छन्दका कविताहरू : तीर्थराज अधिकारी, कपन, काठमाडौं मो. ९८४११९८८८४

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

छन्दका कविताहरू : तीर्थराज अधिकारी, कपन, काठमाडौं मो. ९८४११९८८८४

शरद्का सिर्जनाहरू
(मन्दाक्रान्ता)
आयो बेला शरद ऋतु यो मेघ निः शेष छायो
घुम्टो उघ्रे पछि रवि– शशी सिर्जना कल्कलायो ।
तारा चम्के पलक नझुकी रोशनी काख च्यापी
लम्के झर्ना कलकल कला शेष मैलो नराखी ।

चाँदी झल्के हिमगिरि छटा झल्मलायो जुहार
डाँडा पाखा हरित लहरा ताल टल्के मुहार ।
बाला लर्के लहर लहरी फाँट गम्की सुगन्ध
यात्री यात्रा पथ पयरको बत्र लाग्यो प्रबन्ध ।

वासन्तीका अपुग सपना फुल्न लागे जवानी
गर्मी, वर्षा कटु प्रलयको मेटिँदै गो कहानी ।
इन्द्रेणीमा विविध रङले हात हाले अँगालो
छाती अग्ले श्रम शिविरमा भास अल्प्यो तुवाँलो ।

आढ्छे आफ्नै सकल धरती स्वच्छ नीलो पछ्यौरी
आँखा चिम्ली शिशु शयनमा कान खोज्दै छ लोरी ।
आशा बोकी ऋतु लहरले भित्र डाक्यो उज्यालो
पर्दा च्यात्ने अब तिमिरको चाँदनीको छ पालो ।

यो सन्ध्यामा समर विजयी सत्यको बल्छ पाला
रङ्गी– चङ्गी कुसुमहरूको बन्छ यै भित्र माला ।
बाडुल्कीमा प्रणय सुखको देश खोज्छन् विदेश
यो मायामा कपट छलको भित्र क्यै छैन लेश ।

स्रष्टा रच्छन् कर कमलले रूपका रूप खानी
फक्रेकै छन् मधुर सपना रङ्गका घाम– पानी ।
मेची– काली समय यसमै छन्द नौलो समाऊ
भित्री भाका जन हृदयको शान्ति धारा बगाऊ ।

बस्ती आफ्नै अब सकलले गर्नुपर्नेछ माया
कुल्ची छाया पथिकहरूले उठ्नुपर्नेछ काया ।
साँची राखाँै युग– युग सधैँ चेतना सिर्जनाका
हाम्रा आभा अझ अमर हुन् भावनाका कलाका ।।

वाणीपुत्र
(अनुष्टुप्)
बलेको स्वर्गको आगो चोरी ल्यायो धरातिर ।
मायावी जाल तोडेर त¥यो निर्विघ्न सागर ।।

लगाई ताजको बाजी महाराणा बनी उठ्यो ।
शाहजहाँ बिलौनामा प्रेमको छाल भै छुट्यो ।।

आधा आकाश धाँजामा कुञ्जिनी र सुलोचना ।
देखेर मन भो आगो पोखियो तप्त वेदना ।।

बाघले खान लागेको बच्चा देखेर गर्जियो ।
राजा ! कलम भाँचूँ कि भन्दै आदेश पर्खियो ।।

निरङ्कुश फणा फैली निल्न खोज्थ्यो स्वतन्त्रता ।
कोर्रा हान्यो उसैमाथि मान्दै मानेन दासता ।।

मुना सहरमै मैली, भोटको लेकमा उता ।
पायो मदनले साथी साँच्चैको दिल देवता ।।

तपस्वी उसका निम्ति थियो प्यारो तपोवन ।
शकुन्तला कला बोक्ने चरा चिर्बिर कानन ।।

सभ्य संसार रच्नैमा बोक्यो विद्युत लेखनी ।
भाव– व्यञ्जन ती लाग्छन् जादुका दिव्य– मोहनी ।।

सफा आकाश गङ्गा ऊ रस झर्झरमा झ¥यो ।
विचारबीज रोपेर आलोक लोकमा भ¥यो ।
भाव वैभवको स्रष्टा सिङ्गै संसार एक छ ।
विमान मनको चढ्दै तारा केस्रा केलाउँछ ।।

बुटी पाई कुटी हाँस्छन् धन्य ! धन्य ! वसुन्धरा ।
छैन कोही कहाँ भन्छन् रूप फुल्छन् गरा– गरा ।।

वन कुसुमका माला श्रद्धाले म चढाउँछु ।
भाषा संसारका सामु उसैलाई म पाउँछु ।।

दृढ शैल शिरैमाथि हिम बोकेर हाँस्दछ ।
शीतैको याम होस् घाम ताप कहाँ बिलाउँछ ?

सत्कर्म किन रित्तिन्थ्यो प्राण संसारको बल ।
बल्छ जीवनको ज्योति सधैँ झल्मल झल्मल ।।

दम्भी अट्टालिका गल्दै झर्छन् अकाल गर्तमा ।
वीणाकै स्वर गुन्जन्छन् सधैँ रात– प्रभातमा ।।

सिङ्गो ब्रह्माण्डकै चित्र खिच्छ समाज दर्पण ।
दीपका खोजमा हुन्छ दीपै सामु समर्पण ।।

शब्दको जग हालेर भाव सोपानमा चढी ।
धर्तीमा कवि फर्कन्छन् नभको चन्द्रमा चुमी ।।

कालिदास कला यस्तै व्यास वाल्मीकिका कला ।
लेखनीमा कति जादु छवि– छाया थला– थला ।।

अलङ्कृत बनेको छ माटो यै भावले छुँदा ।
बसुधामा सुधा भर्छन् स्रष्टाका दिल सर्वदा ।।

वीरप्रति
(अनुष्टुप्)
अखण्ड राष्ट्रका शक्ति वीर ए ! युगका गति ।
स्वर्ग बन्छ यही माटो गुन्जाऊ नव– जागृति ।।

हरियो बन्छ यो पाखो बगाऊ बल– निर्झर ।
चट्टान पनि पग्लन्छ दिलको छर जाँगर ।।

पौरखी काँधमा हुत्र असम्भव कुनै कुरा ।
छाती उच्च गरी लम्क चलाऊ हात पाखुरा ।।

सपना बिपना सारा सधैँ यो देश सोच्नुछ ।
देश भत्रु तिमी नै हौ, तिमी सामथ्र्य उठ्नुछ ।।

बलबाहु तिमी नै हौ कलाले भर प्राङ्गण ।
बलभद्र तिमी नै हौ माटाकै गर रक्षण ।।

आज मात्र तिमी जागे भोलिको दिन खुल्दछ ।
नयाँ उन्मेषको ज्योति त्यै भोलिभित्र झुल्दछ ।।

वीर ! कर्तव्य विच्छित्र हुनु हुत्र कतै तिमी ।
निर्माण स्रोत सम्पूर्ण विवेक, बल हौ तिमी ।।

मुटु सञ्जीवनी तिम्रो माटामै गर अर्पण ।
तिम्रै अर्पणले बन्छ अमूल्य मृत्तिका कण ।।

मेरो लप्सीबोट
(वंशस्थ)
हिमालको काख छ दूधपोखरी
अनन्त यात्रा पद चल्छ निर्झरी ।
तरङ्ग चेपे तल गर्छ कल्कल
नसा–नसा धड््कनमा छ यो जल ।

प्रभात खुल्दा रविका कलासँगै
खुलेर आँखा मन पुग्छ शैलमै ।
गुराँस रङ्गीन मुहार मृत्तिका
छ सान सौन्दर्य सुगन्ध वाटिका ।

थला–थला कुड्मल रम्य आँकुरा
गमक्क आफ्नै मुटुभित्रका जरा ।
यता–उता दृष्टि फिँजाउँदा सधैँ
समस्त यै धाम छ, लाग्छ स्वर्गझैँ ।

सिरान डाँडातिर पूर्व खुल्दछ
हुँदै वनेली तल लप्सिबोट छ ।
नदी अँधेरी जल गर्छ छम्छम
नदी छ  चेपे जलदुर्ग पश्चिम ।

जँघार तर्दा पद पुग्छ लम्जुङ
बिचौर नाता, ममता छ क्यै गुन ।
अपार यो हार्दिक स्नेहको लता
जेलिन्छ आस्थासित झन् कता–कता ।
छ नाम प्यारो खरिबोट गाउँको
छ पत्र जस्तै अरू नाम टोलको ।
बुकी धुपीका रसरङ्गका कला
छ उत्तरी भाग हिमालको तला ।

बन्यो जहाँ चर्चित पूर्णको हलो
छ छेउमै दक्षिणतर्फको थलो ।
नयाँ–नयाँ ज्वार विचार क्रान्तिको
कथा पुरानो अझ पढ्छ राष्ट्र यो ।

फराक थुम्को छ अजीर कोटको
बजार भच्चेक समीप पर्छ त्यो ।
झरे तलै सिम्जुङबाट ओर्लिँदै
छ कोलकाटे अनि लप्सिबोट नै ।

म फूल माटो यसमै उचालिएँ
गरेर ताते तन तन्किँदै गएँ ।
अजस्रधारा अझ ज्ञान छम्किदै
छ ज्ञानको ज्योति अखण्ड मार्गमै ।

छ गोरखा उत्तर दूर– भागमा
छ मेघमाला अझ क्यै ललाटमा ।
परन्तु आफ्नोपन छैन वर्जित
हलो– जुवा साथ सधैँ छ गर्वित ।

मुहान छोड्दै तल घाट मिल्छ के ?
भेटिन्न न्यानो अब जीर्ण कोटले !!
छ मूल बेग्लै रसको र स्वादको
सुवास छुट्टै छ निकुञ्ज भित्रको ।

प्रतीक्षा
(उपजाति)
माटो छ दोषी कसरी भनूँ म
बाटो छ दोषी कसरी भनूँ म ।
पग्लेर सेचेँ जति ज्ञान धारा
पाउन्न आफँै पथका किनारा ।

यो लेखनी हुन्छ सधैँ उदार
टल्काउनै खोज्छ सबै मुहार ।
यै सभ्यता मूल परागलाई
घोचेर झार्दा छ त के भलाइ ?

झिकेर आँखा, मुटु नै जलाई
थिचेर छाती रणमै ढलाई ।
लगाउँछन जो नरमुण्ड माला
छैनन् कतै ती जगमा उज्याला ।

को मर्छ मान्छे सुविचारबाट ?
बाली बनी झुल्दछ फाँटफाँट ।
चिता– चिताको कतिको छ लेखा
चुक्ता त एकै दिन हुन्छ लेखा ।

काव्य – ज्योति
(अनुष्टुप्)
उज्यालो सूर्यको ज्योति छेक्न सक्तैन बादल ।
हुरीले निल्न सक्तैन आत्माको स्वर मञ्जुल ।

आकाश शब्दमा बोल्छ, जून चम्कन्छ चाँदनी ।
इन्द्रेणी रङ्ग रङ्गिन्छ, ताराको लाग्छ मोहनी ।।

माटामा बासना भर्दै फूल मुस्कान छाउँछ ।
जडमा प्राण घोलेर प्वाँख नौलो फिजाउँछ ।।

हिम शृङ्गार पैह्रेर डुबुल्की मार्छ सागर ।
मार्ग सत्कर्मको लिन्छ, बोक्छ सञ्जीवनी कर ।।

मौनतासित मौलिन्छ मूलझैँ गर्छ गुन्गुन ।
कर्तव्य पथमा हिँड्छ, यात्रा रोकित्र पावन ।

सपना बिपना खुल्छ, कल्पना बन्छ आकृति ।
मुटुमा मुटु जोडिन्छ फुल्छ सिर्जन– पद्धति ।।

समताभाव ब्यूँझन्छ, ममता मुस्कुराउँछ ।
खुला हृदयले नाची सबैमा मीत लाउँछ ।।

चर्को सागरको ज्वार कोइली स्वर माधुरी ।
एउटै शब्दमा बोल्छन् ऋतु– रङ्ग थरी– थरी ।।

झोपडी पनि अग्लन्छन्, झुक्छन् महल क्यै तल ।
अाँसुले आँसु नै धुन्छ, दर्द क्यै गर्छ शीतल ।।

तरङ्ग रङ्गमा जो छ समाधि भित्र– भित्र छ ।
अव्यक्त मुटु सञ्चार देख्नेले मात्र देख्दछ ।।

बारले तारले हार्छ, रोकित्र यसको गति ।
अँध्यारामा पनि बोक्छ चेतनामय जागृति ।।
आरोहीप्रति
(अनुष्टुप्)
साहसी पाइला उठ्तै उकाली धाम खोज्दछ ।
अजेय शक्ति यात्रामा विघ्नको विघ्न बन्दछ ।।

वासन्ती मनको यात्री फूलै देख्छ जताततै ।
छाती चर्काउने शूल हार मान्दछ लत्रिँदै ।।

सपना सिर्जना मीठो दिलमा टाँसिएपछि ।
अवरोधहरू गल्छन् दृढता ब्यूँझिएपछि ।।

कुनै सङ्ग्रामको खेलविना बन्दैन जिन्दगी ।
आरोही उठ्न सक्दैन मृत्युलाई जपी– जपी ।।

चोखा गौरव गाथाकै पाठ बन्छन् अजम्मरी ।
ऋतुसाथ सधँै झुल्ने हुन्छन् अम्लान मञ्जरी ।।

विश्वभाषा गला खुन्छ मेरै आँगन माझमा ।।
यहाँ हार्दिकताले नै हुन्छ स्वागत द्वारमा ।।

दूरदेश तिमी आऊ मीठो सत्कार चाख क्यै ।
उच्च हिमालको रूप स्मृतिभित्र समेट क्यै ।।

तपस्वी तप नै कर्म प्रेमले गर आदर ।
प्यूँदै सञ्जीवनी धारा पाउलाई उचा गर ।।

मृत्तिका यसमा मेरो वीरकै हुन्छ अर्चना ।
शिवसङ्कल्पले मात्रै खुल्छन् अन्तर चाहना ।।

जीवन–पथ
(वसन्ततिलका)
जन्मेँ सुरम्य धरतीे गिरिको कुनामा
आस्था हुँदैन अरूको परको कुरामा ।
प्रश्वासले रहित भै जब हुन्न अस्त
माया म दिन्छु यसमै मुटुको समस्त ।

बाढी बढी बगरमा जति गड्गडाऊन्
सत्कर्म लुट्न जति विघ्न बढेर आऊन् ।
मेरा कला अजर छन् नव–आँकुरामा
उम्रन्छु बीज अनि पुष्प हुँदै गरामा ।

उत्साहले दिनदिनै नव–स्वर्ग खुल्छ
उत्साहमै सुरसिलो रस भाव फुल्छ ।
आलस्यभित्र जब फँस्छ कुनै समाज
नासिन्छ, हुन्न यश–सम्पति काम–काज ।

झोक्री कतै उदयबाट भएर भिन्न
चिन्ता लिएर मनमा दिनरात खिन्न,
बस्ता कतै फजुल तर्कहरू अँगाली
उद्योगकै परम शत्रु हुनेछ खालि ।

पुर्खा गए अमर भै पथ त्यो छँदै छ
बाटो लिई प्रगतिको सब बढ्नुपर्छ ।
गन्तव्यबाट जब हुन्न मनुष्य छिन्न
को शक्तिमान् छ उसको पथमा उछिन्न ।

अज्ञानता, कलुषताहरू भित्र–भित्र
बन्दैन मानव कुनै न छ क्वै पवित्र ।
पर्दा हटी मलिनको जब हुन्छ स्वच्छ
जीवन्त बन्छ तब मानव भाव उच्च ।

बाटो कहाँ छ कुन दिव्य मुहारलाई
सम्प्राप्त हुन्छ कुन मार्ग सधैँ समाई ।
सोचेर यो हृदयमा जब पाउ चल्छ
रेखा अनन्त पथका भरमै त खुल्छ ।

को थ्यो कहाँ हृदय जन्मनसाथ पूर्ण ?
उद्योगले सब बने पछिबाट पूर्ण ।
मान्छेसँगै प्रतिपला कतिको कला छ !
पक्रेर तन्तु दिलको अघि बढ्नुपर्छ ।

अजम्मरी भानु
(अनुष्टुप्)
तोतेको कलिलो भाषा थोतेको धर्ममन्दिर ।
अँध्यारो जाल काट्ने ऊ दिलको स्वच्छ निर्भmर ।।

झोपडी वन– पाखा र दरबार सबैतिर ।
हुन्छ चर्चा उसैको नै देशभित्र र बाहिर ।।

रवि किरणले छुन्छन् धर्तीलाई जताततै ।
नाम पर्याय यो उस्तै सदा सत्कर्म मात्रकै ।।

जहाँ मान्छेहरू बस्छन् अनुशासनहीनका ।
भोलिका भक्तलाई ऊ देख्छ पर्याय मृत्युका ।।

उद्योगीहरू ज्यूँदा हुन् भनी घोष गरी– गरी ।
ऊ कर्मी कर्ममै बाँच्यो शैलमाला बनी धुरी ।।

उडुस उपियाँ कैयौँ लाम्खुट्टे सबले चुसे ।
सिर्जना सिर्जिने रक्त सिध्याउनै घुँडा धसे ।।

तर ऊ भित्रको शक्ति रित्तिएन कसै गरी ।
दीपशिखा बलिराख्यो हुरीमै पनि हर्हरी ।।

घाँसी– दाइहरूलाई लिएर अङ्कमालमा ।
रामसीता दुवैलाई घुमायो गाउँ– गाउँमा ।।

दया धर्म सदाचार नेपालीजनले बुझे ।।
छली रावणको रूप नीचकर्म पुरै बुझे ।।

नराम्रा जे कुरा हुन्छन् समाज घरबारमा ।
मिलेर सब मिल्काए घाम झुल्कन्छ द्वारमा ।।

यसै उद्देश्यका साथ लिई आदर्शको पथ ।
कवि लेखनीले रोक्यो यात्रीका भ्रमका पथ ।।

दिएर रसिलो भाषा दिएर ज्ञान –मञ्जरी ।
त्यसैले त बनेको हो– भानु आज अजम्मरी ।।
जुनेली रूप
(अनुष्टुप्)
तिमी सगरमा फुल्दा फुल्छ्यौ सागरमा पनि ।
सहस्रौँ तालमा फेरि भेटिन्छ्यौ रूपकी धनी ।।

विम्ब यौटै तिमी किन्तु प्रतिविम्ब ओहो ! कति ।
इन्द्रेणीभित्रका रङ्ग तिम्रा यी कति सन्तति ।।

लाखाँै तारा तिमीलाई गर्दछन् अभिनन्दन ।
गुन बिर्सन को सक्छ हे जून ! तिमी नै भन ।।

छैन सम्मानको भोक, गति चाल्छ्यौ शनै ः शनै ः
पक्षका पथमै हुन्छ्यौ यौवना अनि बालिकै ।।

संसारभरिका भाषा भाव पोती सिँगार्दछन् ।
सारा संसारले आफ्ना तिमीमै दृष्टि पार्दछन् ।।

प्रीतमा गीत गुन्जन्छ्यौ, आस्थामा आरती तिमी ।
रङ्गमा रूप उत्रिन्छ्यौ कहाँ छैनौ तिमी तिमी ।।

थुम्थुम्याई उता तारा शैलमाला हुँदै तल ।
बस्ती– बस्ती गरी गस्ती पाछ्र्याै धर्ती समुज्ज्वल ।।

आँैसीको धारले रश्मि रेटिएनन् कहीँ कतेै ।
हुरीका साथका मेघ बिलाए ढुन्मुनाउँदै ।।

जुनेली ! सुकिलो रूप अझै साँच अनन्तमा ।
म हुँ नाटकको पात्र, पर्दा लाग्दछ अन्तमा ।।

सपनामा हराएको बिपना
(मन्दाक्रान्ता)
अग्ला सेता हिमगिरि यहाँ होचिए वाद अग्ल्यो
कस्तो आयो नवयुग अहो ! बाजले बुद्ध च्याप्यो ।
सिस्ना घारी वरपर तिनै ठानिए कल्पवृक्ष
रङ्गीचङ्गी बस– उठ यहाँ देखिँदै छन् प्रत्यक्ष ।

के हो को के विजन पथमा छैन क्यै छ्यानब्यान
पैह्रेका छन् मुकुटमणिझैँ त्यागले अन्ध मान ।
स्वप्ना भन्दै वणिकजनको मात्र व्यापार जाग्यो
पर्दा लाग्यो सृजनपथमा लोकमा शोक छायो ।

ढुङ्गा हान्ने कलुष मनका अग्लिए सान साथ
श्रद्धा गर्ने मन थकित छन् माथ माथि छ हात ।
उस्तै छन् ती गरिब दुनियाँ छैन क्यै रूप अर्काे
काँपेकै छन् लुगलुग कठै ! ढाकिने छैन बर्को ।

स्रष्टा योद्धा अटल दिलमा भाव यस्तै थियो त ?
भन्छौ स्वप्ना युगपुरुषको मान के अर्पियौ त ?
भो भो यस्तो छलकपटको भाव दुष्कर्म त्याग
बोलीभन्दा रगत पसिना साथ सत्कर्म जाग ।

जस्ले त्याग्यो रहर मनको देश भन्दै जवानी
छाती थापी कहरपथमा अर्पियो जिन्दगानी ।
कस्ता कस्ता गिरिवर झुके, लत्रिए वीर सामु
स्वार्थी बन्दै नभज सपना, गर्न क्यै लम्क आफू ।

यै माटो हो सकल जनको प्राण आधार भन्दै
माटो छोई नरम दिलले स्वच्छ आकाश खोज्दै,
आफ्नो भन्दा जहर घरको त्रासले रन्थनायो
त्यो आत्माले भन त कसरी आज के त्राण पायो ?

यो माटोमा अब त रसिलो फूल क्यै फुल्नुपर्छ
भोका नाङ्गा विकल सबको भाग्य क्यै खुल्नुपर्छ ।
आशा साथै अझ रहरले मुक्त सोपान उक्लौँ
छाया चिर्दै नव– किरणले सृष्टि सौन्दर्य साँचौँ ।

आफैँ बिर्सीे सृजन पथको खोजमा लम्किएका,
गोली थापी जनमघरको सार भै चम्किएका,
ती तन्नेरी वय र सपना भुल्न के हुन्छ आज ?
त्यै आत्माको अजर बलको दान के हैन ताज ?

बुद्धिजीवीः अनौठो किंवदन्ती
(अनुष्टुप्)
मलाई आज लाग्दै छ किन बन्दै छु पत्थर ।
त्यो ढुङ्गो र ममा के छ त्यस्तो ताŒिवक अन्तर !!

चँुडिन्छन् पूmलका थुङ्गा मेरै आँखा अगाडि नै ।
छैनन् निषेधका भाषा, व्यवधानहरू कुनै ।।

म खालि बाँच्नकै निम्ति झुटो बोल्छु निरन्तर ।
बतास सास के चल्छ भित्र गर्दै छ सर्सर ।।

म मान्छे कहिले हुन्छु, पाठ मैले छ पढ्नु के ?
सिङ पलाउने हो कि, हो कि पुच्छर आउने ?

झोला त्यो कपडा थैलो बोकेछु भरिया बनी ।
त्यस्तै कागत बोकेछु कापी–किताब क्यै भनी ।।

दसी, प्रमाण क्यै पत्र, थोत्रो, खोटो र जर्जर ।
तेस्र्याई मोल माग्दै छु स्वयम् मान्दै दिगम्बर ।।

विवेक ज्ञानको खेती अहङ्कार र दम्भले ।
किराले झँै सबै खाए बीउ मासे अचम्मले ।।

छैन उत्सर्गको भाव, लोभमात्रै छ जिउने ।
ईष्र्यालु मनमात्रै छ आफूमात्रै रमाउने ।।

‘कर्तव्य’ यसको अर्थ खोजी मैले कहाँ गरेँ ?
अथवा अर्थ घोकेर व्यवहार कता झरेँ ?

मान्छे हुँ पनि भन्दै छु, मेरो पनि समाज छ ।
म हेर्दिनँ त्यहीँ मेरो कुरूप रूप अङ्कित ।।

पाइलासित डुब्दै छु म आफँै एक्लिँदै कता ?
मलामी पाउनै गाह्रोे मेरो कस्तो महानता !!

बेहोसी ताल यसैमा काल निर्दयी भै झ¥यो ।
म बाँचेर पनि के भो, कठै ! मानवता म¥यो ।।

बाघले माला जपेपछि
(अनुष्टुप्)
साथमा मन्त्रमाला छ, खरानी छ ललाटमा !
शाकाहारी बनेँ भन्छ बाघ आई समीपमा !!

गरूँ विश्वास के होला ? नङ्ग्रा दाह्रा उचाल्छ कि ?
धर्मसङ्कट यो कस्तो ! क्षणभित्रै पछार्छ कि !!

बास कहाँ बसेको थ्यो, कुन संस्कार हुर्कियो !
मिर्ग साथै बस्यो कि वा तिनैलाई सिधै निल्यो !!

नबुझी अघिको यात्रा साथै मन्त्र कता जपौँ !!
शिर छोपौँ कि वा मैले मुटुलाई अझै कसौँ !!

सिकारी जातकै जङ्गी, जाति आफ्नै विरुद्धमा !
अचम्म ! कसरी लाग्यो, छैन उत्तर प्रश्नमा !!

मेरो मानवतालाई खोज्छ तौलन कि अझै !
दिनमा चिम्लिँदै आँखा, गर्जन्छ कि त रातमै !!

माला जप्दै कि यो आयो, मेरो बाटो चियाउन !
उठ्ता शङ्काहरू ज्यादा म सक्तिन निदाउन !!
अभिशापित धर्तीको कथा
(शिखरिणी)
थियो चोखो चोला जहरमय त्यो कष्टक्षणमा
प्रभातीले गाल्यो कुन नियति भित्र्यो पयरमा ?
पुजेको आस्थाको अतुल प्रतिमा खै त अब त्यो ?
ढल्यो आभा आजै जनमन अँध्यारो किन भयो ?

कहाँ खोजौँ चोखा विगत पथका प्रेम लहरी ?
टुटे सारा नाता रस र रसनाका वश परी ।
अँधेराले कैल्यै किन– किन नछोड्ने प्रण ग¥यो !
निशालाई ढोग्ने चलन किन उस्तै बसिरह्यो ?

कहाँ छन् ती स्वप्ना, अगलित कथा, त्याग, तपसी ?
बने छाना, गाना भजन अब एकै छ वयसी ।
हिमाली पाखाको रस र ममता आज किन हो ?
खसे, मुर्झे सारा जड पयरमा दम्भ किन यो ?

निराशा आशामा, मन अमनमा नै बदलियो
पुगेको खै वाचा ? जुन दिन गरेको प्रण थियो ।
उडे बाठा अग्ली विजय पथ अग्लो गगनमा
पुग्यो ‘वाचा’ जम्मै अब त ममता के जमिनमा !!

उनेका मालामा कति– कति थिए फूल रसिला !
सुके सारा व्यर्थै मृदुल मुटुका कुड्मल कला !
प्रतीक्षा चौतारी अब त दिन सन्ध्यातिर स¥यो
कहाँ के भो, खै खै ! हृदय किन बोल्दैन उसको ?

प्रलय– पथ
(अनुष्टुप्)

आँतमा दाँत बोकेका डुल्छन् जëाद लस्कर ।
यिनैका चालले गर्दा म बनेँ डरको घर ।।

तिखा छन् हातका नङग्रा तीर बोकी रमाउँछन् ।
आगोझैँ मन भै तातो फूललाई समाउँछन् ।।

खडेरी पल्टियो कस्तो विचार, सिर्जनातिर !
स्वयम् घोषित यी योद्धा, छन् कस्ता दिल जर्जर !!

ईष्र्यालु मनमा कालो कालकै हुन्छ चिन्तन ।
मट्याङ्ग्रो पोलिँदा माटो बने जीवन नै वन ।।

हिमाली रूप छन् फुङ्ग पोतिँदा रक्तरङ्गले ।
रुग्ण छन् बुटीकै पाखा कुल्चिँदा बुटबूटले ।।

चाँदनी रूप अम्लान घना बादलले लुट्यो ।
हानी आलोकमा कोर्रा रात आँखाभरि बस्यो ।।

म हाँसूँ कसरी आज खस्दा शृङ्गार माधुरी ।
म रोऊँ कसरी आज रित्तिँदा अश्रु– निर्झरी ।।

भावनाका चरी फस्छन् कति झल्लरी जालमा ।
आँखाका दृष्टिमा पर्दा कति लाग्छन् अकालमा ।।

भाषा यो मनको बोली बुझ्छ को आज बासमा ।
आततायीहरू चढ्छन् सोपान मस्त सानमा ।।

वेदना– वेदना पग्ली बने अस्मेल सागर ।
धड्किएको हिया छाम्दा किन पाइन्न उत्तर ?

ननिभ्ने भुसको आगो भित्रभित्रै छ दन्दनी ।
अझ त्यै खोस्रिँदै ताप्छन् सत्ता शासनका धनी ।।

परदेश बने मेरा जन्मका घर– आँगन ।
प्यादा लगाउँदै हाँस्छन् हाड घोटेर चन्दन ।।

अझै फूल कति झर्लान् , शूल उठ्ला अझै कति !
मान्छे रित्तै कति होलान् चोरिँदा भाव– सम्पत्ति !!

म न्यानो घाम कल्पेर हेर्छु आकाश पूर्वको ।
प्रतीक्षा अनिँदो आँखा दाह्रा लामो छ रातको ।।

कविता कसका लागि !
(अनुष्टुप्)

योद्धा ऊ युद्ध लड्दै छ उठ्न सक्दैन त्यो कतै ।
मुटु ताक्ने कहाँ उठ्छ ? ढल्छ ऊ पनि सङ्सँगै ।।

बच्चाका गुँड नै भत्के बुढाका दण्ड भाँचिए ।
खेतबारी सबै आज आँसुले मात्र रोपिए ।।

आँखा देख्दैन गोलीले देख्नेले पनि चिम्लियो  ।
छुट्टै रगत हो मान्छे , मान्छे नै किन उम्लियो ?

युगकै जग भत्काई के उठ्छ युगको घर ।
तर त्यो जित नै ठान्छ धुन्धुकारी निशाचर ।।

मेरा पाठक खस्तै छन् के लेखूँ कविता, कथा !
यी आँसु कतिमा छर्कूँ सहूँ बाधा कति व्यथा !!

उपहास बनेको छ, मेरो शान्त सुशीलता ।
घाम लाग्दा पनि देख्छु, म त रातै जतातता ।।

लुटेको हेर्न को सक्छ, फूललाई कतै पनि ।
आँसुमा पौडिँदा रम्ने, हुँदैनन् मनका धनी ।।

अभिलाषा
(मन्दाक्रान्ता)

शिक्षा– दीक्षा घर– घर पुगोस् झोपडी कन्दरामा
भोका– नाङ्गा विकल नबनून् आज कोही धरामा ।
सानो ठूलो विषम मनको मेटियोस् भेदभाव
मान्छे– मान्छे सम हृदयको अग्लियोस् मित्रभाव ।

होऊन् बन्दै प्रलय– पथका दम्भ उन्माद सारा
सुक्दै जाऊन् नजरभरिका आर्तका अश्रुधारा ।
श्वासै रोक्ने अनल नबनोस् व्योम उत्पात ज्वाला
फैलून् चारैतिर तिमिरमा शान्तिका दिव्य– पाला ।

झर्दै जाओस् समर सपना हार निः शेष बन्दै
आऊन् लाखाँै प्रतिपल नयाँ सिर्जना रूप बोक्दै ।
आँखा खोल्ने सकल जनका फैलिऊन् पाठशाला
नङ्ग्रा – दाह्रा गलित सब हुन् भावना हुन् उज्याला ।

मान्छे के को नजर नभए त्रास के जिन्दगानी ?
गल्ने ढल्ने पयर छ भने मार्ग के के जवानी ?
आफ्नै छाती रस हृदयको चिन्न जो सक्छ मूल्य
बाँच्ने त्यो हो अजर वयको प्राण त्यै हो अमूल्य ।

जाडो आँधी सहन नसके भेट्छ को स्थान अग्लो
मैलो बोक्ने जहर मनले भेट्छ के मूल सङ्लो ?
आभा बल्छन् सबल मुटुमा रक्त– सञ्चार हुन्छन्
अग्ली फुल्दा कलकल कला विघ्नका आँत गल्छन् ।

आऊ यात्री सृजन पथका दिव्य आलोक छर्दै
आफ्नै माटातिर नजिकिँदै स्नेह सञ्चार गर्दै ।
तिम्रो आस्था अमर दिलको फूल नौलो सजाऊ
यात्रा तिम्रो सब सफल होस् सानले सान छाऊ ।

यात्राका विधानहरू
(अनुष्टुप्)

काँडा छन् डाँठमा किन्तु फूल फुल्छन् उचालिँदै ।
कहाँ पर्दा भयो आँसु ? हेर आँखा जताततै ।।

छेक्यो परिश्रमी कस्को केले ऊर्जा र उन्नति ।
एक्लो मान्छेभरि जन्मे सम्पत्ति कति सन्तति !!

आलस्य मनले मात्र देख्छ अग्लो छ टाकुरा ।
उद्यमीहरूले मान्छन् पाइलामुनिका कुरा ।।

ग्रीष्म वा शिशिरै आओस् तपस्वी ध्यान गर्दछ ।
शिखामा शिर तन्काई रातमै दीप बल्दछ ।।

असम्भव छँदै छैन कर्मीको शब्दकोशमा ।
लम्कने पाइला हुन्छन् नित्य नवीन बासना ।।

कलाकार कला बोल्छ भाषा मानव मात्रको ।
फूलको रङ्ग सौन्दर्य न हो जाति न धर्मको ।।

कतै विज्ञापनै छैन तारा ,चन्द्र र सूर्यको
आलोक पथभित्रै छन् कहाँ लेश छ दम्भको !!

पसिना कर्मको बाटो चोखो हुन्छ जहाँसुकै ।
लुटेर पसिना खाने सक्दैनन् मन उठ्न नै ।।

कोइली शिल्पकी रानी गुणले नै छ उन्नत ।
ऋतुकी पारखी कस्ती गणित कति निश्चित !!

निद्राका दुनियाँलाई प्राप्त अनर्थका हुनन् ।
यात्राका झरनालाई धिक्कारीकन लत्रिनन् ।।

सृष्टि विविधताभित्र  रूपै– रूप अनेक छन् ।
काँडा वा फूल के बन्ने चुन्नेकै मनभित्र छन् ।।

विडम्बना !
(अनुष्टुप्)

हिमाली महिमा सुन्दा डाहा होला विचित्रको ।
माटो यो बुद्धको भन्दा चर्केला कान दुष्टको ।।

प्रकृतिका नदी– नाला, ताल देख्दा रसाउला ।
लुट्नलाई यिनै सान जाली जाल फिँजाउला ।।

वन, पाखा झनै राम्रा फूलका बाग सुन्दर ।
किन काढ्दैनथ्यो ¥याल सुन्दा गêर गौरव ।।

रत्नै रत्न यही खानी, यही औषधिको घर ।
तपस्वी ज्ञानको धाम– धर्मका मठमन्दिर ।।

सानो भूगोल यो किन्तु इन्द्रेणी रूप उज्ज्वल ।
भाषा भेष सबै राम्रा शूरता वीरता बल ।।

देख्दा– सुन्दा सबै राम्रा भित्र लोभ पलाउला ।
हेर्दै समयको मौका बाज आँखा घुमाउला ।।

कला– काव्यहरू बाँचे, भाव साँचे अनन्तमा ।
मेटिन्नन् यिनका रङ्ग अझ उठ्छन् उमङ्गमा ।।

राजनीति कहाँ सुन्छ यी स्वाभिमानका कुरा ।
अझ उध्याउँदै जान्छ मुटु टुक्रयाउने छुरा ।।

सल्काई घरमा आगो उज्यालो हुन्छ, ठान्दछ ।
बोकेर काँधमा शत्रु हार्दिक मित्र मान्दछ ।।

सलामी बैरीको गर्दै मलामी देशको हुँदा ।
सन्ततिले कहाँ टेक्लान् ? भेट्लान् के मान– सम्पदा ?

युवक
(मन्दाक्रान्ता)

बाँझो धर्ती मल जल कला उर्वरा शक्ति फाँट
तिम्रै आँखा हरदम नयाँ हेर्दछन् भित्रबाट ।
गर्छाै यात्रा रवि किरण भै लेक बेँसी गरामा
बाल्छौ बत्ती अनुपम नयाँ शैलका कन्दरामा ।

तिम्रै स्वप्ना करकमलमा खुल्छ  नौलो वसन्त
तिम्रै आँखा अमर पथ जो ग्रीष्ममा हुत्र अस्त ।
खुल्छन् फुल्छन् कहर पथमै माथ तिम्रा पवित्र
माया तिम्रै युवक दिलमा देश सिङ्गै छ भित्र ।

आँखा चिम्ले युवकहरू ए देशको सान झुक्छ
आँखा खोले युग– युग नयाँ चेतना सल्बलिन्छ ।
स्रष्टा आफँै कर युगल हौ ज्ञानका मूल केन्द्र
ह्यूूँचूली हौ सरस रसले सेच आफ्नै समुद्र ।

हट्दै कोलाहल रुधिरको पाशवी मार्गबाट
मान्छे जन्म्यो अमर सपना ज्ञान तिम्रै विवेक ।
तन्देरी हे ! थकित उनको बोक भारी गरुङ्गो
बन्दै जाऊ शिशिर ऋतुमा ज्ञान बल्दो फिलिङ्गो ।

अन्धो आँखा युग– युग नयाँ दृष्टिले जो छ शून्य
आफँै आफ्नो रसमय कला चित्र सक्तैन मूल्य ।
तन्देरीको सबल बलको बिन्दुमा सिन्धु हुन्छ
माटो बाटो सृजन दिलमा खुल्छ फुल्दै रहन्छ ।

कालो मैलो तिमिर जगमा डाक नौलो बिहानी
काँडाभित्रै पनि कुसुमको बोक त्यो जिन्दगानी ।
रोप्दै जाऊ अमर पथ त्यो बीज बारी र खेत
स्रष्टा शिल्पी युवकहरू हो ! शान्तिका अग्रदूत ।

सहिद
(अनुष्टुप्)

नीलो आकाशमा घाम जून बन्दै उदाउँछ ।
मुटुको दीप बालेर मृत्तिका उजिल्याउँछ ।।

आँसु टिल्पिल गर्दैन र्धैर्य टुट्दैन विघ्नमा ।
हान्दै अन्यायमा कोर्रा उक्लन्छ शिर शैलमा ।।

निल्न सक्तैन रात्रीले उसको चेतना छवि ।
अन्धकार कहाँ बोक्छ प्रातः जन्माउने रवि ?

बोलेर युगको बोली युग बोकेर आउँछ ।
मान्छेभित्र नयाँ जोश नयाँ जाँगर ल्याउँछ ।

शस्त्र– अस्त्र सबै जाली निर्धाका हतियार हुन् ।
नेल जन्जिर सङ्गीन खिया लागेर  टुट्दछन् ।।

माकुरो जालमै पर्छ चमेरो मर्छ काँतर ।
बाज नङ्ग्रा सबै गल्छन् ढल्छन् ती दुष्ट प्राचीर ।।

सहिद सिर्जना हो ऊ फुल्दै छर्दछ वासना ।
वासना रङ्ग रित्तिन्न मर्दैन शुभ – कामना ।।

न्यायको निम्ति उत्सर्ग बन्न सक्ने तपस्वी ऊ ।
ऋतु काल सबै जित्ने युग आलोक पुञ्ज ऊ ।।

अजम्मरी बुटी हो ऊ स्रष्टाको दिव्य– अङ्कुर ।
जहाँ पनि ऊ उम्रन्छ धर्तीै आकाश सागर ।।

निभ्दैन सत्यको ज्वाला रक्तबीज अनन्त छ ।
मान्छे ऊ भित्र अर्कै छ जीवन्त छ अदम्य छ ।।

अर्थ ÷अनर्थ
(अनुष्टुप्)

छिटै अमर मर्नाले, अशोक शोकमा प¥यो ।
आरोग्य रोगले गल्दा, अभय भयले ढल्यो ।।

कुमारी गर्भकी भारी, पति कुमार छन् घरै ।
मौनता जोडले बोल्दा लाग्यो नि घर चर्कनै ।।

रमिता दिनहुँ काम गर्दा– गर्दै गलीसकी ।
निर्जला जलमा डुब्दै आँखा चिम्ली चलीसकी ।।

‘इयरफोन’ले मात्र कर्णले कान सुन्दछ ।
लठ्ठी समाउने गुम्दा हस्तको झन् बेहाल छ ।।

निर्मल मल छर्दै छ खेत– बारी सबैतिर ।
बुद्धभक्त खसी काटी लिन्छ पैसा निरन्तर ।।

नेत्र खोज्छ उता चस्मा, पढ्न– लेख्न बस्यो भने ।
बलवीर कति दुब्लो बिचरा छ पिलन्धरे ।।

दाताराम छ त्यो लोभी, दयाराम छ निष्ठुर ।
माया र ममता हान्छन् हतियार परस्पर ।।

शीतल घामले गर्दा घामजस्तै बनीसक्यो ।
रुँदा, चिच्याउँदा शान्ति नूर पूरै गिरीसक्यो ।।

प्रदीप दीप सल्काई अन्धकार भगाउँछ ।
कर्मवीर सबै काम अर्कालाई लगाउँछ ।।

रूपमा गोलको थुप्रो नाम पाइछ सुन्दरी ।
निशामा दरिई अर्की बिचरी रूपकी परी ।।

वसन्त सन्त भेटिन्न, वज्रजस्तै कठोर छ ।
भेटिन्न जयमा जीत, हारको मात्र हार छ  ।।

छैन सौरभमा बास्ना, छैन गौरवमा कला ।
कलामा नै कहाँ होला, मनै लठ्याउने गला !!

किन यो नाममा गर्व, कर्म मेसो कतातिर ?
कर्महीन कहाँ बन्छु म धाम मठ– मन्दिर ?

मालीहरू
(शार्दूलविक्रीडित )

फाटी बादल दूरदेश मनको लाली चढ्यो पूर्वमा
आफ्नै वीर पराक्रमी गुणसँगै बोकी नयाँ सिर्जना ।
योद्धा आँट अदम्य साहससँगै सङ्ग्राममै लम्किए
डाँडा फाँट विचित्रका कुसुमका माला हुँदै गाँसिए ।

स्रष्टा आदिम कालका उदय हुन् आफै जहाँ अर्पिए
ती हुन् पूर्वज जो यहाँ गुण–कथा रोपेर केही गए ।
माली जो तिनका सुपुष्प दुनियाँ नेपाल उद्यान हो
नौलो रूप कला गला सृजनको बोकेर फुल्दै छ यो ।

आँखा हो, मुटु हो, असङ्ख्य गरिमा संसार ब्रह्माण्ड यो
सिर्जेका विधिले कुनै रहरमा नौलो नयाँ स्वर्ग हो ।
वाणी निश्छल यी प्रशान्त मनका मान्छे स्वयम् देवता
आफ्नै सुन्दर कान्तिमा चहकिने नेपाल हो एउटा ।

सच्चा रूप विवेकले प्रगतिमा मान्छे स्वयम् जुट्दछन्
आफ्नै पावन कीर्तिमा विजयका झन्डा सधैँ उठ्दछन् ।
गौरी शङ्कर जानकी हिमछटा प्यारो कथा रामको
बोक्ने बुद्ध, कला सधैँ हृदयमा यो देश नेपाल हो ।

यी झर्ना छहरा हिमाल चुचुरा पाखा र मैदान जो
डाँडा पर्वत शैल भीर पहरा संयुक्त नेपाल हो ।
छन् यी जात विभेद वंश बिरुवा एकात्म्य आवद्ध जो
नेपालीपनले सधैँ विजयको संसार आफ्नै छ यो ।

तातो रक्त कथा कला हृदयले जो मूर्त भै उठ्दछ
आफैं आफ नबिर्सिए कहरमै अम्लान झन् फुल्दछ ।
स्रष्टाको जुन आश हो सृजनको पर्दै गयो हातमा
अल्पी रात गयो नयाँ प्रहरले ल्यायो रवि प्रातमा ।

(मन्दाक्रान्ता)

यात्रा लामो कठिन तप हो छैन विश्राम जाने
हिँडदै गर्दा नव–नव कला बोक्छ यै हत्केलाले ।
पैलो झुल्को हिमगिरि सधैँ स्नेह बोकी अँगाल्छ
सङ्लो आस्था अविचल कला वीरकै साथ हुन्छ ।

मान्छे नै हो अमर पदको सिर्जनाको मुहान
बोकी उठ्ने शिर पयरले नित्य नौलो बिहान ।
फुल्ने झर्ने रस विरसको हर्ष विस्मात आफ्नै
मान्छे नै हो नयन रसको सार संसार आफैँ ।

बाटो बिर्से अमरतिरको भासमा मूच्र्छना छ
घोच्लान् उस्तै कटुवचनले प्राणको सार के छ ?
आभा आफ्नो हृदयभरिको याममै बल्नुपर्छ
बाढी पस्ला समयपथमा ख्यालले छल्नुपर्छ ।

पुर्खा हाम्रा अमर पथका कर्मका हुन् निसान
माटो खोज्दै हरपल यतै अर्पिए प्राण, मान ।
हामी को हौँ कुन रगतले प्राण हाम्रो जगायो ?
खोजौँ चाँडै कुन नियतिले होस केले हरायो ?
खेतीका कुरा
(अनुष्टुप्)

विकासे धान रोप्दै छौँ खन्नुपर्छ कुलो नयाँ ।
सिचाई नपुगे सुक्लान् ब्याडमै धानका बियाँ ।।

नओढून् डिलमा छाता जमिन्दार बनी कुनै ।
हलो, रोपार, बाउसे बन्नुपर्छ सबै– सबै ।।

कुलो भत्काउलान् राति पानी चोर्नेहरू मिली ।
काटेर खेतका आली उनै गर्लान् ढलीमली ।।

रोप्तैमा काम सिद्धिन्न बिरूवा खान्छ झारले ।
मल, पानी मिलाएर गोड्नुपर्दछ हातले ।।

चनाखो नबने फेरि धाँजा फाट्लान् सबै गरा ।
किरा छिर्दै जरा खाँदा मुर्झेलान् नव– आँकुरा ।

सुगा, सलहका ताँती हेर्छन् मौका यतैतिर ।
चोर आँखाहरू लाग्दा कहाँ सह रहन्छ र !!

भेल– बाढी, असिना र पैह्राले लान सक्दछ ।
नगरे समय ख्याल आखिर रूनुपर्दछ ।।

झरी बादलकै भित्र पाइला जो उचाल्दछ ।
परिश्रमी उसैलाई स्वादिलो गाँस मिल्दछ ।।

भकारी नभरेसम्म छैन आरामको पल ।
भकारी भरिँदा टम्म हुन्छ जीवन झल्मल ।
बेहोसी
(अनुष्टुप्)

गुरु कस्ता थिए तिम्रा, पाठशाला कता थिए !
धुन्धुकारी तिमी बन्ने प्रशिक्षण कता दिए !!

सिकेछौ पाठशालामा निषेध मात्रका कुरा ।
न दिन्छौ हिँड्न नै बाटो न दिन्छौ बढ्न आँकुरा ।।

अर्तीलाई पनि गाली ठानेर डस्न खोज्दछौ ।
अर्काको घरमा व्यर्थै नसोधी पस्न खोज्दछौ ।।

फूलजस्ता शिशु हुन ्वा वृद्धवृद्धा कुनै पनि ।
बचेनन् निर्दयी ! तिम्रो मन गोमनको मुनि ।।

अर्काको पसिना खाई कति सक्छौ रमाउन !
अरू खेद्दै कति सक्छौ आफूलाई बचाउन !!

आगाको साथमा खेल्दै धुवाँमा रङ्मगाउँछौ ।
धुवाँकै जग हालेर घर कस्तो बनाउँछौ !!

नर वानरमा भेद अब के छ गराउने !
नङ्ग्रा स्वभाव उस्तै छन् चिथोर्ने र कराउने ।।

बलिया पाखुरा तिम्रा सिर्जनामा जुटीदिए ।
यो माटो कति फक्रन्थ्यो मति तिम्रो फिरीदिए ।।

होस छैन तिमीलाई बेहोसीसित के भनौँ !
जलेको घरमा बस्तै दिन आफ्नै कति गनौँ !!

आमा
(उपजाति)

आलोक नौलो बन जिन्दगानी
धर्ती र आकाश बनून् कहानी ।
हिमालझैँ उन्नत माथ अग्ला
यो, फाँटमा सौरभ छर्न पग्ल ।

आशा नयाँ खोज गरेर बस्ती
छन् ध्यानमा मग्न सधैँ तपस्वी ।
पुगेर तिन्मा मृदु हात देऊ
सन्तान तिम्रै सब काख लेऊ ।

बाधाहरू छन् अझ कन्दरामा
धरा– धराका कतिका गरामा ।
अपार माया गर दूरसम्म
आफ्नै बगैँचा भर फूल टम्म ।

हौ रोशनी सुन्दरता विचित्र
ताराहरूकै बल भित्र– भित्र ।
जालो हटाई मनको अँध्यारो
जीवन्त आस्था स्वर गुन्ज प्यारो ।

आमाविना सृष्टि हुँदै हुँदैन
छाती सबैको रस पग्लिँदैन ।
अजस्र धारा तनमा बगाऊ
स्रष्टा छ विश्वास अझै उठाऊ ।

नहोस् कुनै दुर्दमनीय वर्ष
सधैँ  सधैँ होस् मनभित्र हर्ष ।
मातृत्व सद्भाव कहाँ छ अस्त ?
सञ्जीवनी बाँच तिमी अनन्त ।

प्रज्ञा – पथ कतातिर !
(अनुष्टप्)

मट्याङ्ग्रा कति पोल्दै छौ, दम्भ पाल्छौ अझै कति ?
यो माटो मलिलो पार्ने किन फिर्दैन खै मति !!

झरनाको सफा पानी प्यूँने इच्छा हुँदाहुँदै ।
आँखामा किन हाल्दै छौ पर्दा रातो जतासुकै !!

गर्जना बाघको गर्दै वियोगान्त कथातिरै ।
ध्यान तिम्रा बसे कस्ता मन लाग्छ अचम्मकै !!

मृत्यु ! मृत्यु ! सधँै मृत्यु !!! कति मृत्यु पूरा भए ।
तिम्रो सत्ता सजाइन्छ, मर्न बाँकी अझै रहे ?

लेखनी हुँ स्वयम् सत्ता, खोल कान अझै पनि ।
तर्साई राख्न के सक्छौ तिम्रा बन्दुकका मुनि ?

थुत जिब्रो तिमी मेरो, गिदी भुट भटाभट ।
तर याद तिमी राख हुन्छौ आफँै सफाचट ।।

गर बास छिटै फिर्ता, गाँस फिर्ता सबै गर ।
यो सभ्य दुनियाँ माझ के टिक्छ, जडको घर ।।

माटामा फूल नै फुल्दा, जून फुल्दा उतातिर ।
किन हो यिनमा क्रोध प्रज्ञा– पथ कतातिर ?
समय गतिशीलता
(अनुष्टुप्)

पानी– पानी भनी कोही चिच्याईकन मर्दछ ।
पानीभित्रै फसी कोही बाँच्न चीत्कार गर्दछ ।।

भोकले कोही ढल्दै छन् कति अजीर्ण भैकन ।
ढल्दै छन् दुनियाँ देख्छु नाना रङ्गीन जीवन ।।

म रुँदा शोकले अर्को हाँस्छ हर्षविभोर भै ।
म हाँस्छु रुन्छ ऊ फेरि बलिन्द्र आँसु बर्सिदै ।।

समताको कुरा सुन्छु , देख्छु विषमता सबै ।
यौटै समयका यात्री जान्छन् जन्त, मलाम क्वै ।।

कतै निद्रा कतै स्वप्ना कतै छन् विपनाहरू ।
सृष्टिका रूप कस्ता यी कस्ता यी शृङ्खलाहरू  ।।

सिङ्गो धर्तीे र आकाश खण्ड– खण्ड विभक्त छ ।
घडीको सुईको गिन्ती भाषासाथ अनेक छ ।।

कहाँ थिच्दा कहाँ बल्छ, निभ्छ यो मनको दियो ?
प्रश्नमा प्रश्न अल्झिन्छ के हो जीवनको मियो ?

घाम– छाया घुमेका छन् खेल खेल्छन् क्रमैसित ।
मनभित्र डुबुल्केर खेल खेल्छन् सबैसित ।।

पग्लिएर अझै जम्छन् अग्ला यी हिमटाकुरा ।
गएर पनि फर्किन्छन् ऋतुसाथ कयौँ कुरा ।।

आँखा चिम्लेपछि फेरि खोल्नलाई म सक्तिनँ ।
निशाको कोखको घाम हुनलाई म सक्तिनँ ।।

वासन्ती कला
(शार्दूलविक्रीडित)

माटो रच्छ कला बडो गजबको बोल्दै नबोलीकन
कस्तो ध्यान अचम्मको सृजनमा संलग्नताको मन ।
मान्छे एक कला उही प्रकृतिको छाया– छवि लेपन
माटै बन्न समस्त सक्छ र कता त्यै रूपमा ब्यूँझन !!

डाकी कोकिल शब्द पत्रहरूमा पस्की मीठा व्यञ्जन
को हो ? प्रश्न विचित्रको लहरमा जन्मन्छ अर्कै मन ।
झार्दै शुष्कपना मुना नजरले तारातिरै हेर्दछन्
तारा फाँट नियाल्दछन् नयनका संवादमै मग्न छन् ।

ढोका खोल्छ शनैः शनैः किरणले च्यातेर पर्दाहरू
आफ्नै सौरभका छटासित कुनै संवाद गर्छन् तरू ।
इन्द्रेणी जलबाट फुट्न नसकी छन् पुष्पका रङ्गमा
माटो गुन्गुन गर्छ भित्र किन हो छन् के अझै गर्भमा ?

मायामा मुटु छुन्छ आत्मबलले काँडासितै कोमल
फुल्छन् जिन्दगीका कला अमर भै मुर्झन्छ दावानल ।
स्रष्टाको पदचिन्ह दृष्टि रचना मेटिन्छ कुन् मृत्तिका ?
चोखो स्वर्ण प्रभात झुल्दछ जहाँ छन् पुष्पका वाटिका ।

रोपिन्छन् मधुमासमा अमरता माटो खनी खोस्रिदै
कालो काल कराल मृत्यु नजिकै सक्दैन उघ्राउनै ।
जन्मन्छन् ऋतुराजका चरणले पाषाणमा चेतना
सारा शेष निशेष बन्छ मुटुको मर्मान्तको वेदना ।

साँचो दृष्टि नजन्मिए नजरमा मेटिन्छ रे सत्यता
भासै– भास भए सधैँ पयरमा को भेट्छ रे उच्चता ?
जाडो रीत अनन्त काल पहरा उद्यान गर्दै गरे
मान्छेकै मुटुबाट मानव कला जन्मन्छ मान्छे अरे ।

सत्ता
(अनुष्टुप्)

क्रूर हुन्छ सधैँ सत्ता लास गन्दै रमाउँछ ।
अन्धो यो चोर छोडेर साधुलाई समाउँछ ।।

सुन्दैन कान सत्ताले जस्तै रुँदा कराउँदा ।
निदाउँछ सधैँ सत्ता देशै सर्वस्व सल्कँदा ।।

माथि हुन्छ सधैँ सत्ता आँखा हेर्दैन तल्तिर ।
हेर्छ– हेर्छ अझै माथि, घुम्छ आकाश फर्फर ।।

सान रवाफ हो सत्ता दास खोज्छ यता– उता ।
खाएर भक्तको ताली नेता बन्दछ देवता ।।

अजिङ्गर सधँै सत्ता गाँस निल्छ चुली– चुली ।
उपदेश सधैँ दिन्छ देश फेर्दैन काँचुली ।।

छलछाम सधैँ सत्ता छलेर कर छाम्दछ ।
खलको बल हो सत्ता सोझाको मुटु काम्दछ ।।

सुन जागिर हो सत्ता सुन पैह्रेर नाच्दछ ।
महँगो सरको कार देशकै ढाड भाँच्दछ ।।

सत्ताको दिल नै हुन्न कहाँ पग्लन्छ पत्थर ।
आशाले पछि लागेको स्याल सन्तुष्ट के छ र ?

मेरी वसुन्धरा
(अनुष्टुप्)

वनपाखा कति राम्रा म खेल्छु सपनासित ।
गाई– बाख्रासितै डुल्छु – साथै छन् हिम– पर्वत ।।

नदी– नाला र चौतारी खेतबारी हराभरा ।
स्मृतिमा छन् सधैँ ताजा– मेरी आफ्नै वसुन्धरा ।।

किसानी श्रमको हात स्वाद मीठो छ प्राकृत ।
भोक निद्रा सधैँ मीठो माथ उस्तै छ उन्नत ।।

आँखा चिम्ले पनि देख्छु– प्रभाती पाइलाहरू ।
सपनामा नजिक्किन्नन्– आजका बिपनाहरू ।।

घाम– जून सधँै बल्छन् मेरै आँगन माझमा ।
वर– पीपलले दिन्छन्– शान्ति शीतलता ममा ।।

आमा टाढा भइन् आज बिपनामा झरिन् उनी ।
तर संवाद उस्तै छ– सपना तारको मुनि ।।

धेरै ठेसहरू लागे नौला देश– प्रदेशमा ।
खस्दा  आँसु उनै पुछ्छिन्, दल्छिन् मलम घाउमा ।।

थाकेको जिन्दगीबाट त्राण खोज्दै हराउँदा ।
म भेट्छु जिन्दगी आफ्नै– ताते तोते समाउँदा ।

द्यौराली अझ द्यौ माया लालीगुराँस स्यूरिँदै ।
झरना डाक है डाक, आफ्नै गीत सुनाउँदै ।
स्रष्टा र सृष्टि
(उपजाति)

स्रष्टा कला सिर्जन खोज्छ नौलो
जुधेर बाधासित खोल्छ दैलो ।
कहाँ छ पर्दा मुटुलाई छेक्ने ?
ताराहरूले छ र के नदेख्ने ?

विश्वासका नेत्र चमम्क चम्की
गन्तव्य भेट्छन् गति लम्की– लम्की ।
जो भित्र मिठो रसको छ स्वप्ना
ऊ फुल्छ गर्मी पथका विपद्मा ।

झर्छन् रुखा बादलका परेला
मुस्काउँछन् आखिर मात्र ठेला ।
काँडाहरू निष्फल छन् कठोर,
उल्लास भर्ने मधुमासनेर ।

सङ्कल्पको जीवन हुन्छ चोखो
शूली चढी पुष्प हुँदैन खोटो ।
फैलिन्छ चारैतिर सौर शोभा
रात्री ढली झल्मल हुन्छ आभा ।
सद्बीज माटो बनी फुल्न खोज्छ,
जरा– जरा पल्लव कामना छ ý
भने स्वयम् पत्थर गल्छ– गल्छ ।
अठोटमा जर्जर काल ढल्छ ।

आँधी हुरीको सपना त ढल्छ
लुटेर माया कति टिक्न सक्छ ?
डुब्दा उता पश्चिमबाट घाम,
रोकिन्न कैल्यै शिरको प्रणाम ।
फूल र आगाका रुपका मान्छेहरू
(अनुष्टुप्)

माथि हिमाल मुस्कन्थे तल गुराँस जङ्गल ।
झरना काखमा च्याप्तै बग्दथे नदीका जल ।।

आङमा घामले पोल्दा हम्कन्थे वर– पीपल ।
जरूवा मुखले प्यूँदा थपिन्थ्यो ज्यानमा बल ।।

ढुङ्गा– माटा जरा– थुम्का सिरानी नीदका थिए ।
गाई चराउँदै खेल्ने दौँतरी दिलका थिए ।।

आफ्नै भेष थिए प्यारा, थिए सुन्दर कन्दरा ।
कुलो काटी सिँगारेका राम्रा थे धानका गरा ।।

गँगटा, पतेरा, मुसा, सलह र झुसिल्किरा ।
थिए यी यिनका शत्रु, थिए क्यै भेलका कुरा ।।

असिनाबाट तर्सन्थे , पसिना लुट्छ कि भनी ।।
आफ्नै संसार थ्यो प्यारो खुला आकाशको मुनि ।

मेला पर्म मिली गर्थे, मान्छे हुन्थे सधैँ सँगै ।
मेलमै चल्दथ्यो काम रिस– राग थिएन क्यै ।।

श्रमका पसिना पग्ली लेक बेँसी भिजाउँथे ।
सिमेभूमे पूजा गर्दै हाँसी– खेली रमाउँथे ।।

जुट्थे, मानवता नाता, जन्ती, पर्व, मलाममा ।
आँसु– हाँसो सबै बाँड्थे कोही पर्थेन मारमा ।।

पुर्खाको पदको माटो आ– आफ्नै साथमा थियो ।
घरभित्र दियो बल्थ्यो, खलामा जम्दथ्यो मियो ।।

उज्यालो धर्तीमा खस्ता शिर आफ्नो उठाउँथे ।
रोपाईं, दाइँमा रम्दै गाँस मीठो जुटाउँथे ।।

चरा चिर्बिरले खेल्ने स्वर्गजस्तै थियो धरा ।
दुर्भाग्य ! यसमै आज पलायो विषको जरा ।।

न फुल्ने फूल स्यूरेर शिरमाथि घमन्डको ।
आगाका रूपका मान्छे बल्न लागे विचित्रको ।।

दन्दनायो पूरै बस्ती उड्न लागे सबै चरा ।
चर्का क्रन्दनले चर्के मान्छेका कानका जरा ।।

प्यारो यो गर्विलो माटो बोक्थ्यो शालीन, शिष्टता ।
सकेनन् फूलले थाम्नै उग्रज्वाला अशिष्टता ।।

अनन्त ऋतुको चक्र ग्रीष्म बस्ला कति दिन ?
उम्लिएर तलै खस्ने जल हो हेर जीवन ।।

तिमी
(अनुष्टुप्)

हिमालझैँ तिमी हाँसी हँसाऊ अरूको दिल ।
कोपिला छौ तिमी आज फूल सुन्दर भै फुल ।।

पुतलीझैँ तिमी नाच हर्षले बन हर्षित ।
आशा हो जिन्दगी न्यानो मन पार अकुण्ठित ।।

बस्तीमा तीर को हान्छ लुकी आज अचम्मले ?
यो सिर्जना हुँदै हैन मन भाँचिन्छ विघ्नले ।।

ए मेरा भोलिका आशा मेरा सिर्जनका गरा ।
त्यो अँध्यारो, भिरालोमा के भेटिन्छ र टाकुरा !!

छन् तिम्रा मनमा मीठा बान्किला सपनाहरू ।
कति आकार खोज्दै छन् मनका कल्पनाहरू ।।

उठी आज तिमी नौलो दैलो खोल प्रभातको
जलेको आँतमा छर्क रसधारा विवेकको ।।

जून बन्छौ तिमी तारा, सितारा नै म ठान्दछु ।
टेक्न खोजेँ कुनै लौरो जेमा आधार मान्दछु ।।

इतिहास तिमी लेख्छौ मलाई नै बिनी – बिनी ।
प्यारा सन्तति ए ! मेरा आँखा– कान सबै तिमी ।।

शिक्षक
(शार्दूलविक्रीडित)

साना बालकमा नयाँ पथ दिने जिम्मा तिमीमै छ रे
आँखा ज्योति बिलाउँदै तल झरे माटो कठाङ्ग्रिन्छ रे ।
डाँडा पर्वत शैलले सुदिन क्यै मुस्कानको जीवन
खोज्छन् हात बढाऊ कर्मपथमा कर्तव्य सम्झीकन ।

आभा पश्चिमबाट झर्छ नभको त्यो पूर्वमा खुल्दछ
द्रष्टा रात निदाउँदैन कहिल्यै झन् रातमै बल्दछ ।
द्रष्टा ए ! नव सिर्जना बन तिमी पग्लेर अग्ली उठ
मोती मात्र नबाँच खालि सपना आकाश आफ्नै जुट ।

तिम्रा काँध र पाखुराबल बने सत्कर्मका साधन
तिम्रै छेउ टुसाउँछन् कुसुमझैँ लाखौँ हजारौँ मन ।
छातीमा ममता लिएर निशिको आलोक भै चाँदनी
ज्यूँदो जीवन बाँच आर्तदिलमा छम्केर सञ्जीवनी ।

छैनन् के मुटुमा अनन्त सपना ! छन् भित्र ती सल्बल
उठ्नै पर्छ तिमी नरोक तिनको बाटो बनोस् निर्मल ।
हारै हुत्र कदापि सत्य पथको त्यस्कै गरी आदर
माटोमा भर क्यै कला बल तिमी विश्वासको जाँगर ।

परिचय
(अनुष्टुप्)

म नेपाली हिमाली हुँ पग्ली  अग्लिन्छु यो शिर ।
लालीगुराँस भै फुल्छु नीलो आकाशमुन्तिर ।।

म घाम– जूनको भित्र तारा भै छवि छाउँछु ।
हराभरा गरी धर्तीे पसिना उजिल्याउँछु ।।

पहरामा फुलिदिन्छु सुन्गाभा फूलको जुनी ।
इन्द्रेणी छहराभित्रै खुल्छु अम्लान रोशनी ।।

बाघको डमरू कैल्यै सिनो खान म झुक्दिनँ ।
बलबाहु सधैँ उठ्छु म बुद्ध मुटु सुक्दिनँ ।।

हेर्छु जनकका आँखा छाती छ बलभद्रको ।
अमर– भक्तिकोे आत्मा माटाको लाउँछु टीको ।।

हुँ कस्तुरी बुटी चोखो हिम छम्कन्छु अग्निमा ।
नसा गण्डकी भै बग्छु आस्था छ दूधकोशीमा ।।

शिव– सङ्कल्पले माटामाथि अर्पिन्छु पाखुरा ।
शान्तिदूत म लम्कन्छु गरा, पाखा र टाकुरा ।।

मुटुजस्तै छ माटो यो मेरो हो जन्मको वर ।
कर्मले पार्न चाहन्छु घर आलोक मन्दिर ।।

विवेक
(शार्दूलविक्रीडित)

मान्छे उर्वर शक्ति हो हृदय हो विश्वास हो त्याग हो
मान्छे कर्म विवेक हो उदय हो सत्धर्म हो ज्ञान हो ।
धर्ती आदिम यो अपूर्व रचना नानाथरी कल्पना
तारा– चन्द्र र सूर्य हो झिलिमिली ब्रह्माण्ड यै चेतना ।

छाती निर्मल आँकुरा छुनमुने नौलो नयाँ रोशनी
आफँै टल्टल टल्कने सदयता निर्माण हो जीवनी ।
पर्दा तन्मय फाँटमा तिमिरको भासिन्छ त्यो भासमा
गल्दै झर्छ कला गला सरसता अज्ञानको रातमा  ।

माटो बुद्धि विवेकमा दिनदिनै दाना बनी भmुल्दछ
बाटो बुद्ध प्रबुद्धको प्रतिपला नौलो नयाँ खुल्दछ ।
मोती गम्भिर सिन्धुपार पथको भेटिन्छ रे पींधमा
स्वप्ना अन्तर चेतना हृदय रे मेटिन्छ त्यो नीदमा ।

मान्छे धर्ति नहेर्दिए धरतिले हेर्दैन कैल्यै पनि
आफ्नै पावन दृष्टि तारहरूमा बल्ने नयाँ जीवनी ।
आफैँ बास नखोजिदे धरतिले गर्दैन आह्वान त्यो
मान्छे बास र वासना सब कला व्यक्तित्व यै चेत हो ।

आँखा भित्र छ भित्रबाट पथ त्यो निस्कन्छ जो कर्ममा
फुल्छन् तर्क– वितर्क कुड््मल सबै यै कल्पनोद्यानमा ।
आँखा बाहिर चर्मको प्रलय हो खोक्रो स्वयम् भmर्दछ
मान्छेभित्र छ मानवीपन भने मान्छे कहाँ मर्दछ !

आयो शून्य समाधिमा सृजन त्यो मान्छे यहाँ एकलै
चिम्ली लोचन शून्यमा प्रलयमा यात्रा छ नौलो सधँै ।
के हो शाश्वत सम्झना धरतिको बाँकी नयाँ यौवन ?
सच्चा लोचन सिर्जना दिनदिनै जीवन्त हो जीवन ।

प्रतिक्रिया छाड्नुस्