कथा– राजेश नतांश

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा– राजेश नतांश

सुप्रिया उर्फ अदृश्य आवृत्ति

सुप्रिया अहिले म चाँदनी रातसँग ठट्टा गर्दैछु । आकाश निकै उज्यालो भइरहेको छ । अनि चन्द्रमाले अरूकै प्रकाश लिएर भए पनि आकाशलाई उज्यालो पारिरहेको छ । निकै रोमाञ्चकारी पल व्यतित गरिरहेको छु । चिसा हावाका मन्द गतिले मेरा शरीरलाई स्पर्श गरिरहेका छन् । मलाई यो पल एकदमै प्रिय लागिरहेको छ किनकिन । अहिले एउटा अदृश्य मानव आकृति मेरो साथमा यो पल व्यतित गरिरहेको छ । उनको अनुहारको आकृति, भौतिक शरीर बताउन सकिरहेको छैन किनकी उनको अनुहार शून्य छ । उनका आँखा, उनको ओठ, असरल्ल छरिएका केशराशिहरू कोरिरहेको छु यतिखेर मेरो हृदयको क्यानभासमा । चाहन्छु उनको आकृति अरूभन्दा फरक किसिमको होस् । यसकै लागि मेरो कुचीयुक्त मानसपटल उनको सुन्दर क्यानभास कोर्नमा अभ्यस्त भइरहेको छ । किनकी उनी अपूर्ण छिन्, उनलाई नै मैले पूर्ण बनाउनुछ । कहिलेकाहीँ त लाग्छ, यहि चाँदनी रातभरि उनलाई लिएर लामो दूरीको यात्रा तय गरौँ । उनका हातहरू समाएर प्रेमका मीठामीठा कुराहरू गर्दै मानवविहीन सहरमा अनायासै हराइरहुँ । उनको आँखाको सागरमा डुबुल्की मारिरहूँ । बरु म बेचिन तत्पर छु । म यही पलको मादकतामा, यही मधुरसमा मातिरहन चाहन्छु ।

सुप्रिया म निकै भावुक भएँ है, सुरुमै बिम्ब र प्रतीकलाई लेख्दा तिमी छक्क पर्यौ होला । कताकता तिमीलाई पनि यी शब्दहरू प्रिय लागे होलान् अनि यो सरले के लेखेछ भनेर बाँकी वाक्यांशहरू पढ्न तिमी लालायित पनि  भयौ होला । खैँ ! प्रिया कहाँबाट सुरु गरूँ यो मनको बाँध खोल्न । मेरा भावनाका स्परहरू यतिखेर फुट्न लागिरहेका छन्, घेराबन्दी गरेर राख्न नसकिने रहेछ । हृदयको क्षमता यतिखेर र्हास हुँदै गइरहेको छ । निकै गाह्रो रहेछ मनको बाँधलाई जोगाएर राख्न । अनायासै छताछुल्ल हुन खोज्दै छन् यी मनका बाँधहरू  । अब उप्रान्त म छेकबार गर्न सक्दिनँ, सुप्रिया ।

जिन्दगीको यात्रा एकदमै बिरसिलो तरिकाबाट सुरु भयो । अझै पनि मलाई ती सङ्घर्षका काला दिनहरू भयावह लाग्ने गर्छन् । आखिर सङ्घर्षविनाको जीवन कसको छ र ? तिम्रा मानसपटलमा यस्तै प्रश्नहरू कुदिरहेका होलान् । हो जीवन संघर्षविना असम्भव छ । सङ्घर्षको प्राप्ति नै जीवन हो । मैले जीवन र सङ्घर्षको सम्बन्ध राम्ररी बुझेको छु । साँच्चै  म क्रङ्क्रिट नै बनेको थिएँ त्यसबेला । सफलता पाउनका लागि मेरा पाइलाहरू अनवरत लम्रिहेका हुन्थे ।  आएका समस्या अनि जटीलताका बाढीहरुलाई मैले आफ्नो बुताले भ्याएसम्म छेकथुन गरिरहेँ । जिन्दगीमा सफल र बिफल पाटाहरू पनि रहेछन् । म कतिचोटि सफल भए अनि कतिचोटी विफल । सफलताको बाढीले मलाई खुशी दिन्थ्यो भने विफलताका बाढीहरूले चाहिँ बगाएर लग्दथे कहाँ–कहाँ अनि फेरि कस्तो अचम्म ! बिफलताहरूले नै मलाई किनारातिर नै धकेलिदिन्थे । म पारङ्गत भएँ बिफलताका बाढीहरूमा पौडिन, त्यसपछि मलाई समस्या र जटिलताका बाढीहरू एकदमै मूल्यहीन लाग्न थाले । विफलताले मलाई पूर्ण प्रशिक्षित गराईसकेको थियो । अन्ततः मैले बुझेँ सफलता र विफलता जीवनको एक आयाम रहेछ । जीवनका यात्राहरूमा हिँड्न मान्छेलाई यी दुवैले पथप्रदर्शकको काम गर्दा रहेछन् । फरक यत्ति हो सफलता सुखद हुने रहेछ अनि विफलता जहिल्यै दुःखद ।

सुप्रिया, तिमीसँगको पहिलो भेट अझै पनि मेरो स्मृतिपटलमा ताजै छन् । कहाँ बिर्सन सक्छु र ? त्यो प्रेमिलपललाई । पहिलो नजरमै मेरा मुटुका धड्कनहरू वाचाल भएका थिए । म तिम्रो कैदी बनिसकेको थिएँ त्यहीपल । आखिरमा यस्तै हुने रहेछ । मलाई यस्ता भावनाहरू एकदमै मिथ्या लाग्ने गर्दथ्यो कि पहिलो भेटमै मनहरू साटासाट हुन्छन् भन्ने कुरा मलाई एकदमै वाहियात लाग्ने गर्दथ्यो  । तर म झूठो साबित भएँ । ममा पनि आर्कषण सिद्धान्त लागू भयो ।

अँग्रेजी साहित्यमा मैले राम्रो अंक ल्याएर डिग्री हासिल गरेको थिएँ । मनमा खुसी अनि उमङ्गका पलहरू तरङ्गित भइरहेका थिए । अब केही गर्नुपर्छ भन्ने लागेको थियो । जीवनको अर्को चरणको यात्रामा हिँड्न लागिरहेको थिएँ तर हृदयको ज्वारभाटा वशमा थिएन । राम्रै अंक ल्याएर मास्टर्स उत्र्तीण त गरियो तर अब जागिर खाने कहाँ ? मैले आफ्नो अध्ययन र योग्यताले खोजेको क्षेत्रतिर हात हालेको थिइनँ । सानैदेखी शिक्षण क्षेत्रमा केही गर्ने सोच बनाएको थिएँ, बुबा माध्यमिक स्कूल पढाउनुहुन्थ्यो । उहाँबाटै मैले प्रेरणा पाएको थिएँ । बुवाको निधनपछि मेरो सङ्घर्षमय जीवन सुरु भएको थियो । १४ वर्षको कलिलो उमेरदेखि नै मैले आफ्नो अनि परिवारको पेट पाल्दै आईरहेको थिएँ अनि निकै दुःख गरेर आफ्नो अध्ययनलाई पूरा गरेँ । ममा शिक्षण अनुभव थिएन, सैद्धान्तिक ज्ञान बाहेक केही थाहा थिएन । मनमा तीब्र इच्छाशक्ति र लगाव भनेचाहिँ थियो जसले मलाई सफलतातर्फ डोर्यायो ।

जागिरको खोजमा पत्रिकाका बिज्ञापन पृष्ठहरूमा आँखा दौडाउँदै थिएँ । कान्तिपुरको विज्ञापन पृष्ठमा मेरो ध्यान एक्कासि आकृष्ट भयो  । लेखिएको रहेछ, “टिचर वान्टेड फर हाई स्कूल लेभल ह्याबिङ्ग गुड कमाण्ड ओभर इङ्गलिस । कन्ट्याक्ट…।” बिज्ञापन पढेर राहतको महसुस भयो ।  भविष्यको तालाचाबी मेरो हात लाग्ने निश्चित भयो । पत्रिकामा उपलब्ध सम्पर्क ठेगाना पछ्याएर आफ्ना बिवरणहरू प्रेषित गरेँ । त्यहाँबाट पनि राम्रो प्रत्युत्तर पाएँ । मैले प्राप्त गरेका प्राप्ताङ्कहरू हेरेर नै कलेजले मलाई अँग्रेजी शिक्षकमा नियूक्त ग¥यो । म त्यो पल असाध्यै खुसी भएको थिएँ । सबै एक्कासि भए कि यस्तो हुन्छ भनेर सोचेकै थिइनँ, योग्य मान्छेका लागि अवसरहरू खोज्दै आउने रहेछन्, मैले यही पाठ सिकेँ ।

यो प्रिय डायरीको साथमा ‘म’ आफ्नो भावनाका बाँधहरू फुटाउँदैछु । वातावरण उस्तै छ,  बाहिर चन्द्रमा मुस्कुराइरहेको छ । सुनसान कोठा अनि म एक्लो जीव छु । अहिलेसम्म कैयन वाक्यांशहरू लेखिसकेको छु तर पनि कुनै अध्याय सुरु भएको छैन जस्तो लागिरहेको छ । असंख्य अव्यक्त भावनाहरू सिलसिलाबद्ध रूपमा व्यक्त गर्न गार्हो पर्ने रैछ, स्खलित हुँदैछु सुस्तरी यो भावनारूपी एकोहोरो पत्रमा । हृदयले राहतको महसुस गर्दैछ, एकोहोरो पनि संवाद गर्न सकिने रै’छ । यही संवादबाट म तिम्रो हृदय स्पर्श गर्ने दुस्साहस गर्दैछु सुप्रिया ।

“सर, तपाईको पढाउने शैली मलाई एकदमै मनप¥र्यो, जोक गराउँदै पढाउनु हुँदो रै’छ । पढ्नलाई नि कस्तो मज्जा आउने, मैले त आज सबै कुरा बुझेँ ।” तिम्रा यी वाक्यांशहरू मलाई एकदमै आत्मीय लागेका थिए । रातभरि निदाउनै सकिँन । मेरो पहिलो ‘क्लास’ थियो, म निकै ‘नर्भस’ भइसकेको थिएँ । ‘क्लास’मा छिर्नासाथ सबै विद्यार्थीहरूसँग मेरो आँखा जुध्यो, एकोहोरो हेर्नै सकिन, आफ्ना आँखा निहुर्याएँ । मनमा एकप्रकारको लज्जा अनि डरको महसुस भइरहेको थियो । आत्मविश्वासका साथ बोल्ने आँट गरेँ, बोल्दै गएँ, आफ्नो परिचय दिँदै गएँ तर पनि मेरा खुट्टाहरू वशमा थिएनन्, अनायासै कामिरहेका थिए ।

सबै विद्यार्थीको परिचय पश्चात मलाई हल्का राहतको महसुस भएको थियो । जब म तिम्रो ‘डेक्स’मा आईपुगेँ, मैले आफैँलाई थाम्न सकिनँ, तिमी मेरी विद्यार्थी हौ भनेर विश्वास गर्नै सकिनँ । मेरा आँखाहरू एक्कासि तिम्रा आँखाहरूसँग एकाएक कुस्ती खेल्न थाले । तिमीले आफ्नो आँखा निहुँर्यौ, मुस्कुरायौं अनि आफ्नो परिचय दियौ । मलाई तिम्रो नाम असाध्यै मन प¥यो अनि तत्कालै प्रतिक्रिया जनाई हालेँ ।

“असाध्यै राम्रो नाम सुप्रिया ।”

“होइन होला सर, हेराइ पो राम्रो हो कि ?”

“सबै राम्रा चीजमा हेराइहरू पर्दैनन्”

“यस्तो पनि हुन्छ र सर ?’

“तिमीलाई के लाग्छ नि ?”

“एनी वे, थ्याङ्क यू सर । खासमा यो नाम मेरी हजुरआमाको हो अनि बाबाले मलाई राखिदिनुभएको ।”

यी संवाद गरिसकेपछि म हीनताबोधको शिकार भएको थिएँ । मैले एक्कासि अस्वभाविक लाग्ने  संवाद बोलेको थिएँ । तिमीसँग यस्तो संवाद गर्नुहुदैन्थ्यो भन्ने लाग्यो तर तिमीले यति सरल तरिकाले लियौं कि मैले सच्चिने मौका पाएँ ।

समयहरू बित्दै गए । दिन र रातहरू एकभएर कट्दै गए । दिनको अनुपस्थितिमा रात भयो अनि रातको अनुपस्थितिमा दिन । समयको रफ्तारले हामीलाई पनि कुदायो । तिमी मसँग एकदमै नजिकिएकी थियौं । म पनि तिमीसँग नजिकिएको थिएँ । तिमी कलेज नआउँदा मलाई पढाउनै मन लाग्दैन थियो, तिमी पढाईमा क्लासमै अब्बल थियौं । म तिम्रा नोटहरू एकदमै चाखपूर्वक पढ्ने गर्थे । तिम्रो लेखनीमा एउटा अनौठो शक्ति पाउँथे जसले तिम्रो भविष्य सुन्दर भएको महसुस गरेको थिएँ । किताबी ज्ञान मात्र नभएर समय सापेक्ष कुराहरू उल्लेख गरेर लेख्ने तिम्रो उत्तरहरूको मूल्याकंन गर्न असमर्थ हुन्थेँ । हामी कलेजको क्यान्टिनमा कफी पिउँदै समय व्यतित गर्ने गर्दथ्यौँ । तिमीसँग कुरा गर्न म एकदमै लालायित हुन्थेँ । तिमीले गर्ने जिज्ञासाहरूका उत्तर दिदाँ एकप्रकारको सन्तुष्टिको महसुस हुन्थ्यो मलाई । एकदिन म क्यान्टिनमा बसेर कफी पिईरहेको थिएँ, तिमी पनि आफ्नो कफी लिएर मकहाँ आईपुग्यौं ।

“सर, म छिट्टै एउटा  कवितासङ्ग्रह ‘आशाभित्रका आशाहरू’ प्रकाशन गर्ने तरखरमा छु, तपाइँले मेरा कविताहरू पढेर समीक्षा लेखिदिनु पर्यो ।

”“माफ गर ! सुप्रिया, म कुनै साहित्यकार होइन केही पनि लेख्न जान्दिनँ ।”

“म पत्याउँदिनँ सर ।”

“किन ?”

“पुस्तक मात्र निकाल्ने मान्छेलाई म कदापि साहित्यकार मान्दिनँ । साहित्य एउटा भावना हो, भावनालाई व्यक्त गर्ने माध्यमहरू धेरै हुन्छन्, एउटा साहित्य पनि हो । के साहित्य नलेख्नेको चाहिँ भावना हुँदैन र ?”

“हुन्छ तर”

“तर तपाइँले तयार गर्नुभएका प्रत्येक नोटहरूमा तपाईको साहित्य पढेकी छु । ती नोटहरूमा तपाईको साहित्यिक व्यक्तित्व प्रष्टै देखिन्छ ।”

“मतलब ?”

“साहित्यकारहरू पुस्तकका लागि लेख्छन् तर तपाइँ हाम्रा लागि लेख्नुहुन्छ । अरूको साहित्य पुस्तकमा रूपान्तरित हुन्छ तर तपाईँको साहित्य हाम्रो नोट बन्छ, फरक यति हो ।”

“अनि ?”

“हो, तपाई एउटा अदृश्य समालोचक हुनुहुन्छ जसलाई पढेर मैले आफ्नो साहित्यप्रतिको लगावलाई अझ मजबुत पारेकी छु । धेरै कुरा सिकिरहेकी छु र यो मेरो सौभाग्य हो ।”

“बताउन सक्दिनँ,

रेगिस्तानको क्याक्ट्स जस्तो

मेरो प्रेम

प्रशान्तमा अटाउन सक्दैन,

डर लाग्छ

हाम्रो आर्दश सम्बन्ध

कतै बरफ नबनोस्

बुझेँकी छु मैले

तपाईको हृदयको सिम्फोनी”

सुप्रिया, तिम्रो त्यो पाण्डुलिपी पढेर म आफैँमा हराउन पुगेँ । तिमीले कविता लेखेकी होइन रहिछौं । एउटा जीवन लेखेकी रहिछौं । तिम्रा आशाभित्रका आशाहरू अनि सुन्दर जीवनका चाहनाहरू पढेर रात बितेको थाहै पाइनँ । कविताका प्रत्येक पंक्तिहरू पढेर मैले तिम्रो भविष्यको सुन्दर क्यानभास देखेँ । कुनै ठाउँमा तिमीले मेरै मुटु छोएर लेखेकी जस्तो लाग्यो । भन, मेरा भावनाहरूसँग तिमी कसरी परिचित भयौ ?, तिमीले मेरा सोचाईहरूलाई कसरी समर्थन गर्यौ ? कसरी लेख्न सक्यौ तिमीले मेरा भावना ? तिम्रा प्रत्येक आशाभित्रका आशाहरू मेरै जस्तो लागे । तिम्रा प्रत्येक सपनाहरू मेरै जस्ता लागे । यी कवितांशले मेरो हृदयको स्पन्दनलाई छोयो । मैले त्यसमा अव्यक्त प्रेम पाएँ । कतै त्यो अव्यक्त प्रेम मसँग त सम्बन्धित छैन ? हो, यस्तै प्रश्नहरूहरूसँग मैले पौठेजोरी खेल्नु प¥यो रातभर, तिम्रै डायरीलाई नै चुमिरहेँ ।

”सर, तपाइँलाई यो सर्टले ‘म्याच’ गरेको छ है, हजुर यो रंगमा असाध्यै खुल्नुभएको छ, रातो रंगले हजुरलाई निकै सुहाउने रहेछ ।”

”साँच्चै हो, मैले ख्यालै गरेको थिइनँ, भोलिदेखि सधैँ रातो लगाउनु पर्यो । हा..हा..हा..”

“ए हो अब ख्याल गर्नुहोस् न ।”

“तिमीले भनेपछि….”

यी संवादहरू हामीले क्यान्टिनमा कफी पिउँदै बोलेका थियौं । मैले अन्तिम संवाद बोल्दा तिमी निकै लजाएकी थियौं । तिमी मसँग आफ्नो पुस्तकको समीक्षा लिन आएकी थियौं । समीक्षापत्र हातमा पाउनासाथ तिमीले ‘हतार छ’ भन्दै बिदा माग्यौं । तिमी गएपछि मैले अफिसमा तिमीलाई सम्झिरहेँ । तिमीसँग भएका संवादहरू मेरा मानसपटलमा बजिरहे । यति धेरै ‘केयर’ गर्ने के तिमी मेरी विद्यार्थी नै हौ ? यस्तै प्रश्नहरूले मलाई निमोठी रहे ।  मैले उत्तर कही पनि पाउन सकिनँ । दिनभरि तिम्रै मात्र झझल्को आईरह्यो ।

सुप्रिया, अब तिमीलाई मेरा हृदयका क्रन्दनहरू एकाएक खोल्दैछु । जुन दिन तिमीले मेरो हातबाट पाण्डुलिपी लियौ त्यही दिनदेखि तिमीलाई देख्न पाएको छैन । यत्रो महिना हुन लाग्यो तिमी कलेज पनि आएकी छैनौ । तिम्रो बारेमा तिम्रा साथी र अन्य सरहरूलाई पनि सोधेँ तर कही पनि पत्ता लगाउन सकिनँ । किन यसरी एकाएक मदेखि  अदृश्य भयौं ? मलाई तिम्रो आकृति कस्तो छ भन्ने पनि थाहा छैन अचेल । मानसपटलमा भएको तिम्रो क्यानभास पनि अधुरै रह्यो । तिमीलाई छेऊमा राखेर तिम्रै चित्र क्यानभासमा कोर्न चाहन्थेँ तर तिमी प्रकाशको उपस्थितिमा छाँया हराएझैँ हरायौं । तिम्रो आवृत्ति मैले थाहा पाउन सकिरहेको छैन सुप्रिया ।

म यतिखेर एउटा निस्सार पोथ्राजस्तो भएको छु । देउरालीको एक्लो वृक्षजस्तो भएको छु, निस्सार भित्तामा टाँसिएको तस्वीर जस्तो ठानिरहेको छु । तड्पिरहेको छु म यसरी नै तिम्रो वियोगमा, हरपल तिम्रै मात्र याद आइरहन्छ । तिमीले गर्ने हाँसो ठट्टा अनि मलाई गर्ने ‘केयर’ एकाएक द्रवीभूत हुँदैछन् तर तिम्रो भौतिक उपस्थिति कहीँ पनि पाउन सक्दिनँ । मान्छेले वासना विनाको प्रेम गर्न सक्दैन । वासना विना प्रेम गर्नेहरू थोरै हुन्छन् । जुन दिन मैले तिमीलाई देखेँ आफुलाईभन्दा बढी प्रेम गर्न थालेँ, मैले यो पत्तै पाइन । तिमीले मलाई औधी हेरचाह ग¥यौ जुन यसअघि कसैले गरेका थिएनन् । म एकदिन कलेज नआउँदा तिमी सन्चो/बिसन्चो सोध्ने गर्दथ्यौ । आजकल यी तमाम कुराहरू मात्र सम्झेर बसिरहेको छु ।

जीवनको यो यात्रामा धेरैसँग भेट भयो । तिनीहरूले कहिल्यै मेरा भावनाको सम्मान गरेनन् । कहिल्यै मेरा संवेदनाहरूलाई बुझ्ने प्रयास गरेनन्, मेरा विचारहरूलाई लत्याए । सुन्दरताको आडम्बरमा रुमल्लिनेहरू धुँवासरी उड्दा रहेछन् । जब एक जोडी हृदयहरूको सफल मिलन हुन्छ त्यहाँ सुन्दरता गौण हुने रै’छ । हो सुप्रिया, म यत्रो वर्ष मात्र तिम्रो पर्खाईमा थिएँ, मलाई यो कुरा थाहै थिएन । मेरा हृदयले आजकल तिमीलाई नै खोजिरहेको छ । मलाई विश्वास छ यो विश्वास कहिल्यै टुट्ने छैन । तिमी पनि मलाई असाध्यै प्रेम गछर््यौं । त्यो कविता वास्तवमा तिमीले मेरो लागि लेखेकी हौं । हो तिमीलाई डर छ एउटा गुरु र चेलीको प्रेम सम्बन्ध समाजमा पाच्य हुँदैन । समाजमा के चाहिँ पाच्य भएको छ र ? एउटा गुरु चेलीको प्रेमी किन बन्न सक्दैन ? गुरुले आफ्नो चेलीलाई असल शिक्षा र जीवनको मार्ग देखाउँछ तर तिमी मेरी गुरु हौं । तिमीले नै मलाई जीवनका मार्गहरू देखायौ । तिमीले नै मलाई परिपक्व बनायौ । तिमीले नै मेरो जीवन रङ्गीन बनायौ । मेरा भावनात्मक क्रन्दनहरूलाई दूर ग¥यौ । जीवनमा फेरि रहरका पालुवाहरू लागेका छन् । जिन्दगीको यात्रामा एउटा साथी पाएको छु । म तिमीसँगै नै अबका यात्राहरू तय गर्न चाहन्छु । म चन्द्रमा हुँ मलाई उज्यालो बनाउने मात्र तिमी हौं, तिमीविना म अपूर्ण छु सुप्रिया ।

अनिर्णयको बन्दी भएको छु मात्र तिम्रो अनुपस्थितिमा । घरमा ममीले विवाहका लागि प्रस्तावहरू ल्याईरहनुभएको छ ।  म तिमीबाहेक अरू कसैलाई सोच्न सकिरहेको छैन, छान्न सकिरहेको छैन । म तिमीबाट परिचालित हुन चाहन्छु । अरू कसैलाई परिचालन गर्न सक्दिनँ । तिम्रो परिपक्वता मलाई आवश्यक छ । मेरो जीवनको मार्ग तिमी नै हौं । तिमी विना म यी अप्ठ्यारा पथहरू एक पहिला पनि चाल्न सक्दिनँ । तिमीले देखाएका पथहरू नै चाल्न चाहन्छु ।

सुप्रिया, यी भावनाहरू मिथ्या रहेछन् भने, तिमीप्रतिका यी सोचाईहरू गलत रहेछन् भने म यसलाई खराब सपना मान्न तयार छु । तिमी स्वतन्त्र छौं, तिमीलाई आत्मनिर्णयको अधिकार छ । तिम्रो जीवन मेरो कारणबाट बर्वाद गराउन चाहन्नँ । तिमीलाई भावनात्मक मदिरा खुवाएर मताउन चाहन्नँ । प्रेमलाई स्वीकार/अस्वीकार गर्ने तिम्रो हातमा छ । अस्वीकार भए पनि तिमी मेरो जीवनको गूरु बन । म तिम्रो जीवनको शिष्य बन्नेछु । तिमी मेरो शरीर भईसकेकी छौं जसको विलम्बमा म बाँच्न सक्दिनँ ।  हाम्रो आर्दश सम्बन्धमा कहिल्यै ऐँजरु पलाउने छैन । मात्र म तिम्रो भौतिक उपस्थिति चाहन्छु, सुप्रिया उर्फ एउटा अदृश्य आवृत्ति होइनौं तिमी ।

प्रतिक्रिया छाड्नुस्