. जस्तो लाग्छ । म नजिकै पुगेँ, आँखा एकनास तिरमिराए । ती मान्छे ठूलाघरे काका अमरनाथ रहेछन् । सोचेँ उस्तै उस्तै मान्छे पनि हुँदो रहेछन् क्यारे । अमरनाथ काका नै पो हो कि ? खै मनले बिश्वास पनि गरिहाल्न सकेन । उहाँ जस्तो ब्यक्ति कसरी यो पाटीमा ! फेरि नजिकै गएर नियालेँ, गालाको सानो रातो कोठिले ती ब्यतिm अमरनाथ काका हुन् भन्ने प्रमाण मिल्यो मलार्ई । नजिकै गएर बोलाएँ, आँखाको पावर कम भएर होला शुरुमा त उहाँले चिन्नु भएन, जब मैले आफ्नो परिचय दिएँ तब बुढाका  आँखाबाट सप्तकोशीनै बर्षियो, चाउरी परेको गालाको खोबिल्टा हुँदै काखैमा तप्प तप्प खस्न थाले आँसुका थोपाहरु ।
“काका, तपाई यहाँ यो अवस्थामा कसरी आउनु भो ? दाजुहरु खै कहाँ हुनुहुन्छ ? अनि काकी कहाँ हुनुहुन्छ त ? मेरो धारावाहिक प्रश्नले बुढा झन मर्माहत भए, घुँडामा टाउको राख्दै घँुक्क घँुक्क रुन थाले । मलार्ई पनि बडो नरमाइलो लाग्यो, एक मनले त बुढाले निकै नै आपतको सामना गरिसक्नु भएछ क्यारे जस्तो लाग्यो । हुन पनि गाउँकै मुखिया बनेर सबैको दुःख सुखमा साथ दिदै आएका सादा जीवन उच्च बिचार बोकेर जिउने काका आज कसरी पशुपतिमा आश्रय लिन आइपुगे ? उनका सबै आफन्त परिवारहरु सम्पन्नताको शिखरमा थिए । आखिर फेरि कसरी काकाको जीवनमा यो उथल पुथल र भूकम्प आयो ? मेरो मानसपटलमा यहि प्रश्न दौडिरह्यो । करिव दश मिनेटको सँुक सुँकाइपछि काकाले मेरो मुखमा हेर्दै भने –“नानी छैंटीमा भावीले जस्तो लेखिदियो त्यही भोग्नु पर्ने रहेछ । अर्को कुरा जिन्दगी जुवा रहेछ खेल्दै जाँदा कि जीत कि हार ?” उनका जवाफले म अस्पष्ट भएँ, अझै रहस्य खुल्न सकेको थिएन । आफ्नै गाउँको चिनेको सम्पन्न ब्यक्ति यो दुखान्त अवस्थामा पुग्दा कौतूहल र दुःख लाग्नु स्वभाविकै हो । म अझ पनि काका नजिकै बसेँ र  फेरि सोध्न थालें–“यो सबै कसरी भयो काका ?”
आँसुका  धाराले पोतिएका आँखा थोत्रो र मैलो कमिजले माडमुड गर्दै लामो सुस्केराका साथ भन्न थाले–“हुन त म आफ्नो  अतीत कोट्याएर बिहृल हुन चाहन्नथेँ तर आफ्नै छोरी समानले सोध्यौ, ल सुन मेरो जीवनमा आएका उतार चढावको घटनाक्रम । नानी, तिमी त गाउँको बिद्यालयमा पढाउन छाडेर शहरको क्याम्पसमा पढाउन भित्रियौ । त्यसपछि एक दुई दशैंमा त गयौ जब तिम्रा सबै परिवार शहरमा बसोबास गर्न थालेपछि तिमी त्यहाँ फर्किनौ । जन्मेको गाउँलाई नियाल्न समेत गइनौ, यही बाह्र तेह्र वर्षको अन्तरालमा मेरो जीवनमाथि भूकम्प गयो । जेठो छोरालाई गाउँकै तिमीले पढाउने गरेको स्कुलबाट एस.एल.सी. पास गराएँ, त्यस पछि त्यस्तै पचपन्न साल तिरबाट घर छाडेर गयो, कहाँ गयो किन गयो पत्तै छैन अझ कान्छो पनि आठ कक्षासम्म पढेर छाड्यो, कुलतमा फँसेर दिनभर लखर लखर गाउँमा हिँड्थ्यो, साँझमा टन्न पिएर आउने आदत बसाल्यो ।  बानी ब्यहोरा अलि सुध्रिन्छ कि भनी विवाह गरीदिएँ । त्यस्तो लत त हट्यो तर बुहारीको कुरा सुनेर छुट्टै बस्यो । त्यसै बीच छोरी रेजाको पनि कुलघरान भने जस्तो पाएपछि बिहे गरीदिएँ । समय हो आफ्नै रफ्तारमा दौडिरहेको थियो । अनायासैै बुढीलाई ब्लड क्यान्सरले सतायो, उसको उपचार खूब गरेँ, काठमाडौका महङ्गा नर्सिङ्गहोमदेखि भारतको मुम्बईस्थित टाटा मेमोरियल क्यान्सर हस्पिटलसम्म पु¥याएँ तर रोग निको भएन, छपन्न सालमा कहिल्यै नफर्कने गरि बाटो लागि ऊ । भाग्यमानी रहिछ भन्नु प¥यो । बुढीको काजक्रिया गर्न अज्ञात ब्यक्तिले दिएनन् कान्छो छोरालाई कोरा भित्रैबाट तीनैले लगे ।” एक छिन त अमरनाथ काका मुटुमा भक्कानो पारी रोए । गालाबाट तप्प खसेको आँसुलार्ई टोपीले पुछ्दै फेरि भन्न थाले–“नानी बुढीको काजक्रिया गर्न नपाउँदै छोरालाई पनि लगे । म साह्रै बिलबन्दमा परेँ । दैवको लेखन भनौँ कि खोटो भाग्य, जसरी तसरी बाँच्नै प¥यो, छ महिना पछि कान्छो छोरा अज्ञात ब्यक्तिको कब्जाबाट छुटेर आफ्नो श्रीमतीको जोडले आर्मीमा भर्ना भयो । अन्ठाउन्न सालमा हाम्रो जिल्लामा भएको भीषण माओवादी आक्रमणमा परेर वीरगति प्राप्त गर्नेहरुमा उसको पनि नाम आयो । म बुढो मर्न चाहेर पनि काल नआउँदो रहेछ । उदासी र दिक्दारीपन अँगाल्दै बाँचीरहेँ । त्यसै बीच भीषण आक्रमणपछि शहरबाट सेनाहरु गाउँ गाउँमा सर्च गर्न आए, उनीहरुले जेठो छोरा माओबादीमा पठाएको भनेर बेस्सरी गाली गरे  ।
सुनेको थिएँ पिएको बिष मात्र लाग्छ तर नपिएको बिष पनि लाग्दो रहेछ कहिलेकाँहि । सेनाले थर्काउनुसम्म थर्कायो । अब तेरो छोरो घरमा आए हामीलाई खवर गर्नु भन्दै बाटो लागे । के गर्नु नानी ! ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भन्थे साँच्चै हो रहेछ । त्यही दिन बेलुकी अज्ञात ब्यक्तिहरु आएर सेनालाई सुराकी गरेको भन्दै बेस्सरी पिटे, रातको समयमा घरबाट बाहिर निकाली ढोकामा ताल्चा लगाइदिए । त्यो रात आरुबारीमा आरुको फेदमा अडेस लागेरै  रात कटाएँ । नानी ! हुन त मलार्ई सेनाहरुले पनि थर्काउनुको साथै मुक्का हानेका थिए । जब बिहानी चियायो, पल्लो गाउँमा छोरीको घरतर्फ लागेँ दुई चार दिन त बसेँ पनि बोझ लागेर त्यहाँ बसिरहन उचित ठानिन, आफ्नो गन्तब्यहीन यात्रा लम्काएँ । धेरै ठाउँमा पुगेँ, यो खरानी हुन बाँकी रहेको बुढो रुख जस्तो  शरीरलार्ई ओताउने ठाउँ पाइन र शहर पसेँ अनि यहि पशुपति मन्दिरलार्ई आश्रय बनाएको छु अहिले । जेठो छोराको ६२ सालमा आतंककारी कृयाकलापमा मृत्यु भएको भनेर रेडियोबाट सुनेको थिएँ त्यसको पाँच दिनपछि जेठो छोराको हत्याको बिरोधमा जिल्ला बन्द भएको थियो रे । खै ती कान्छी बुहारी छिन् वा छैनन् अरु त कोही छैनन्, छोरी चैँ अर्काको घरमा छिन्, उनको बोझ हुन भएन, म आफ्नो अभागी कुरूप अनुहार देखाउन त्यहाँ गइन ।” काका फेरि सुकसुकाउन थाले ।
काकाको जीवनमा घटेका अकल्पनीय घटनाक्रमले मेरा आँखा रसायो, मन भावबिहृल बन्यो । मैले जान्दासम्म अमरनाथ काकाको गाउँमा ठूलै चहलपहल थियो, उनी गाउँका हुने खानेमा कहलिन्थे । कसैको दुःख देख्दा आफ्नै दुःख जस्तो ठान्थे । गाउँका चलाख मुखिया भएपनि ठग्ने शोषण गर्ने कदापि कहिल्यै गरेनन् आज उनी दुःखको भावसागरमा डुबेका छन् । यति बेला उद्धार गर्ने कोही छैन । यो देशमा हुँदै आएको हत्या,हिंशा र बिनाशले चिन्ताजनक दुःखलाग्दो अवस्थादेखि मलार्ई देशका ठूलाबडा भनाउँदाहरु प्रति निकै नै घृणा लाग्छ । के गर्नु बिकल्प पनि थिएन । गह्रौ मन लिएर पशुपतिघाटबाट काकासँग बिदा भएँ । नेताहरुको जस्तो झुटो आश्वासन दिइन काकालाई । अमरनाथ काका जस्ता कैयाँै काका–काकीहरु पशुपति र बृद्धाश्रममा देख्दा मन दुख्छ, मुटुभरि प्रतिशोधको ज्वाला दन्कन्छ । अफसोच ! केही गर्ने र बोल्ने सामथ्र्य भने हँुदैन । आखिर हात्तिको मुखमा जिरा समान हुने न हो । मात्र श्रद्वाभाव छ ती काकाहरुमा अनि काकाहरुको जीवनमा, अकल्पनीए घटनाहरु घटाउने सबै नालायक राष्ट्रप्रेमको मुकुण्डो लगाउने प्रति घृणाका शब्दहरु ।

2 प्रतिक्रिया

  1. Anup Pokhrel says:

    Well written, Subisudha. Keep it up.

  2. Babu Lamichhane says:

    राजनीति ले बिकास होइन बिनास धेरै गरेको हुन्छ । राजनीति बिनाको बिकास असम्भव भन्ने हरु आफ्नो स्वार्थको खातिर गलत धारणाको प्रचार मात्र गरिरहेका हुन्छन । राम्रो निति लिनको निम्ती दबाबको खाँचो त पर्छ तर  तोड फोड र हिंसाको  राजनीति आवस्यक पर्दैन स्कुल कलेज कल कारखाना बाटो घाटो बन्द गर्दै राजनिती गर्ने प्रथाको अन्त्य हुन जरुरी छ । सुबी जि तपाईंको लेखमा समाबेश बिषयले धेरैको मन छोएको छ तपाईंको हरेक कृति हरु रोचक छन मेरो हृदय देखी नै धन्यवाद तपाईं लाई । 

प्रतिक्रिया छाड्नुस्