कठै विचरा म र मेरा शूरवीरहरू —विद्याप्रसाद घिमिरे

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

कठै विचरा म र मेरा शूरवीरहरू —विद्याप्रसाद घिमिरे

प्रसङ्ग केही वर्ष पहिलाको हो । मैले एउटा लेख पढेको थिएँ । लेखक र लेखको शीर्षकको बारेमा भने अहिले मलाई राम्रो हेक्का छैन, तापनि त्यसलेखमा लेखिएका कुराहरूले मलाई बेलाबखत घच्घच्याउने गर्दछ । त्यसमा लेखिएको सारांश यस्तो थियो— “विदेशस्थित एक विश्वविद्यालयमा मानवशास्त्रसम्बन्धी अध्यापन भइरहेको थिया,े वृत्तचित्र ९म्यअगmभलतचथ० को माध्यमबाट । विद्यार्थीहरूलाई बुझाउने प्रयत्न भइरहेको थियो—मानवसभ्यताको इतिहासका बारेमा । मानवसभ्यताको विषयमा प्रदर्शन गरिएको उक्त वृत्तचित्रमा नेपालका गाउँबस्तीहरूको जनजीवनमा आधारित दृश्यहरू थिए । विद्यार्थीहरूलाई उनीहरूका पचासौं पुस्ताअघिका पूर्खाहरूको जीवनपद्धति कस्तो थियो भन्नेबारे प्रस्ट पार्न खोजिएको थियो त्यस वृत्तचित्रका माध्यमबाट । तर, अनौठो के भने त्यस वृत्तचित्रमा छायाङ्कन गरिएको दृश्यहरूचाहिँ हाम्रा वर्तमानका थिए, एक्काइसौं शताब्दीमा बाँचिरहेका हाम्रै दाजुभाई दिदीबहिनीहरूका थिए ।” यो पढ्दा मलाई नमीठो अनुभूति भएको थियो—त्यतिबेला । तर वास्तविकता यही नै हो—हामी आजपनि विदेशीहरूका शदीयौंअघिका पुर्खा कस्ता थिए भने जिज्ञासुहरूका उत्तर बनिरहेका छौं । हामी अरूको पचासौं पुस्ताअघिका जनजीवनसँग मिल्दो जुल्दो अनुहार र जीवनशैली लिएर बाँचिरहेका छौं, अनि विदेशीका लागि खोजको विषयवस्तु बनिरहेका छौं । अझै पनि हाम्रा जीवनभित्र कैयौं मुलुकका विद्यार्थी तथा शोधकर्ताहरूबाट मानवसभ्यताका विषयमा अनुसन्धान, शोध र खोज भइरहेको छ । हाम्रो भूमि मानवसभ्यताका बारेमा शोध गर्नेहरूका लागि प्रख्यात थलो मानिएको छ । तर विडम्बना के भने हामी आफ्नो बारेमा आफैं खोज गर्दैनौं । अरूले आफ्नो स्वार्थका लागि खोज गर्छन् । हामी त्यसै विषयलाई लिएर गर्व गर्छौं र भन्छौं—“हाम्रो भूमि अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गन्तव्य बनेको छ ।” अनि गर्व गर्छौं विदेशीहरूले ‘शूरवीर’ गोर्खाली भनेकोमा ।
शताब्दीयौंदेखि संसारभरमा ‘शूरवीर’ को विशेषणबाट प्रख्यात छौ,ं हामी नेपाली । ‘वीर गोर्खाली’ को शब्दले सम्बोधन गर्दा गर्वानुभूति हुन्छ हामीलाई । हाम्रो इतिहासको प्रारम्भदेखि यस एक्काइसौं शताब्दीसम्मको लामो यात्रामा हामीले आफ्नो मौलिक परम्परा, साँस्कृतिक रीतिरिवाज, धार्मिक सहिष्णुता, सामाजिक भाइचारा जस्ता कयौं पहिचानहरू गुमाइसकेका छौं । जति नै गुमाए पनि रत्तिभर बिथोलिन नदिई अत्यन्त जतनकासाथ जोगाएर राखेको एउटै मात्र चिज छ, त्यो हो हाम्रो ‘वीरताको परम्परा ।’ हाम्रा जीवनका प्रत्येक पक्षलाई विदेशी विकृत परम्पराले गाँजेको भएपनि हालसम्म अछुतो र शुद्ध छ, यो हाम्रो ‘वीरताको परम्परा’ ।
विदेशीका मुखबाट ‘नेपालीहरू बुद्धिमान छन्, विवेकी छन्,’ भनेको सुन्यौं भने हाम्रो खिसिट्युरी गरेको, व्यङ्ग गरेको जस्तो लाग्छ हामीलाई । हामी स्वीकार गर्दैनौं बुद्धिमान भनेको । किनकि हामीलाई अरूले पनि शूरवीर’ भनिदिएकोमा खुसी हुन्छौं र आफूपनि ‘शूरवीर’ भन्न नै रूचाउँछौं । शूरवीर, मूर्ख वा मुढ एउटै पाटाका शब्दहरू हुन् । जे जस्तो व्याख्या गरेपनि शूरवीर, मूर्ख वा मुढले उस्तै उस्तै भाव जनाउँछन् । भनिन्छ— “हाम्रा पुर्खाहरू शूरवीर थिए, तोपगोला र बन्दुकको अगाडि खुकुरीको भरमा युद्ध लडे ।” जीत हुनु नहुनु आफ्नै ठाउँमा छ । कहिले जिते, कहिले हारे । गोर्खालीतर्फ के कति क्षति भयो त्यसको पनि चर्चा त हुनै पर्ने हो । तर यसबारे इतिहासमा स्पष्ट व्याख्या पाइँदैन । लडाकुको कमान्डर वा त्यसताकाका ठूलाठालुहरूको बारेमा प्रशस्त व्याख्या छ इतिहासमा । उनीहरूलाई राष्ट्रिय व्यक्तित्व र विभूतिको स्थानमा राखेको पनि छ । तर खुकुरीको भरमा तोपको सामना गरेर युद्ध लड्दालड्दै शाहदत प्राप्त गर्ने आमसिपाहीहरूका बारेमा खासै कतै चर्चा पाईंदैन । तोप लिएर बसेका अंग्रेजसँगको लडाईंमा खुकुरी लिएर अघि बढ्दा र डाँडाको टाकुरामा ढुंगा थुपारेर त्यही ढुंगा गुडाउँदै अंग्रेजविरूद्ध गरिएको ढुंगे युद्धमा नेपाली पक्षको के कति मानवीय क्षति भयो होला ? त्यसको कुनै लेखाजोखा छैन । हाम्रो इतिहास त केवल आफूलाई ‘शूरवीर’ बनाउन नै केन्द्रित छ । तर हामी अहिले अनुमान लगाउन सक्छौं कि—तोपको अगाडि खुकुरी र ढुंगा लिएर गरिएको युद्धमा हाम्रा पुर्खाको हवीगत कस्तो भएको थियो होला ! इतिहासमा अत्यन्त ठूला पीडा र विडम्बना लुकेको हुन्छ, दबिएर रहेको हुन्छ । हामीले पढ्ने इतिहासका पाना केवल पढ्नकै लागि सीमित छन् । लेख्नेहरूले इतिहास लेख्दा र हामी इतिहास पढ्नेहरूले इतिहासमा अंकित स्वर्ण अक्षरहरू पढ्दा त्यहाँका पात्रहरूका पीडा र बाध्यतालाई कहिल्यै बुझ्ने प्रयत्न गरेनौं । सायद बुझ्ने सामथ्र्य छैन हामीसँग । हामीहरू केवल पढ्नकै लागि मात्र इतिहास पढिरह्यौं । हामीलाई परीक्षामा प्राप्त हुने अंकको चिन्ताले पिरल्यो…? या आफ्नो जिज्ञासा मेटाउने भोक…? केवल यत्तिका लागि नै पढिरह्यौं । सायद त्यसभन्दा बाहिर गएर तर्क गर्नु हाम्रो कसरतको काम होइन भनेर पन्छायौं । हाम्रा इतिहास लेख्नेहरूलाई भिमसेन, बलभद्र अमरसिंहले झेलेको, भोगेको पीडाबारे चिन्ता छ, तर उनीहरूका पछिपछि हिँड्ने र भिड्दा अघिअघि भिड्ने सयौं सैनिकको चिन्ता छैन । न त्यस्ता अनगिन्तीले भोगेको पीडा छ, इतिहासमा । उनीहरूले केवल अरूका नाम राख्न दुःख पीडा भोगे, मरेर गए, सिद्धिए, कहीँ नाम निशान भेटिँदैन ।
एक्काइसौं शताब्दीमा बाँचेका, दुईचार अक्षर पढेका हामीहरू त राष्ट्र राष्ट्रियता केही जान्दैनौं केवल अरूको नाम, इज्जत, प्रतिष्ठाका लागि आफ्नो जीवन उत्सर्ग गरिरहेका हुन्छौं, भने के विवेक थियो होला, कठै ! त्यस बेलाका ती निरिहहरूको । के थाहा होला ! राष्ट्र र राष्ट्रवाद ती गाउँ जत्रो देशमा बस्ने अनपढ, मूर्ख हाम्रा जिजुबाजेहरूलाई । परिचालन गर्नेले आफ्नै नाम, इज्जत र प्रतिष्ठाका लागि हामीलाई परिचालन ग¥यो । हामी आफू मरेर उसलाई बचायौं । ऊ सधैँ बाँच्यो, प्राण रहँदासम्म बाँच्यो र मरेपछि पनि उही नै बाँचिरह्यो । हामी मरिरह्यौ, ज्यूँदैमा म¥यौं । मरेपछि म¥यौ र सधैँका लागि म¥यौं । हामी कुकुर मरेजस्तो गरी, नालीको किरा मरे जस्तो गरी म¥यौं । यही कुरो अहिले आएर बन्दुकको राजनीति गर्नेहरू र अग्रपंङ्तीमा रही न्यूरोडका ईंटा, ढुंगा तह लगाउने बहुसङ्ख्यक जमातले बुझ्नु जरूरी छ । अनि म कसको स्वार्थका लागि काम गरिहरेको छु, भोलि आफ्नो र सन्ततिको हविगत के होला ! भनेर बन्दुक समाउनु र ढुँगा, ईंटा उठाउनुपूर्व एकपटक सोच्न जरूरी छ ।
हाम्रा पूर्वजले पनि मूर्खताकै कारण तोपको सामु खुकुरीले युद्ध लडेका हुन् । त्यो उनीहरूको अल्पबुद्धि र अबुझपन थियो, विडम्बना थियो । मातृभूमि रक्षाका लागि उनीहरू लडेका हुन् भनेर अहिलेका बुद्धिजीवीहरूले व्याख्या गरे तापनि त्यो लडाईं बुद्धिमत्तापूर्ण लडाईं छँदै थिएन । बरू मूर्खतापूर्ण लडाई भने पक्कै थियो । वास्तविकता लुक्न सक्दैन; किनभने बुद्धिमान व्यक्ति मूर्खताको लडाईं लड्दैन । अरू विकल्पको खोजी गर्छ, सोच्छ । कुटनैतिक तवरले भएपनि शत्रुपक्षसँग बन्दुक तोप बनाउने कला सिक्छ । आफ्नै पक्षभित्र त्यस्ता व्यक्ति छन् कि भन्ने खोजी गर्छ । नभए बुद्धिको युद्ध लड्छ । तर पनि त्यस्तो मूर्खताको प्रदर्शन गर्दैन । हाम्रा पूर्वज वर्मामा गएर पनि खुकुरीकै लडाईं लडे । न सन्ततिका लागि न मातृभूमिका लागि । केका लागि लडे, कसका लागि लडे, सायद उनैलाई थाहा छैन । अरूले शूरो छ भनेर उक्स्याइदियो, पराकाष्टा नाघेर मूर्खताको प्रदर्शन गरे । त्यसैले भनिन्छ—“विद्वान मूर्ख हुँदैन । मूर्ख नभई ‘शूरवीर’ होइँदैन”, त्यस्ता मूर्खलाई विद्वान पनि कसैले भन्दैन । हाम्रा यस्तै यस्तै प्रशस्त नमूनाहरू देखेर नै होला ! अरूले चिच्याई चिच्याई हामीलाई ‘शूरवीर’ अर्थात् ‘पटमूर्ख’ को उपनामबाट सम्बोधन गरिरहेका छन्, अविवेकी भनिरहेका छन् । हामी यसैमा गर्व गरिरहेका छौं । लाज लाग्नु पर्ने हो हामीलाई, तर पनि गर्वित छौं । यो मूर्खताको थप अर्को पक्ष हो । विवेकी हुनुपर्नेतर्फ हाम्रो ध्यान कहिल्यै गएन । हामी अविवेकीपनमै रमाइरह्यौं । संसारभरका मान्छेभन्दा फरक ढंगले पृथक पहिचान बोकेर दुनियाँमा प्रस्तुत हुन सकेकोमा हामी गौरवान्वित छौं ।
सम्पन्न, धनी र बुद्धिमानहरू बसोवास गर्ने मुलुक यो धर्तीमा प्रशस्त छन्, हाम्रो बाहेक । त्यसैले नै होला ! हामीमा अलिकति विवेक, बुद्धि, ज्ञान पलाउनासाथ यो अविवेकीहरूको बस्ती त्यागेर बुद्धिमानहरू वसोवास गर्ने मुलुकमा बसाई सर्ने चाँजोपाँजो मिलाउन थाल्छौं । यहाँ बस्नेहरूलाई तुच्छ मान्न थाल्छौं र आफूलाई अरूभन्दा अब्बल ठान्न थाल्छौं । मूर्खै मूर्खको जमातमा आफूलाई पाउँदा ‘कागको जमातको बकुल्ला’ ठान्छौं । अनि देश छोडेर विदेशीनै पर्ने भन्ने सोचले गाँज्छ हामीलाई, गर्लम्मै । जब अलिकति बुद्धि पसेका व्यक्तिहरू यो मुलुक छाडेर विदेश पलायन हुन्छन् । अनि यहाँ रहन्छौं हामी ‘शूरवीर’ हरू मात्र, शूरवीरको देश भन्ने पहिचान कायम राख्न ।
अन्य मुलुकका राजनीतिज्ञहरूले आफ्नो राष्ट्र समुन्नत बनाउन, विश्वभरमा आफ्ना नागरिकको शिर उँचो बनाउन राजनीति गर्छन् । उनीहरूको राजनीतिको प्रमुख एजेण्डा भन्नु नै वैदेशिक नीतिलाई कसरी अघि बढाउने, शत्रुराज्यलाई के कसरी कमजोर पार्ने र आफू कसरी मजबुत हुने भन्ने हुन्छ । हाम्रो यहाँको राजनीति त्यसको ठीक विपरीत हुने गरेको छ । बाहिरी राज्यको इशारामा कसरी आफ्नो राज्य कमजोर पार्ने, आफ्ना नागरिकहरूलाई नै कसरी रेट्ने, कस्तो विष्फोटनबाट बढीभन्दा बढी नागरिकहरू मार्न सकिन्छ, अनि ठूलाठूला आयोजना कसरी बन्द गराउने र भएका संरचना ध्वस्त पार्न के के विधि अपनाउनु पर्छ आदि आदि । विदेशी पक्षलाई कमजोर पार्न कतिपय मुलुकहरूले अनेक हतकण्डा, दाउपेच र प्रपञ्च रचेका हुन्छन् । देखावटीरूपमा औषधी, खाद्यान्नलगायतका आर्थिक सहयोग गरिरहेका हुुन्छन् भने भित्रभित्र त्यहीँका जनता जनताबीच फूटको राजनीति लादिरहेका हुन्छन्, अनि हतियारको बिक्री बितरण गरिरहेका हुन्छन् । हामीजस्ता शूरवीरहरू तिनैका कठपुतली बन्छौं, अनि वीरताको परम्परालाई अक्षुण्ण राख्दै आफैं कमजोर बन्ने खेलमा लागि पर्छौं । उनीहरूले पठाएको खाद्यान्न र औषधी खाएर उनैको हतियारको सदुपयोग गर्छौं, आफू–आफू नै लड्छौं र ‘शूरवीर’ भएको प्रमाणित गरिछाड्छौं उनीहरूकै सामुन्ने ।
बोलीचालीको भाषा नै छ कि—‘बल हुनेको बुद्धि हुँदैन, बुद्धिहुनेको बल हुँदैन ।’ साँच्चै हो बल र बुद्धि भएको मान्छे विरलै भेटिन्छ । कुनैपनि ठाउँमा बलियो मान्छेलाई नेतृत्व तहमा नराखी तल्लो तहमा लड्ने, भिड्नेजस्ता शारीरिक कार्यमा लगाइन्छ र दुर्बल भएपनि बुिद्धमान छ भने निर्णय गर्ने उच्च तहमा राखिन्छ । राजनीतिमा नै हेरौं बुिद्ध हुने व्यक्ति नेता बन्छ, निर्णय गर्छ, शूरवीरहरूलाई परिचालन गर्छ र आफ्नो स्वार्थ पूरा गर्छ । अनि बलिया जति कार्यकर्ता हुन्छन् । लाठी खाने, गोली खाने व्यक्तिहरू यही वर्गका हुन्छन् । यिनको आफ्नो स्वार्थ हुँदैन, भइहाले पनि ज्यादै तुच्छ स्वार्थहरू हुन्छन् । तर वास्तवमा नेताले अत्यन्त ठूलो स्वार्थका लागि यस्ता शूरवीरको जमात जम्मा गरी परिचालन गरिरहेका हुन्छन् । हामी शूरवीरहरू कोही हातभरि ईंटा र ढुंगा बोकेर पूर्खाले लडेजस्तो वीरता प्रदर्शन गर्छौं भने कोही बन्दुक नै बोकेर मर्ने मार्ने खेलमा सामेल हुन्छौं । हाम्रो दिमागमा ‘देश र मुक्तिको लागि लड्नु पर्छ’ भन्ने सुगारटन्ते शब्द भरिदिन्छन् बाठा टाठाहरूले । अनि टाँगाको घोडा जस्तो दाहिने बाँया केही नहेरी कोही मर्न तयार हुन्छौं । कोही मार्न । जङ्गल जङ्गल घुम्छौं । आफ्नै दाजुभाई मार्छौ । के के गर्छौ, गर्छौं । परम्परादेखि चलिआएको हाम्रो नियति यही नै हो । आखिर संसारभरका नामी ‘शूरवीर’ नै त ठहरियौं ।
हामी ‘शूरवीर’हरूको एउटा खराब बानी के छ भने कुनै पनि कार्यको प्रतिफल हामी चाँडोभन्दा चाँडो खोज्छौं । हुन त हाम्रो नियति नै यस्तै छ । सबै भोका, नाङ्गा र निमुखा छौं । भोकाको त उखानै छ “तातै खाऊँ जल्दी मरौं” । त्यो उखान हामीबाटै निस्किएको हो र उखानभित्र पनि हामी नै छौं । त्यसैले त कुनै पनि कार्यको प्रतिफल चाँडो चाहन्छौं । यहाँनेर एउटा यात्रा सँस्मरणको सम्झना आयो–
हाम्रो विकट पहाडी जिल्ला डोल्पास्थित अत्यन्त दुर्गम गाउँको चित्रण गरिएको छ यस यात्रा सँस्मरणमा । कैलाश भ्रमणको लागि ट्रेकिङ्ग अनुमति खुल्ला भएपछि सुरूका दिनमा कैलाश भ्रमण गरी फर्केको विदेशी नागरिकको यात्रा संस्मरण हो यो । यस प्रसङ्गका लेखक समेत सम्मिलित भएको भ्रमण दल जब पैदलयात्राको क्रममा डोल्पाको दुर्गम गाउँमा पुग्यो । त्यहाँका आदिवासी जस्ता देखिने बासिन्दाहरूले उनीहरूलाई घेरे । कुनै नयाँ ग्रहबाट झरेको प्राणीलाई देखेजस्तो । अद्भूत चमत्कार देखेजस्तो । अनेक प्रकृया अपनाएर ती आदिवासी जस्ताहरूको जनजीवनबारे बुझ्ने प्रयत्न भयो । भाषाको समस्या भएतापनि इशारा गरेर बुझ्ने क्रममा उनीहरूको जानकारीमा आएको अचम्मको कुरो थियो— बच्चा र सम्भोगबीचको अन्तरसम्बन्ध । उनीहरूलाई बच्चा जन्मनु र सम्भोगकाबीचमा कुनै सम्वन्ध छ भन्ने जानकरीसम्म थिएन । बुझ्ने क्रममा यो कुरो पनि पत्ता लाग्यो कि उनीहरू कुनै पनि कार्यको परिणाम तत्काल चाहन्थे, एक दुई हप्ताभित्रै । अहिले देखिएको परिणाम, अहिले जन्मेको बच्चा नौ महिनापूर्व भएको कार्यको प्रतिफल हो भन्ने कुरा उनीहरू कुनै हालतमा पनि मान्न तयार थिएनन् । विश्वास गर्नसक्ने कुरो पनि त थिएन । त्यसैले होला पटकपटक सम्झाउँदा पनि विश्वास गरेनन् तिनीहरूले, केवल हाँसीमात्र रहे । फेरि नौ महिनाअघि एकदिनमात्र सम्भोग हुने भए त मान्न पनि सक्ने थिए होलान् । वर्षौं पहिलादेखि नै निरन्तर सम्भोग त भइरहेकै थियो र बच्चा जन्मनु दुईचार घण्टा पहिलासम्म पनि । अबुझहरूको त्यस बस्तीमा विश्वास दिलाउनेले के भनेर दिलाउने ? विश्वास गर्नेले कसरी गर्ने । कस्तो अप्ठ्यारो परिवेश ।
हामी पनि त्यही देशका बासिन्दा हौं । हामीलाई पनि कार्यको परिणाम चाँडै नै चाहिन्छ । ढिलो हुने परिणाममा विश्वास छैन हामीलाई । सातसालको परिणाम पनि तुरून्तै चाहेका थियौं हामीले । त्यसैकारण सब विथोलियो । ठूलो स्वरमा करायौं, चाँडै नै सत्र सालको परिवर्तन आयो । सत्र सालको नतिजा पनि चाँडै खोजियो । पटकपटक विरोध भयो मुस्किलले टिक्यो तीस वर्ष त्यसबेलाको सत्ता । कहिले अट्ठाइस साल कहिले छत्तीससालको उग्ररूप त पार भयो तर छ्यालिस साल आई छाड्यो । त्यसको नतिजा पनि तत्काल खोजियो । रातारात धनी बन्नु र आफ्ना मान्छे भनाउँदाहरूलाई देशभर दाईं हाल्ने वातावरण बनाउन हतारियौं । दलगत र व्यक्तिगत स्वार्थका लागि बलिया पार्टीहरू फुट्नु, विभिन्न पार्टीसँगको गठबन्धनमा सरकार बन्नु, अनि त्यही सरकार ढाल्न अर्को अधिर दल आतुर हुनु, जनताका प्रतिनिधिहरूबाटै महिनौंसम्म सदन बहिष्कार गरी जनताको भावना र मतको घोर अवहेलना गर्नु, मध्यावधि चुनावका लागि हतारिनु, सधैं बाटोमा अवरोध हुनेगरी टायर बाल्नु, वार–पर्खाल भत्काउनु, हामी अधिर र शूरवीरको फेहरिस्त फिँजाएर साध्य छैन । परिणाम स्वरूप धैर्य गर्न नजान्ने अर्काथरी अधिरहरूबाट ०५२ सालदेखि अर्को ताण्डवनृत्य सुरू भयो, मृत्युको । हामीले अझैं पनि कार्य हुनु र परिणाम आउनुबीचको सेतुलाई जोड्न जानेका छैनौं । कार्य भइसकेपछि परिणाम नआउँदासम्मको अवधिमा धैर्यतासाथ प्रतिक्षा गर्नुपर्नेमा विद्रोह, विरोध र आन्दोलनरूपी बज्रको प्रहार गर्दै आफू बस्ने घर नै भत्काई जिर्ण बनाइछाडेका छौं ।
प्रत्येक कालखण्डको थपेडो हाम्रै विवेकमा बज्रिएको छ । हामीभन्दा पनि हाम्रो बाटो देखाउने, हामीलाई डोहो¥याउने शीर्षस्थ नेतृत्वहरूबाट शूरता र वीरताको प्रदर्शन भइरहेको छ । यो देख्दा आफैंलाई विचरा भन्न मन लागेर आउँछ । कठै विचरा म र मेरा “शूरवीर”हरू । sattyarthi@gmail.com  9841206661

1 प्रतिक्रिया

  1. पड्दा पड्दै भब बेहोल हुने नेपलि इतिहास र बर्तमानलाइ समेटियको यो लेखले हामि कतिसम्मका मुर्ख रैछौ भन्ने सम्झना गरायो धन्यबाद दिज्यु इतिहार र बर्तमान म के भैरहेको जान्ने मौका दिनुभयकोमा।।।

प्रतिक्रिया छाड्नुस्