घर ११ : परशु प्रधान

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

घर ११ : परशु प्रधान

पत्र-पत्रिकामा निस्केका महत्त्वपूर्ण समाचार वा विचारलाई म कटिङ गरेर फाइलमा राख्छु । अनि कहिलेकाहीँ जब बोर लाग्छ- म ती कटिङहरूलाई पल्टाउँछु । एक किसिमले यो मेरो हबी नै हो । कुनै राम्रा कविता, गीत वा कथा हुन सक्छन् । कुनै महत्त्वपूर्ण घटना, दुर्घटना वा नेताका भाषण-सन्देश हुन सक्छन् । कहिलेकाहीँ कुनै अनौठा विषय वा घटना पनि हुन सक्छन् । अर्थात् मेरा यी कटिङहरूमा दृष्टिहरू छन्, विविध रङहरू छन्, छायाँहरू छन् । समाज, कृषि, साहित्य-सङ्गीत र कला आदि सबै धेर-थोर मेरो फाइलभित्र, मभित्र अटाएका छन् । एक किसिमले म इतिहासको साक्षी छु, परिवर्तनको प्रतीक छु र दर्शनको प्रमाण छु ।
म के छु वा छुईनभन्दा पनि हिजो राति अचानक मैले त्यो फाइल पल्टाएँ । फाइलभित्रका कटिङहरूमा क्रमशः आँखा लगाउन थालेँ । निद्रा न आउँदा धेरै जसो यसरी नै निद्रा देवीलाई आहृवान गर्छु । यी कटिङहरू हेर्दै जाँदा कुनै दैनिक पत्रिकाको यौटा कटिङमा पुगेर म अल्झिएँ । त्यहाँ एउटी रूँदै गरेकी पीडित महिलाको तस्बिर थियो र त्यसको क्याप्सन थियो- घटना थाहा पाएपछि पनि श्रीमतीलाई पहिला जत्ति नै माया गर्छु । म त्यहाँ पुगेर अडिनुका दुईर् कारण थिए- यसमा दिइएको दर्दपूर्ण तस्बिरसहितका यी हरफहरू र प्रभावकारी शीर्षक-बलात्कारपछि दुई वर्षसम्म यौनशोषण । पत्रकारिताको दृष्टिले त्यो अत्यन्त राम्रो फिचर वा रिपोर्टिङ थियो । त्यसका अन्तिम हरफहरूले म साह्रै प्रभावित भएँ, मुटुमा ढुङ्गा बसे जस्तो भएँ, रन्थनिएँ । पहिलोपटक पढ्दा पनि म रातभरि छटपटाएको थिएँ, रातभरि निद्रा परेको थिएन । मेरा धेरै रातहरू ती हरफहरूमा साटिएका थिए किनभने पीडितका श्रीमान्, एक जना लोग्ने मान्छेमा म स्वयं रूपान्तरित भएको थिएँ । मलाई लाग्छ- यौटा सत्य-तथ्य घटनालाई समाजमा ल्याइदिएर त्यो लोग्नेमान्छे आफू त हलुङ्गो भयो होला तर मजस्ता लाखौँ लोग्नेमान्छेलाई उसले सोच्न, सम्झन सचेत गरायो । मैले ती अन्तिम हरफहरूलाई धेरै पटक पढेँ ‘उसले परिवारलाई बदनामीबाट बचाउन यति ठूलो पीडा सहेकी रहिछ, म उसलाई पहिले जति माया गर्थें वास्तविकता थाहा पाएपछि पनि उत्तिकै माया गर्छु, उसलाई अदालतसम्म न्याय दिलाउन सहयोग गर्नेछु ।’
श्रीमतीले इज्जत जोगाउन सहेकी पीडा, लोग्नेको यथावत् माया र न्यायका लागि लडाइँमा सहयोग गर्ने कुराहरू मभित्र खेलिरहे किनभने म स्वयं अनिर्णयको स्थितिमा थिएँ, असहज र असमाञ्जस्यको पोखरीमा डुबुल्की मारिरहेको थिएँ । घटना र कथामा केही थपघट हुनसक्छ, वातावरण र परिवेशमा केही जोड घटाउ हुनसक्छ, परन्तु कथाको सत्य एक किसिमले यौटै थियो, एउटै प्रकृतिको थियो ।
अनि मैले सुरुको अनुच्छेद पढेँ- ‘गल्फुपाखामा एउटै घरमा डेरा लिएर बसेका युवकले दुई वर्षअघि मोबाइलको सिम लिन एक महिलालाई सुन्धारास्थित टेलिकम कार्यालयमा लगे । सिम लिएपछि चिया र कोक पिउन छेउको रेस्टुरेन्ट पुर्याए । अनि लठ्याउने औषधि खुवाएर क्याबिनमा जबर्जस्ती गरे ।….लठ्ठ परेपछि बलात्कार गर्यो, होसमा आउँदा गइसकेछ । छोराको माया र श्रीमान्को डरले मिल्ने एक साथीलाई बाहेक अरूलाई भनिन ।’
मेरी श्रीमती मेरै कोठामा छे, मस्त घुरिरहेकी छे । यौटै मात्र छोरो पनि साथै छ । किन किन म भने निदाउन नसकेर एक पेग भर्जिन हृविस्कीसँग छु, गिलासमा बरोबर पानी थपिरहेको छु किनभने अर्को हृविस्की तुरुन्त किन्ने बजेट मसित छैन ।
ती पीडित महिलाका यी वाक्यहरूलाई मैले रातो चिन्ह दिएको रहेछु- ‘तेस्रो दिन आएर उल्टै धम्की दिन थाल्यो, मैले भनेअनुसार गरिनस् र बोलाएको ठाउँमा आइनस् भने श्रीमान्लाई सब भन्दिन्छु भन्यो । समाज र श्रीमान्को डरले उसले जहाँ बोलायो, त्यहीँ गएँ । दोस्रो र तेस्रोपटक शारीरिक सम्पर्क गर्नुअघि अँगालो मारेर आपत्तिजनक फोटोसमेत खिच्यो ।’
त्यस मुन्द्रेको, गुण्डाको-मण्डलेको तस्बिर मभित्र आयो, जो यस देशभरि छ्याप्छ्याप्ती छन् । तिनैले राज गरिआएका छन् । अहिले ऊ मस्त निद्रामा छे-म भने आफूभित्र छटपटाइरहेको छु । के भएको हो ? त्यस दिनदेखि आँखामा निद्रा छैन, मुटु चिसो भएको छ । यसको दोष म उसलाई दिन चाहन्न । मैले लिनुपर्छ कि ! ….। यहाँभन्दा पर म जान्न । अर्को एक पेग लिन्छु, यौटा चुरोट पनि सल्काउँछु । अनि पत्रिकाका तिनै हरफहरूमा अल्मलिन्छु- ‘तस्बिर खिचेपछि यौन- शोषणको शृङ्खला बढ्यो । ५० हजार नदिए फोटो श्रीमान्लाई दिन्छु भन्दै धम्क्यायो । नगद, तीन तोलाको सुनको सिक्री र औँठी दिएँ । ज्यादति बढ्दै गयो । बाटाबाटै तानेर फोटो खिच्ने र श्रीमान् कार्यालय गएको थाहा पाउनासाथ मन लागेको ठाउँमा बोलाएर शारीरिक सम्पर्क राख्थ्यो ।’
मेरी श्रीमतीको स्थिति विल्कुल फरक छ । कुनै गुण्डा वा लोफरले शोषण गर्ने मौका पाएको होइन । ऊ स्वयंले मसँग नाटक गरी । यस्तो नाटक गर्न सायद आवश्यक थियो वा भयो । सायद म जिम्मेवार छु, अथवा म जिम्मेवार छैन । सायद यो समय, यो काल जिम्मेवार छ ।
अनि यी हरफहरू पढेपछि अकस्मात् मेरो भक्कानो फुट्यो । किन हो सानैदेखि म अलि भावुक थिएँ । झम्झम् पानी पर्दा म रुन्थँं । घाम डुब्न लाग्दा म रुन्थेँ । बा राति घरमा ढिला आउनु भयो भने म भक्कानिन्थेँ । त्यो बानी अझ मैले छाड्न सकेको छैन । यी हरफहरूलाई अझ जोड दिएर पढेँ- ‘उसलाई टाढा राख्न प्रयास गर्दागर्दै थाकिसकेकी थिएँ । अति भएपछि ट्याबलेट खाएर आत्महत्याको प्रयास गरेँ । श्रीमान्ले उपचार गराएर बचाउनुभयो ।’ विचरी त्यो नारी ! त्यो निरीह महिला ! धन्य लोग्नेले बचायो । धन्य त्यो लोग्ने ! धन्य त्यो लोग्नेमान्छे !
म त्यही दिन त्यस लोग्नेमान्छेमा साटिएको रहेछु । त्यो दिन सोमबार थियो । म खाना खाएर नौ बजे नै अफिस जान निस्केको थिएँ । वास्तवमा त्यो अफिस, अफिस भन्नु मात्र थियो । सरकारी अफिसको नमुना नै थियो । नेपाली मालसामान र वस्तुहरू विदेश पठाउन खुलेको त्यो अफिस मलाई कुनै सुँगुरको खोर जस्तै लाग्थ्यो । अझ त्यही अफिसको यौटा सानु जागिरका लागि मैले केही रकम नजराना चढाएको थिएँ । यो महँगीमा धन्य बाँचेको थिएँ, मुस्किलले इज्जत जोगाएको थिएँ । त्यस दिनको अफिस मेरा लागि ठूलो सङ्कट र यौटा कठिन मोडको प्रारम्भ भयो । हाकिमको विरोधमा अफिसमा ठूलो चाबी लगाइएको थियो । अर्थात् हड्ताल गरिएको थियो । बाहिर आठ सुत्रीय माग थियो । कुनै यौटा युनियनले आˆनो पूरा शक्ति देखाएको थियो-लाठी र मुङग्रीले । ती ठूल्ठूला मागहरू मैले केही बुझेको थिएँ-केही बुझेको थिइन तर यौटा कुरा साह्रै राम्ररी बुझेको थिएँ- अब यो देश टुक्रिन्छ । कुनै हालतमा यो राष्ट्रको नक्सा रहने छैन । यस सुन्दर देश दिन पर दिन नरक बनाउन लागिएको छ ।
यौटा मिल्ने साथीले प्रस्ताव राख्यो- बाहिर कत्तै घुम्न जाने, अर्थात् रिल्याक्स् गर्ने । मैले सिधा भनेँ -मसँग टेप्पो चढ्नेबाहेक एक पैसा छैन ।
‘आजको सबै खर्च मेरो, तिमी धन्दा नमान । कम से कम आज हामी फ्री हुने, रमाइलो गर्ने ।’
यही क्रममा हामी कुनै सानु होटेल कम सानु लजमा पुगेका थियौँ हामीलाई देखेर होटेलका मालिक मुस्काए । यस होटेलमा साथीको राम्रै चिनजान रहेछ भन्ने कुरा मैले थाहा पाइहालेँ । साथी धनी-बाबुको एक्लो छोरो थियो, यहाँको रैथाने थियो । उसले घोषणा गर्यो- ”साहुजी ! आज हामी यहाँ सबै कुराको इन्ज्वाय गर्ने । आज अफिसमा भोटे ताल्चा लागेको छ । हामीले रमाइलो गर्ने सबै चीजहरू छन् होइन ?”
साथीले ‘सबै’ भन्ने शब्दमा जोड दिएको थियो र होटेलवालाले सहज जवाफ दिएको थियो-मैले कहिले हजुरहरूलाई खाली हात पठाएको छु र !
अब म यस कटिङको अन्तिम भागतर्फ आएको छु । जसलाई अरूहरूले पढेर डस्टबिनमा राखे होलान । जसलाई मैले अहिलेसम्म जतनसाथ फाइल गरिराखेको छु । थाहा छैन किन त्यो कटिङ मेरो छनोटमा पर्यो । त्यस यथार्थ खोज-समाचारका प्रत्येक प्रसङ्गसँग प्रत्यक्ष-अप्रत्यक्ष जोडिन्छु । त्यसका प्रत्येक हरफ मेरा लागि फूल र काँडा हुन्छन् । तिनका हरफहरूले धेरै मलाई रुवाउँछ, कहिले गहिरो पोखरीमा डुबाउँछ भने कहिले पहाडको टुप्पोमा पुर्याउँछ । लाग्छ-यसकै अर्को नाम जिन्दगी हो-भोग्नु हो, नियति हो ।
अब म त्यस बलात्कारीले पोल खुल्ने डरले कहिले कालिमाटी, कहिले बलम्बु र कहिले गोङ्गबु सरीसरी बस्ने पानामा पुगेको छु । अझ पीडापूर्ण, दुःखदायी र अत्यन्त अमानवीय प्रसङ्ग वा घटनाहरू यसरी प्रकाश पारिएको छ- ‘मसँग लिएको गहना फिर्ता दिने भनेर गोङ्गबु बोलायो । यो १५ दिन अघिको कुरा हो । त्यो दिन पनि शोषण गर्यो । (राक्षस नै रहेछ ! मैले साक्षात् रावण सम्झेँ) मबाट अब यो सब हुँदैन भनेपछि श्रीमान्लाई मार्ने र छोरालाई अपहरण गर्ने धम्की दियो । त्यसपछि मैले बेइज्जती र घरबाट निकालिने डरको पर्वाह नगरी श्रीमान्लाई सबै कुरा बताएँ ।’
उक्त पीडित महिलाको श्रीमान् कुनै कम्पनीमा साधारण जागिरे रहेछन् म जस्तै । रावणको बयान पनि छापिएको छ- ‘म त कलाकार, सँगै डेरामा बस्ने क्रममा दिदीले प्रेम प्रस्ताव राखेर यौनसम्बन्ध राख्न उक्साएकी हुन् । आई लभ यु लेखेको रुमालसमेत दिएकी छन् ।’ मैले यी हरफहरूलाई कुनै अर्थ दिइन । पीडित महिलाको लोग्नेलाई सम्झेर मन फेरि भारी भयो । उसलाई आफूसँग तुलना गर्ने दुस्साहस गरेँ । अझ यी शक्तिशाली वाक्यहरूले मलाई ताने- ‘यो घटनाका कारण नाबालक छोरोमा मनोवैज्ञानिक प्रभाव परेर पूरा परिवार तहसनहस भयो । केही नबोली एकोहोरिएर बसिराख्ने मेरो छोरोलई आफन्तको घरमा राखेको छु ।’
‘श्रीमतीले ऊसँग प्रेम गरेको भए टीका लगाएर पठाइदिन्थेँ तर ऊ निर्दोष भएको अनुसन्धानमा देखियो । म प्रहरी कार्यालयमा आफ्नी श्रीमतीलाई होइन, बलात्कार र शोषणबाट पीडित एक महिलालाई न्याय दिलाउन आएको हुँ ।’ -यी हरफहरूले म झन् विचलित भएँ । कत्ति महान् रहेछ त्यस पीडित महिलाको श्रीमान् ! तर के प्रत्येक लोग्नेमान्छेले यस्तो आदर्श काम-कुरा गर्न सक्छ । आफूलाई यत्ति उदार र दह्रो बनाउन सक्छ ।
त्यस दिन दिउँसै हामीले रमाइलो गर्यौँ- दुवैले दुई चार पेग रक्सी खाएर । बफ चिल्ली र मम कत्ति प्लेट सिद्धियो-थाहा भएन । केही पछि हामी त्यस सानु होटेलको सानु लजमा थियौँ- सानु सपनाहरूमा थियौँ । हामी आफू योेग्य उम्मेदवारको छनोट गर्न कस्सिएका थियौँ- अन्तर्वार्ताको मूडमा थियौँ । पहिलो उम्मेदवार पैंतीस चालीसकी थिई । घाँटीमा तिलहरी र कानमा मुन्द्री थिए । हाम्रो पहिलो प्रश्न थियो-तिम्रा श्रीमान् के गर्छन् ?
”गाडीमा ड्राइभर छन् ।”
”महिनाको कति कमाउँछन् ?” -मैले नै सोधें ।
”पाँच छ हजार” -छोटो जवाफ आयो ।
”केटाकेटी कति छन् ?”
”दुई छोरी-एक छोरा”
”घर-व्यवहार राम्रै चलेको छ ?”
”कहाँ चल्नु यस महँगीमा भाउ-बेसाहा तपाईंहरूलाई थाहै छ । नपुगेर नै यहाँ आउने गरेको ।” जवाफ साधारण आयो । हामी दुवैले एकै पटक निर्णय दियौँ-तिमी अहिले जाऊ । ऊ अँध्यारो मुख लगाएर बिदाभई । एकै छिनमा अर्की युवती देखापरि-चुलबुले युवती बीस पनि नाघेकी छैन । आँखाभरि सपनाहरू सल्बलाएका छन् । ऊ जादूपूर्ण स्वर निकाल्छे-”गुड आफ्टरनुन ।”
”गुड आफ्टरनुन…”
”कहाँ कुन क्याम्पसमा पढछ्यौ ?” -हामीले पहिलो प्रश्न गर्यौँ ।
”क्याम्पसमा म्यानेजमेन्ट पढ्छु…” मीठो मुस्कान छ ।
”भोलिको के सपना छ नि !” -म सोध्छु ।
”कुनै बैङ्कमा काम गर्ने !”-ऊ दह्री छे ।
”घर कहाँ हो ?”
”पहाडमा हो । बा-आमा छन् । म एक्ली छोरी !” उसले कुरा छोट्याउन चाहिँ । हामीले बोर गर्यौँ- ”यस्तो ठाउँमा यस्तो काम गर्ने !” ”के गर्ने ? बा-आमालाई मैले खर्च पठाउनु पर्छ । यहाँको महँगो जीवन-सङ्घर्षमा छु । मलाई त आज हत्तार छ- एक्जाम छ । आई एम सरी….” उसले आˆनो विवशता देखाइ ।
हामीले पनि आँट गर्न सकेनौँ । कता कता माया पनि लाग्यो । कता कता आˆनै दिदी-बहिनी जस्तो लाग्यो । म साथीको भरमा आएको थिएँ -आफू रित्तो जस्तै थिएँ । अचानक साहू देखा पर्यो- चार बज्न लाग्यो हजुर । यति लामो अन्तर्वार्ता, हामी मरिहाल्छौँ नि !
यसबीच त्यो फूर्तिली युवती त्यहाँबाट हराइसकेकी थिई । हामी अन्तिममा थियौँ । त्यहाँ अन्तिम उम्मेदवार देखापरी । हामी दुवैले एकै पटक कोठाभित्र आएकी महिलालाई हेर्यौँ । साथीले केही सोध्न अगाडि त्यो महिला जसरी आएकी थिई, उसरी नै फनक्क फर्की । मैले दुवै आँखा छोपेँ । त्यस महिलाले त्यही रातो सारी लाएकी थिई-जो मैले दसैं-पेस्की लिएर भर्खरै किनिदिएको थिएँ । खास ऊ रीता थिई- मेरी अर्धाङ्गनिी थिई, श्रीमती थिई, मेरो घरको लक्ष्मी थिई ।
मलाई भाउन्न छुट्ला जस्तो भयो । रिङ्गटा लाग्यो- सारा संसार घुमिरहे जस्तो । चारैतिर अन्धकार देखेँ । आफैलाई धिक्कारंेँ र जुरुक्क उठेँ । साथीलाई जान्छुसम्म नभनी घरमा आइपुगेँ । रीता आइसकेकी रहिछे । मैले सामान्य हुन खोजेर भनेँ- तिम्रो एनजीओको जागिर अत्यन्त राम्रो रहेछ ।
रीताले एक शब्द बोलिन । भान्सा-कोठातिर लागि । उसले चुपचाप खाना पस्की । मैले चूपचाप खाएँ । चुपचाप आˆनो कोठामा आएँ । यसरी नै चुपचाप दिन बित्दैछ । न ऊ बोल्न चाहान्छे, न म । मेरा अगाडि ऊ अपराधी छे, उसको अगाडि म । हामी दुवै यस घरको जेलमा छौँ- बन्दी जीवन बिताइरहेका छौँ । कहिलेसम्म यो कैद काट्नु पर्ने हो ! हामी दुवैलाई थाहा छैन ।
केही दिन भयो- आँखामा कुनै सपना छैन, कुनै निद्रा छैन । कुनै आसा छैन-कुनै भविष्य छैन । कुनै आकाङ्क्षा-महत्त्वाकाङ्क्षा छैन । के निर्णय लिने हो ? -थाहा छैन ।
आजको कटिङ पढिसकेपछि निर्णयको यौटा गोरेटोमा पुग्न खोज्छु- मैले रीतालाई माफी दिनु पर्छ । रीताको बाध्यता हो- एनजीओमा जागिर खाएको नाटक गर्नु किनभने मेरो आम्दानीले एक हप्ता पनि यो घर चल्दैन । उसले नै यो घर-व्यवहार चलाउँदै आएकी छे । म उसलाई उठाउँछु । ऊ निद्राबाट ब्युँझन्छे र निरीहतापूर्वक मलाई हेर्छे । उसका आँखामा प्रश्न र जिज्ञासा देख्छु । म यी शब्दहरूबाट यस भीषण सङ्कटबाट मुक्त हुन खोज्छु ।

1 प्रतिक्रिया

  1. राम्रो

प्रतिक्रिया छाड्नुस्