कथा गन्तब्यहिन यात्रा : रामजी बलामी

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कथा गन्तब्यहिन यात्रा : रामजी बलामी

‘‘ प्यारी त्यसरी पिर नगर्नु, दुई वर्षमा त फर्किहाल्छु नि, त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउँला ।” रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै, आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ ।
रमेशको यस्तो भावी योजना र एक प्रकारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जीवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जीवनका मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जीवन । मरुभूमिमा गोरुजोताईसरहको काम र खल्खल्ती बगेको पसिनाले घरको झल्झल्ती याद आउथ्यो उसलाई ? याद आएर के गर्नु आफ्नो छोराको भविष्य र जीवनसंगीसँग बाँडेका सपनाहरु जसरी नि पुरा गर्नुछ उसलाई । नयाँ घर बनाउने, आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु रहरमै सिमित हुन बाध्य भयो । धेरै दिन टिक्न सकेन उनीहरुले बुनेका ति सपना र रहरहरु ।
सुनसान गाँउमा हुर्केर गाँउले जीवन बिताइरहेको रमेश कतारको शहरी परिवेशमा घुलमिल हुन सकेन । उसमा न ज्ञान थियो न विज्ञान नै । आफ्नो काम गर्ने र मामको आश गर्ने सिवाय अरु केही थिएन उसको मनमा । तर अज्ञानता कै कारण बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदा सदाका लागि विदा भए ! केवल बिदा भए !
ऊ त बिदा भए भए तर बाकी जीवनसंगी, आमाबुवा र भएको एउटा छोराको समेत भाग्य खोसियो । टुहुरा बन्न बाध्य भए छोरा पनि । अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेको छोरा र मलिन अनुहारका जीवनसंगीलाई मधुर मुस्कान छरेर कतार प्रवेश गरेका उनी अव व्रिफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउने भयो । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउने भयो । त्यसो त यो सब कुरा त्यो रात अन्जु नसम्झाएको पनि होइन । यस्तै दिन भोग्नु पर्ला भनेरै अन्जुले विदेश नजान शिरमा हात राखेर अनुनय विनय गरेकी थिई तर पिडैपिडाले थिचिएको परिवारलाई राहत दिने आशमा तल्लिन रमेशको मनले उनको विनयलाई स्विकार्न सकेन । र त मिठा मिठा सपना बोकेर कतार प्रवेश गरे उसले ।
रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन, घरीघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । हुन पनि संगै जिउने मर्ने कसम खाएर बन्धनमा बाडिएको जोडी छुट्नु भनेको पानीबिनाको माछो झै तड्पनु हो । न मर्न सक्छ न बाँच्न नै । यस्तै भयो अन्जुको जीवनमा पनि ।  जन्म हुंदा जति सुखानुभूती हुन्छ परिवारमा मृत्यू हुंदा त्यो भन्दा कयौ गुणा बढी पिडावोध हुन्छ । अझ छुटिएको लामो समयपछि परदेशी भूमिमा वित्नु त्यसैपनि दुःखदायक कुरा थियो । उनीहरुको जोडीबाट रमेशलाई भगवानले त टपक्क टिपेर लगे लगे ! तर धेरै दिन, हप्ता, महिना बित्यो तर रमेशको लाश आईपुगेन । त्यसै त पिडामय परिवारमा लाश ल्याउन भोग्नु परेको थप पिडाले स परिवार गुमनाम आंशुमा चुर्लुम्म डुब्न पुगे ।  रमेश त विते विते तर लाश ल्याउन खर्चिनु परेको रुपैँयाले गर्दा उसको भागमा पर्ने सम्पत्तीसमेत गुमाउँनु प¥यो । कहिले के मिलेन कहिले कता मिलेन भन्दा भन्दै बल्ल तल्ल दुईमहिनाको पखाई पछि आइपुग्यो रमेशको शव वाकसमा टम्म बाँडेर ।
संयोग पनि कस्तो भने रमेश जिउंदो भै दिएको भए पनि फर्कने दिन त्यही थियो । जून दिन ऊ मृतआत्मा बोकेर फर्किए । अन्जु त्यही दिनको पर्खाईमा रमेशको मिठो मुस्कान र शितल काखको प्रतिक्षामा थिई । तर विडम्वना ! रमेशको साससमेत लाशमा परिवर्तन भएर आईपुगे । मान्छेको मन न हो जिउंदो देख्न नपाए पनि लाशमै घोप्टिएर छात्तीमाथि मुड्की बजार्दै कर्मलाई धिक्कार्दै हिक्क हिक्क गर्न थाली अन्जु । मर्ने मान्छे त मरी गए जिउंदो अन्जुसमेत होसह्वास गुमाउँन पुगे त्यतीखेर । इष्टमित्र छरछिमेकको ठुलो जमघट थियो आंगनमा । कोही बाँस काट्दै थिए त कोही कपडा, दाउरा मिलाउँदै थिए । तँ तँ र म म गर्ने छिमेकीहरु पनि सुकसुकाइरहेको देखिन्थे । मर्ने मान्छे देखेर आंशु पुछ्नु पाप गरेको मानिन्छ समाजमा । तर के गर्नु पिडा जसलाई पर्छ उसलाई पो थाहा हुन्छ । एकोहोरो बजेको शंखसँगै रमेशको अन्तिम संस्कारकालागि लगिए खोलातिर अनि अरु ताँती लागेर गए मलामी……!
हिक्का छाड्दै रोइरहेकी अन्जुको रुवाई अझै ठामिएको थिएन । ‘‘मलाई पनि संगै लैजाउ”  भन्दै विलौना गर्न थाली उनले । छरछिमेकको सहानुभूती पछि बल्लतल्ल आंगनमा छरपस्ट छरिएको पटकरमा डङरङ्ग पछारिए उनी । सवैलाई लाग्थ्यो अब त ऊ निदाउँछ , तर धेरै बेर भयो ऊ हल न चल बनेर पछारिरह्यो । दर्शक बनेर हेरिरहेको आइमाई मध्ये एक जनाले शंका लागेर छामछुम गरेर उठाउँन खोजी तर अँह ! ऊ निर्जीव प्राणीसरह लम्पसार परिरहे । सवैलाई थाहा भयो उनी बेहोसमा छे, रुंदारुदा हँ ! हँ ! सिवाय वोल्न नसक्ने भईसकेकी उनी आफ्नो शरिरको बेवास्ता गरी जथाभावी चलेकी थिई अघि । करुवामा ल्याएर पानी छर्काए, कसैले चिमोटेर हेरे, कसैले डाँडापारकिो मान्छेलाई बोलाएसरी चिच्याई चिच्याई बोलाए तर अहँ ऊ जस्ताको त्यस्तै कुनै निर्जीव प्राणी जस्तै लम्पसार मै रहे । ठूलै आपत प¥यो , अन्ततः एम्वुलेन्सको सहारामा अस्पताल पु¥याइए ……
केही छिन पछि होस त आए तर फेरी रमेशलाई नै सम्झेर विलौना गर्न थाली, पहिले भए काखमा राख्दै हातको कान्छी औंला चिमोट्दै आंशु पुछिदिन्थे होला रमेशले उनी यसरी रुंदा । उनी रुंदा संगसंगै आंशु झार्थे रमेश पनि । कहिलेकाही त पालैपालो आंशु पुछेर रात विताउँथे उनीहरु । तर अहिले अन्जु एक्ली बनेकी छिन । एक दुइृ दिन आंशु पुछ्ने छिमेकी होलान पछि त उही यादमा उहि सम्झना उहि वेडना….!  कयौ दिन ढल्यो, रात ढल्यो, महिनौ वित्यो, बर्षाै वित्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर त्यो पनि कहा संभव हुन्छ र ? पिडा अन्जुलाई पो प¥यो अरुलाई त हाइसञ्चो । दाजुभाई त झन तेह्र दिनको काम भ्याउन समेत तछाडमछाड गर्न थालेका थिए ।
समयको अन्तराल संगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । नेपाली समाजमा एक्ली आइमाइलाई कहाँ राम्रो कोणले हेर्छ र ? विस्तारै समाजले उनिप्रती हेर्ने भावनामा टुसारापात हुदै गयो । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम ग¥यो समाजले पनि । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन , उनी विवस थिए ती बचन वाणहरु जानी जानी छात्तीमा रोप्न । बारम्वार पटक पटक प्रहार हुने त्यो वाणले छात्ती चसक्क दुख्थ्यो उनको तर प्रतिवाद गर्ने न हिम्मत छ न तागत नै उनीसंग । त्यसो त जस्तो सुकै जहांबाट आए पनि त्यस्ता कयौ बचनहरु रोपिरहें । दिनभर रोपिएका ति वाणहरुले रातभर आक्रमण गथ्र्याे अनि काखेछोरो च्याप्दै भक्कानिएर संगसंगै रोएर रात विताउँथी उनी !………
समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो, आँखामा आँसु टुटेन, अनि मनमा कहिल्यै शान्तिले बास पाएन । समाजले मात्रै होईन विस्तारै परिवारबाटै हेपिन थाले उनी । कहिलेंकाही त ‘‘नातीकैलागि मात्रै तँलाई राखेको” समेत भन्थे सासुससुरा पनि ।  छोरा हुर्कदै गए , छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै जलीसकेको थियो । घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले ।
कुरा न हो, एक कान दुई कान हुदै अन्ततः मैदानसरी अन्जुकै कानमा आएर बजोडको हुरीवतास झै ठोक्कीयो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो, यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…. । तर जति सम्झे पनि, पुकारे पनि रमेश फर्कनेवालामा थिएन । विस्तारै उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थालीन । कहिले सोच्थी, ‘‘अव पासो लाएर मर्छु, कहिले सोच्थी दहमा जान्छु । ” आखिर छोराको तगाँरो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन ‘‘अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ ? ” एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगीन उनी । यस्तो बेला चेलीको अन्तिम विकल्प माइती वाहेक अन्त कहाइ पो होला र ?  र त भएको झुत्रा कपडासहित बिहान भालेको डांकोसंगै माइतीको बाटो लागे आमाछोरा, त्यो घरको एउटै प्यारो चिज रमेशको याद लिएर ।
उनी माइतीमा बसेको पनि धेरै भयो । दिनहरु वित्दै गए, निकै वर्ष विते, ज्यूँ त्यूँ छोरा प्रतीकले पनि एसएलसी पास गरीसके । प्रतीक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यही कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई छोराकै आशमा । नत्र त्यो बेलै आत्महत्या गर्न एक पटक बाटो लागसिकेकी थिई उनी । रुखमूनि धेरैवेर घोरीएर छोराको बेहाल हुने देखेर कालको मुखबाट जोगिएर फर्केकी थिई एकपल्ट उनी ।  छोरा प्रतीकको व्यवहारले रमेशको याद समेत हरांथ्यो कहिलेकाही उनलाई । त्यसो त दिउंसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे प्रतीक । छोराको यस्तो बानी ब्यवहार देखेर अन्जु निकै भावुकसंगै खुसी थिई ।
माइत गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजूले पनि,  तर दुःख पाएर आएकी  पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र माइतमा पनि । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा  कात्न थाले । दाजु पो आफ्नो भाउजू त पराईकी चेली  । भाउजूको कुरा सुनेर एउटै थालमा खाएर हुर्केको दाइले समेत गाली गरेपछि उनको मुटु जोडतोडले हल्लिन थाले, घाँस कात्न गएका उनी धेरै बेर बारीको कान्लामै रोएर बसे रमेशलाई सम्झेर । कहिले भागोस भनेर बसेको रमेशका परिवार हाइसञ्चो मान्दै उनलाई लिन आएन । यहि सम्झे उनले टाउको हात बजार्दै डोको भर्नतिर  लागे……
‘‘छोरी पाल्नेले छोरा पाल्दैन” एकदिन मामा माइजु कोठामा यसरी गफिरहेको प्रतीकको कानमा प¥यो ।  यो कुराले प्रतीकको मनमा बाढी आयो, भित्रभित्रै मन रोयो तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् उसले । दिनहुंको बूहारीको घुर्कीले आमाबुवाको मन पनि उनिहरुको उमेर जस्तै फाट्दिै गए । एक्लो छोरावूहारीको घुर्की बृद्ध बुवाआमाले  सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु पनि । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन, उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको, दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै  थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भनिन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र ?
माइतमा समेत बास नपाए पछि छोरासंग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतीकको मनमा आमालाई पाल्न सक्ने तागत आई सकेको थियो । आमालाई सम्झाउदै धरर बगेको आंशु पुछ्दै भन्न थाले, ‘‘आमा नरुनुस, रोएर मात्र कति वस्ने, पिर नलिनुस, म तपाईलाई जसरी नि पाल्छु, जाउ अव शहरतिर यहांबाट पनि ।” उसको वोलीमा उत्साय थियो, केही गरेर देखाउँछु भन्ने भाव थियो । आफ्नो छोराको उत्साहप्रद वोली सुनेर अन्जु झसंग भईन र छोरालाई अंगाल्दै  आंसु पुछेर माइत छाडी जाने निधो गरे उनीहरुले । भोलीपल्ट झिसमिसेमै डाँडा काट्ने सल्लाहले बेलुका नै थोत्रा झोलाहरु पोका पारेर आंशु तिल्पिलाउँदे कर्मलाई धिकारेर रुदै गरेकी आमालाई अंगाल्दै सुत्न लगाएर आफ्नो झोला ठिक पार्न लागे प्रतीक । थकाईले खाना नपाक्दै निदाउंने प्रतीक रातभर भोलीको दिनको कल्पनामा डुब्दै बिताए । कहाँ जाने के गर्ने कहां बस्ने के खाने ????????????……
रातभर निदाउंन नसकेकोले बिहान भुसुक्क निदाए अन्जु । छोराले विस्तारै आमालाई उठाएर दुवै जना निस्के माइती नामक त्यो घरबाट पनि । उनीहरु निस्कन लागेको चाल पाएरै हो कि भर्खरै ब्याएको बाख्री कराउँन थाली । बाख्राले आफैलाई बोलाएको जस्तो लाग्यो उनलाई, र त बेलुका ल्याएको घाँस दिदै ‘‘ल बस है” भन्दै बाख्रीलाई मुसार्दै सानो पाठीलाई चुम्म गर्दै पछाडी फर्की फर्की सदाकालागि अनिश्चित यात्रामा पाइला चाले एउटा गन्तब्यहिन यात्राका निम्ति । त्यो बाख्री भने अन्जुको वेडना वुझे जस्तै गरेर ठुल्ठुला श्वर निकाल्दै विलौना गर्न थाले तर त्यो विलौनाबाट अन्जु विस्तारै टाढा हुदै डाँडाको टुप्पो पुगेर फेरी एक पल्ट आफ्नो जन्मघर फर्केर पुलुक्क हेरेर आंशु झार्र्दै विस्तारै विस्तारै ओझेलमा परे ।
rbalami2008@gmail.com

3 प्रतिक्रिया

  1. arpan says:

    katha nikai marmik lagyo, eye bata aashu jharyo. ajhai aru katha haru pani padhna paiyos, Balamiji safaltako kamana .

  2. Ram Chandra Basyal says:

    अत्यन्त मर्म स्प्रसी हिर्दय विदारक साथी कारुणिक तथा एथार्थपरक लाग्यो जुन आम नेपाली समाज मा गाजिएको र नेपाली मन मुटु हरु ले भोगी रहेको सत्यता छ त्यो सारै सराहनीय लाग्यो सर,आउदा दिन हरु मा पनि यस्तै रचना को साथ उत्तर ओतर प्रगति को शुभकामना .

  3. Narayan Prasad Chaulagain says:

    धेरै राम्रो  ! 
    हजुर कलम कहिले नारोकियोस  ! 

प्रतिक्रिया छाड्नुस्