बेवारिसे डायरी – सुबिसुधा आचार्य

This option will reset the home page of this site. Restoring any closed widgets or categories.

Reset

बेवारिसे डायरी – सुबिसुधा आचार्य

एकदिन बिहानै ओच्छ्यानमा ढल्किरहेको बेलामा कसैले ढोकामा ढकढक गरेको आवाज आउँछ । म आफूले ओढेको कम्मल पन्छाएर जुरूक्क उठी ढोका उघार्न पुग्छु । ठिङ्ग उभिएको छ ढोकामा काम गर्ने फुच्चे ।
“म्याडम् ! सर बाहिर जानु पर्ने भयो, हजुर मेडिकलमा आइसियोस् रे ।” भान्छाकोठातिर लाग्छ आफ्नो भनाइ सिध्याएर ऊ ।
एउटा पत्रिकालाई लेख नभै भएन भनेर फोन गरेको ग¥यै ग¥यो, त्यही लेख सिध्याउन लाग्दा रातको दुर्ईबजे मात्र सुतेकी, ढिलै भयो उठ्नलाई, पूजाआजा त्यसै छ, फेरि मेडिकलमा जानु पर्ने । मन उसै ओसिलो बन्छ । बाथरूममा पसेर हतार–हतार आङमात्र खुलुक्क पखाल्न थाल्छु ।
ओहो ! पानी कति चीसो झन्डै बरफ जस्तो, हात गोडा चीसोले झमझमाउन थाल्छ पूजा सकेर पूजा कोठाबाट निस्कनै लाग्दा फुच्चे बोल्छ–
“म्याडम चिया ।”
“मेडिकलमै ल्याइदे ।” यति भनेर ज्याकेटको चेन लगाउँदै जान्छु मेडिकलमा । नभन्दै डाक्टर रोहनलाई टिचिङ अस्पतालसम्म छाडेर उहाँ भक्तपुर जाने हतारमा हुनुहुँदो रैछ म पुग्नासाथ उहाँहरू हिँडिहाल्नु हुन्छ बाइकमा ।
चीसोले मुटु लगलग कमाए पनि पसलमा बिरामीहरू जाँच्दा, औषधीहरू दिँदा र उनीहरूले मागेको सामान दिँदा बिस्तारै चीसो हराउन थाल्छ । फुच्चेले ल्याएको चिया चीसो भैसक्दा पनि खाने मौका पटक्कै जुरेन । कोही डाक्टरलार्ई वेलुकी जँचाउन नाम दर्ता गर्न आउँछन् त कोही औषधी लिन कोही–कोही स्वास्थ सम्बन्धी सुझाव मात्र लिने पनि छन् । सेवाको लागि बसेपछि नाफामा मात्र अल्झन पनि भएन । यसरी नै सलल चिप्लन्छ समय ।
व्यस्तै व्यस्तमा नौ बजिसकेछ, मान्छेको आगमन नभएको मौका छोपी पत्रिकामा नजर डुलाउँछु । अकस्मात् मेरो ध्यान सोकेसमाथि रहेको डायरीमा पर्छ ।
“अरे ! कस्को हो यो डायरी ”
भित्र पल्टाउँछु सुरूको पानामै छ परिवर्तन नेपाल, मन अलि उत्तेजित हुन्छ यो डायरी परिवर्तनको रै‘छ तर ठेगाना………………… यता उता सबैतिर खोजेँ पाउन सकिन । न ठेगाना छ, न सम्पर्क नम्बर नै । यो डायरी म उसको हातमा कसरी फिर्ता गरूँ अलिकति गर्मीले तातो बन्छ शरीर ।
डायरीका पानाहरू सरसर्ती पल्टाउँछु सुन्दर अक्षर तामाको पातामा मेसिनले कँुदेकाझैँ छन् । पानाभरि भरि श्रृङ्खलाबद्ध लेख मात्रै छन्, अन्त कहीँ कतै कसैको नाम, ठेगाना छैन । डायरी हेर्दा लाग्छ चानचुने पक्का होइन त्यसमा लेखिएको जुन लेख छ अति महत्वपूर्ण, कति सीप, मेहनत र श्रम खर्चेर लेखेको होला म एउटा लेखक त्यसैले पनि लेख लेख्नको कठिनाइ अनि त्यसको महत्व सहजै अनुमान लगाउन सक्छु । तर यो डायरी कसरी उसको हातमा पारिदिऊँ ?
दिउँसोको बाह्रबजेतिर खानपिन सकेर यसो छतमा निस्कन्छु घाम ताप्न, वल्लो पल्लो घरका पनि छतमा निस्केर सुन्तला खाँदैछन् । यसो हेर्दा लाग्छ घरभित्र कोही छैनन्, सबै जना घामको न्यानोमा नतमस्तक सेकाइरहेछन् आङ । मनमा कसोकसो हुन्छ छटपटी, केही सम्झेझैँ केही बिर्सेझैँ अनि केही हराएजस्तो र कुनै काम बिराएजस्तो । मनभित्रबाट छाएको खिन्नता । करेसामा लटरम्म फुलेका आरूका फूलहरू सिरसिरे बतासले भुइँमा बुर्रर्र खस्छन् । किनकिन फूलहरू अञ्जुलीमा उठाइ पोल्टो भरि बटुल्ने रहर जाग्छ मनमा छताछुल्ल ।
फूलहरूमा लुकामारी खेलेको मन सुटुक्क बिहान सोकेसमा फेला परेको बेवारिसे डायरीमा गएर डुब्छ चुर्लुम्म । ओहो ! त्यो डायरी पढ्नु पर्छ, मैले कतै त्यही भित्रका लेखहरूमा पो छ कि उसको ठेगाना । बतास जस्तो हुत्तिएर कोठामा पस्छु म । डे«सिङ टेबलमा थपक्क बसेर मलार्ई नै पर्खदै रहेछ विचरोले । गाली ग¥यो होला, सराप्यो होला र ठुस्कियो होला मसँग । किताब वा डायरीहरू निर्जीव भएपनि चाहना हुन्छ, रहर हुन्छ र, हुन्छ आकाङ्क्षा । धेरैभन्दा धेरैले उसलार्ई छोऊन्, सुमसुम्याउन् र पढून् पत्रपत्र केलाएर आन्द्राभुँडी खोतलेर सायद यो बेवारिसे डायरी त्यही चाहन्छ मबाट ।
म कस्ती अबुझ मूर्ख लेखिका ? उसको भावनाको रतिभर ख्याल गर्न नसक्ने, बुझ्न नसक्ने । कतिपय लेखकहरू छन् जो अरूको लेखभन्दा आफ्नै लेख पढन रूचाउने । म त त्यस्ती थिइन आज कसरी उनीहरूको पंक्तिमा पुग्न थालेंछु मनमा सोचाइका उदवेगहरू लहरिँदै गर्दा, डायरी लिएर पुग्छु बिस्तरामा ।
बिस्तरामा तकियाको अढेस लगाएर आधी शरीर ढल्काई कम्मलले छोपेर पल्टाउँछु डायरी, मन ज्यादै चञ्चल, उत्सुक भैरहेछ के लेखेको होला यसमा ? ऊ को होला ? कसले राखिदियो होला परिवर्तन नाम ? साँच्चै उसको थर नेपाल नै होला त ? यी र यस्तै चुल्ठी परेका जिज्ञासाको जवाफ खोज्दै दौडन्छन् नयन यसरी डायरीका अक्षरहरूमा ठोक्किदै, चिप्लदै अनि बग्दै ः–
‘साठी सालको कुरा हो, गोधुली सन्ध्याको समय, आकास फिक्का रातो लालीमा भित्र कैद थियो सडक केही सुनसानजस्तै, मालबाहक ट्रक र रात्रीबस बाहेक अरू भाडाका र प्राइभेट साधन ठप्प । सडकको दायाँ बायाँ किनारामा नरम हरियो घाँस लहलह थियो । ठाउँठाउँमा त्यही घाँसमाथि ताराजस्ता फूल फुलेका देखिन्थे भने उतिसघारी मन्द मन्द पवनको झोकामा मच्चिदै गथ्र्यो तलमाथि ।
जिल्ला सदरमुकामबाट आफैं मारूती कार चलाएर सहरतर्फ जाँदै थिएँ म । वैशाख महिनाको रमाइलो सन्ध्या थियो त्यो । सडकका दुवै किनारामा रहेका झुप्रा पसलहरूमा साँझको टुकी बलि सकेकाले पनि मन अतालिँदै थियो सहर भित्रिने हतारमा । आरामसँग सिटमा ढल्केर क्यासेटमा बजेको गीतको तालमा झुम्दै दुई चारवटा आंैलाले मात्र स्टेरिङ समातेर सयको स्पिडमा सुइयय्……हुइकिँदै थिएँ ।
गाडीमा रहेका दायाँ बायाँका झ्यालका सिसाहरू खोलेको थिएँ किनकि फ्रेस हावा मलार्ई चुम्दै पास हुन पाओस् । इन्जिन तातेर आएको रापले रतिभर सुमसुम्याउन नभ्याओस् मलार्ई । यात्रा आरामदायी नै थियो । अँध्यारोले बिस्तारै कब्जा गरेको सडक गाडीको हेडलाइटमा छङ्ग उघ्रिन्थ्यो । घरिको उकालो, घरिको ओरालो त केही घुम्ती काटेर मेरो कार दौडिरहेको थियो तीव्र रफ्तारले सडकको छातीमा मस्तसँग ।
झुप्रा पसलहरू र कटेरे घरलार्ई छाडेर म जङ्गलको बाटो कुद्दै थिएँ । जहाँ दायाँ बायाँ सल्लाघारी, बीचमा सडक सुनसान वातावरण चरा र मुसाकोसम्म चानुमानु नभएको ठाउँ । कताकता बरफझैँ ठन्डा भएथ्यो मुटु, आक्कल झुक्कल भेटिन आएका मालबाहक ट्रकको घ्यार्रसँगै लामो श्वास तान्थेँ म नाक र मुख दुवैबाट एकैपटक ।
सडकको छातीमा चिप्लिँदै गर्दा अगाडि एकजना महिलाले लिफ्ट माग्न बूढी औँला उठाएको देखेँ । सुनसान जङ्गलको बाटोमा दिन ढलेर रात पलाउँदै गर्दा एक्ली आइमाई को होलिन् लिफ्ट माग्ने ? म सोच्दै अगाडि बढेँ, कसो कसो ब्रेक दबाउन हिचकिचायो मन । आधा किलोमिटर जति नाघेपछि मनले फेरि सोच्यो कतै विचल्लीमा परिन् होला विचरी र त गाडी रोकिन् । मेरो प्राइभेट कार भएपनि उनलार्ई लिफ्ट दिँदैमा के बिग्रन्छ र ? आखिर म सहर जानु नै छ उनलार्ई लैजाँदैमा बढी पेट्रोल सकिने पनि हैन क्यारे, मनले यस्तै कुरामा सहमति जनायो र गाडी ब्याक गरेर उनी भएको ठाउँमा फर्केँ ।
उनको अगाडि पु¥याएर कार रोकेँ मैले, उनले खुल्ला कारको झ्यालबाट भित्र टाउको घुसारिन् र भनिन् ।
“तपाईं सहरतिर जान लाग्या ?”
“हो ।” मैले भनेँ ।
“तिमी पनि जानकै लागि लिफ्ट मागेकी भए छिटो भित्र आऊ ।” कारको ढोका उघारिदिँदै भनेँ मैले ।
लामा पाँसुलामा टिपिक्क हुने पाइन्ट लगाएको खुट्टा खुम्चाउँदै कारको अगाडि सिटमै बसिन् उनी । अनि मैले कार हाँक्न थालेँ तीब्र रफ्तारमा र उनी चुपचाप रहिन् । कार हाँक्दै उनलार्ई बेलाबेलामा छड्के नियाल्दै थिएँ म । लाम्चो अनुहार पातली थिइन् । उनका आँखा खैरा र लोखर्केका जस्ता चलाख थिए । कान पनि मुसाकाझैँ साना तथा लोती नजानिदो माथितिर फर्केका तर गहनाको नाममा केही लगाएकी थिइनन् । कपाल पछाडि लगेर बानेकी उनले हरियो रङ्गको पाइन्ट र हरियो रङ्गकै ज्याकेट लगाएकी थिइन् भने साथमा बाक्लो ठूलोे खकाने झोला च्यापेकी ।
“तिमी सहरको कुन ठाउँमा जान लागेकी ?”
मौनतालाई भताभुङ्ग बनाउँदै मैले सोधेँ उनलार्ई । तिखो आँखाले एकपटक पुर्लुक्क मतिर हेरिन्, आफ्नो पछाडि बोकेको झोला दुर्ईहातले सकी नसकी उचालेर काखमा राखिन् र भनिन् ।
“सहरकै मुख्य केन्द्रसम्म ।” मैले अझ स्पिडमा कार कुदाएँ, उनी चुपचाप अगाडि लमतन्न पसारिएको कालो सडकलाई नियाल्दै बसिन् । हामी बीचमा वार्ता थिएन पटक्कै । मैले क्यासेट बजाएँ ।
“बन्द गर्नुस् यी गाना बजाना मलार्ई यसमा पटक्कै रूचि छैन, यी रेकर्डिङ बाजा भन्दा चिप्लो सडकमा सलल कार कुदेको आवाज, अरू गाडीले साइड माग्न बजाएको हर्नको आवाज, हावाको सुसाइ मन पर्छ मलार्ई ।” अलि चिडिएको स्वभावमा क्यासेट बन्द गर्न लगाइन् उनले मलार्ई ।
कस्ती नरपंक्षी पशु ! ‘साहित्य, कला र संगीतबिहीन मान्छे त सिङ र पुच्छर बिनाको पशु’ नै हो भनिदिऊँ कि जस्तो लागेको थियो । फेरि, कसो कसो मुखमै बुझो लाग्यो मौनताको र मन नलाई–नलाई बन्द गरेँ क्यासेट । एउटा कारमा सफर गरेका हामी दुई यात्री, त्यसमा पनि एउटालाई सुन्न मन नलागेपछि क्यासेट खोल्नुको पनि औचित्य के रह्यो र ?
सडकको छातीमा कार दौडिरह्यो सुइयय्………को आवाजमा, मैले स्टेरिङ्ग घुमाइरहेँ नचाहँदा नचाहँदै बेला मौकामा मलाई छक्काएर उनीसम्म लपक्क टाँसिन जान्थे चोर आँखा, तर कुन्नि किन हो उनले भने छड्के नजरलेसम्म चियाइनन् मलार्ई । कुनै गहिरो सोचाइमा डुबेको जस्तो देखिन्थिन् उनी ।
“आज आमाको मुख हेर्ने औँसी, तिमी पनि आफ्नी आमालाई खुवाउन जान लागेकी ?” जे पर्ला संवादको पर्दा उठाएँ मैले ।
“म कहिल्यै पनि आमालाई खुवाउँदिन । फेरि, म जन्मनु भन्दा पहिलादेखि नै खाँदै आएकी थिइन् उनले । कहाँबाट आयो बाबु आमा खुवाउने चलन,वाइयात । देश संकटमा परेर आफ्नै अधिकार र अस्तित्वको खोजीमा सिङ्गो नेपाल आमालाई निरंंकुशता र जहाँनिया शासनको पञ्जाबाट मुक्त पार्न दौडधुप गर्ने छोरा छोरीले कसरी आफ्नैमात्र आमाको पेट भर्न सक्छन् ? हामी करोडौं आमाहरूको मुक्तिको बाटोमा होमिएका छौँ बुझ्नु भो तपार्ईंले ।”
राताराता आँखाले मलार्ई हेर्दै बोलिन् उनी ।
उनको भनाइ पटक्कै बुझिन मैले, त्यो भनाइ दाँतमा ढुङ्गा बिझाए जस्तो दिमागमा भने बिझाइरह्यो । मन अलिकति तुसारोझैँ कक्रिएर टाँसियो छातीमै, त्यति ठूलो गह्रौ झोलाभित्र के होला त हामीहरू धेरै बेरसम्म मौन भयौँ । मैले उनलार्ई अझ बढी प्रश्न नगर्ने निश्चय गरेँ । हुन त जिज्ञासाहरू प्रशस्त थिए । तिमी को हौ ? कहाँ जान लागेकी त्यो झोला भित्र के छ ? तिम्रो विवाह भयो या छैन ? भए उसको नाम के हो ? आदि इत्यादि ।
लगभग एक घण्टा पश्चात् जङ्गल छिचोलेर गाउँको सडकमा प्रवेश ग¥यौँ हामीहरू । अब भने कुकुर भुकेको आवाज र दुम्सीले बारीको गहुँ नखाओस् भनी बाली कुर्न बसेकाले टिन बजाएको एकोहोरो आवाज प्रशस्त सुन्न सकिन्थ्यो । ठाउँठाउँमा तरकारीको भारी राखेर गाडी पर्खिरहेका किसानसँग पनि देखादेख हुन थाल्यो । पहिलाको तुलनामा मन बत्तिएको छ कारको स्पिडसँगै । कारमै जडित घडीलाई नियालँे मैले, रातको दश बजिसकेको थियो ।
“तपार्इंलाई यो मारूती कारमा सलल कुद्न बडो आनन्द आएको होला हैन ?”
“सधँै बसेर यात्रा गर्ने कारमा त्यस्तो महसुस किन होस् बरू तिमीलार्ई त्यस्तो भान परेको हुन सक्छ ।”
अलिकति इतरिएर जवाफ फर्काएँ मैले ।
“सट अफ ! कसरी सोच्नु भो यस्तो कुरा ? के तपार्ईंले कल्पना गर्नु भएको छ ? देशमा कुनै त्यस्तो ठाउँ पनि छ जहाँका बासिन्दा मोटर कार चढ्नु त परै जाओस् मोटरलार्ई कुन चराको नाम हो भन्छन् । के यो देशका उनीहरू नागरिक होइनन् र ? उनीहरूको पनि त्यति अधिकार छ जति तपार्ईंको छ ।”
ती कुकुर भुकेका र टिन ठटाएका आवाजलाई चिरा पार्दै बोलिन् उनले । उनको यो भनाइ पनि मेरो सोचाइ र बुझाइ विपरीत लाग्यो । उनीसँग सवालमा जवाफ लडाउने पक्षमा पटक्कै थिइन म । त्यसैले चुप लाग्दै कारको स्टेरिङ्ग घुमाएँ ।
“तपाईं समाचार कत्तिको पढने, हेर्ने र सुन्ने गर्नुहुन्छ ?” हावाले निधारतिर ल्याएको कपाल हातले तह लगाउँदै प्रश्न गरिन्् उनले ।
“हत्या, हिंसा, आतङ्क, मरे र मारेको बाहेक सुन्न पाइन्न । कुन्नि किन हो खालि देशमा हतियारको भरमा सत्ता लिन तम्सेका छन् विभिन्न पक्षहरू । यस अर्थमा म समाचार प्रति त्यति रूचि राख्दिन ।” मन नलाई–नलाई जवाफ दिन्छु म उनलार्ई ।
“वाह ! महाशय कस्तो आनन्दको धारणा । हेर्दा त शिक्षित जस्तै देखिनु हुन्छ तर सोचाइ भने किन यस्तो ? अधिकार भन्ने कुरा मागेर आउँदैन बुझ्नु भो । त्यसैले लड्दा दुर्ईचार जना मर्छन् त के भयो र ? अर्को कुरा समाचार नहेर्ने, त्यसो भए सिरियल हेर्नुहुन्छ होला काल्पनिक कहानीमा बनाइएका, पप, ¥याप र झ्याप संगीतहरू सुन्नु हुन्छ होला ? नेपाली मौलिक गीत संगीतलाई कुरूप पारेर कृत्रिम नयाँपन दिन खोजेको अनि हेर्नुहुन्छ होला दिदी बहिनी नङ्ग्याएर नारीलाई मनोरञ्जनको साधनमा उभ्याएर पैसा कमाउन बनाइएका चलचित्रहरू । पूर्वपश्चिम उत्तरदक्षिणको दुःखी गरिबको कथाव्यथा समेटिएका हुँदैनन् त्यसमा । के एउटा च्याङ्बा भोकले अत्तालिएर रूखको बोक्रा कोपरेको तीतो यथार्थ हुन्छ ती चलचित्रमा ? कि धनी मुखियाले फुर्वाकी तरूनी छोरीको अस्मितामाथि धावा बोलेकै देखाइन्छ ? कि रामेको घरबारी जम्दारले हडपेर गाउँ निकाला बनाइएको सत्यता नै ओकलिएको पाइन्छ ? सायद तपार्ईंहरू जस्ता स्वार्थी मतलबीले चासो पनि राख्नु हुन्न यस्तो बिषयमा, महलमा बस्नेलार्ई झुपडीको व्यथा, वास्मती चामल नरूच्नेलार्ई भोकको छटपटाहट र मारूतीमा दौडनेलार्ई नाङ्गो पैतालामा गेगरले बिझाएको र काँडाले चिथोरेको अनुभव कसरी होस ?”
उनी यसरी बहकिइन् कि कुलोमा पानी बगेसरि । उनीभित्रको आन्दोलन शब्द भएर मेरो शिरमा थोपरियो असिना बर्षे जस्तो । उनको धारा प्रभाव भनाइ चुपचाप सुन्दै थिएँ म, बिना प्रतिवाद । बोल्ने कुनै कुरा भेटिन, सत्य ओकलेकी हुन् उनले, तर मेरो दिमागले यी सबै कुरा सोच्न कहिल्यै भ्याएन । सोचाइ र बुझाइ हेराइ, गराइ मान्छे पिच्छे पृथक हुन्छ कुण्ड कुण्ड पानी मुण्ड मुण्ड बुद्धि भनेझैँ । गाउँ छिचोलेर माझ बजारतर्फ जादै थियौँ हामीहरू । गाउँको तुलनामा बजार जागै थियो रातको एघारबजेसम्म पनि । बत्तीहरू बलिरहेका, ससाना सटरमा होटेलहरू खुलै, भुसियाकुकुरहरू पुच्छर हल्लाउँदै एउटा अर्को सटरहरू बाहिर चहारिरहेका ।
“एकछिन कार रोक्न सक्नुहुन्छ ?” उनका हात मेरो हातमा राख्दै बोलिन् उनी ।
“किन नसक्नु तर केका लागि ?” नचाहेरै सोधेँ मैले ।
बिना जवाफ कारको ढोका उघारेर बाहिर निस्किन् साथमा त्यो झोला पनि बडो जतनले च्यापेर । उनको त्यो होसियारीपन देख्दा लाग्यो त्यो झोलामा सिसा जस्तै फुट्ने गह्रौ सामान छ । उनी बाहिर निस्केपछि लामो आङ तन्काएँ मैले पनि, अब केही समयमै माझबजार पुग्छाँै हामी । कारको साइड सिसाबाट दायाँ बायाँ चियाएँ, उनको छायाँसम्म पत्तो लागेन । छोडौँ त त्यहाँदेखि सँगै आइयो, एक्ली आइमाई मान्छे । रातको बीचमा कहाँ जालिन् ? सँगै लैजान कता गएकी होलिन् अत्तोपत्तो छैन । एकछिन त कुर्नै प¥यो भन्ने मानसिकतामा पुुगेँ म ।
उनी कारबाट बाहिरिएको दश मिनेटमै बजारभर बत्ती गयो, अघिसम्म उज्यालोको अँगालोमा कसिएको माझबजार ऐले चुक पोखिएझैँ अन्धकार भयो । म कार भित्रको बत्ती बालेर क्यासेट खोल्न मात्र के लागेको थिएँ मै माथि चट्याङ्ग खसेझैँ बेजोडले आवाज आयो जुन आवाजको सामना गर्न नसकेर मैले दुवै हातले कान थुनेँ र आँखा चिम्लिएँ ।
मुटु असाध्यै छिटो धड्कियो हंस उडेर टाढै गएझैँ, यस्तो लाग्यो कारसहित म भासिएँ तलतल, मेरो सातोपुत्लो गयो एकोहोरो बम, बारूदको आवाजले । एक घण्टा पछि आँखा र कान खोल्दा बजार कोकोहोलामा चुर्लम्म डुबेको, बजारको प्रहरी चौकीले आगो ओकल्दै बन्दुक पड्केको आवाज हाँडीमा मकै पड्केझैँ भन्दा बढी । हेर्दा त्यस्तो देखिन्थ्यो आकाशबाट माझबजारमा उल्का वर्षा भैरहेछ । मान्छेहरूको भागाभाग, मारामार, काटाकाट, दौडादौड, रूवाबासी, चिच्याहट । उफ !
त्यस्तो धमाका एक घण्टा जति भैरह्यो । म न अगाडि बढ्न सकेँ न पछाडि नै । उनी पनि फर्केर आइनन् । मलार्ई डर, त्रास र शंकाले झ्यापझुप समात्यो एकै पटक, बन्दुक पड्कन छोडे पनि मन पड्किरह्यो आफूलार्ई विचलित बनाउने गरी, त्यसरी नै छटपटिले निल्दै ओकल्दै गर्दा हातमा टर्च बोकेका तीनचार जना मैतिर आए परबाट ।
मैले पनि कारको हेडलाइट बालेँ उनीहरू प्रहरी थिए । एउटाले झ्यालबाट टाउको घुसारेर सोध्यो ।
“ए को होस् तँ यति राती एक्लै कार रोकेर यहाँ के गर्दै थिइस् ?”
उसले हातको टर्च बालेर गाडीभित्र यताउता हेर्दै पनि थियो अगाडिको सिटको तल एउटा पेस्तोल र छापामारको परिचय पत्र टिप्यो । जुन त्यहाँ छ भन्ने मलार्ई पनि थाहै थिएन ।
त्यसपछि त के चाहियो र एउटाको इसारामा अर्कोले कन्चटमा पेस्तोल तेर्साउँदै मलार्ई कारबाट झर्न हप्कायो ।
“हान्दिँऊ कि बाहिर निस्कन्छस्, साला आतङ्ककारी ।”
सात्तोपुत्लो गयो मेरो । सिङ्गै बजार रक्ताम्मे देखँे मैले, यसैगरी कतिको कन्चटमा पड्कियो होला बन्दुक ? टेकेको जमिन मुनिमुनि गइरहे जस्तो, अत्यासले मन फतक्कै गल्यो । मनमा कपर्दी खेल्दैछ त्रास, मच्चिन्छ डर रूखमा सोइसाला खेले जस्तो ।
लासैलास बजारभरि तिनै लासको पङ्क्तिमा अर्र्को एउटा लास थपिने भयो मेरो, उनीहरूले घिच्याउँदै लगे जलेर भग्नावशेष भएको चौकीतिर, असरल्ल छरिएका लास सडकभरि टुप्लुकिन थाल्यो नजरमा । अगाडिको सिङ्गै संसार अन्धमुष्ठी कालो बाहेक अरू केही थिएन, शून्य एकदम शून्य । कम्प छुट्यो छातीमा, पूरा शरीर भूकम्पले घर हल्लाए जस्तो गरी, भीरबाट खसेर ढुङ्गामा पछारिएर लागेको चोट जस्तो थिलथिलिदै दगल्चियो मन, पसिनाको मूल फुटाउँदै ।
प्वाँ…. प्वाँ….. साइरन बजाउँदै थप सुरक्षाकर्मी बोकेर आयो सैनिकको गाडी बजारमा ।
“सायव एउटा छापामारलार्ई समातेका छौँ जिउँदै, अरू त कति मरे, घाइते भएकालार्ई लगे उनीहरूकै साथीहरूले ।”
जिउ तन्काउँदै र बुट बजार्दै तनक्क तन्कियो एउटा । हातमा वाके ट्वाके लिएर निस्कियो अर्को ट्रकबाट ।
“ए तँ चाहिँ किन भाग्ने प्रयास गरिनस् त ? मर्न डर नलागेर हो ?” साला !
व्यङ्गग्य र रिसको हेराइसँगै पेस्तोलले कन्चटमा घोच्दै पड्कियो अर्को, थर्थर कामेको शरीर ओठमा बोली पनि लर्बरियो, साँच्चै काल आएकै हो त भन्ने सन्त्रासले लटरम्म भोगटे पलायो मनमा, कारमा भेटेको परिचय पत्र मैनटोलको उज्यालोमा नियाले उनीहरूले, त्यो छापामार हिमालीको थियो ।
“बता यो केटी र अरूलार्ई कता पठाइस् ? तिमीहरूको योजना थियो हैन माझबजार हान्ने ?” आगो जस्तो भएको प्रहरीले एक मुक्का कसेर बजायो मेरो कन्चटमा । होस समालेदेखि परिवारको लाड प्यारमा हुर्केको मैले, रूखो वचनकोसम्म सामना नगरेको म, त्यो मुक्काले तोरीको फूल देखेँ लटरम्म फुलेको चारैतिर, मुखले नबोल्दा शरीरले यातना पाउने थाहा पाएर डराई डराई वास्तविकता बताएँ । मेरो यथार्थलार्ई झुटो कहानी भन्ठाने उनीहरूले । रातभरमा धेरैको लात्ती, मुक्का, घुस्सा र लठ्ठीको वर्साइ खाइरहेँ मैले । मलार्ई बिना सित्तैमा, मार्ने भए भन्ठानेँ मैले ।
अगाडिसम्म मनमै मात्र भोगटे फलेको थियो तर पछि अनुहार, पिठ्यँु पाखुरा र तिघ्रामा छाम्दै फेला पार्ने साह्रा भोगटे झुण्डियो साथमा रक्ताम्य बनाए मलाई ।
बिहानीको मिर्मिरे उज्यालोले धर्तीलार्ई आफ्नो साथमा समेटुन्जेलसम्म पिटाइ खाइरहेँ मैले । उज्यालो भएपछि धमाधम लास बटुल्ने काम गरे । कोहीको हात छैन, कोहीको खुट्टा, कसैको आँखा फुटेको त कसैको गिदीसम्म बाहिर निस्केको । पचासौँ जना प्रहरी र सत्र अठार जना छापामारको लास थियो त्यहाँ । लासको पङ्तिमा हिमालीको पनि लास थियो । एकमनले सरापेँ उनलार्ई । आफू त मरिन् मरिन् मलार्ई पनि फसाइँन्, दोस्रो कताकता एकदमै नरमाइलो पनि लाग्यो उनको लास देख्दा । चार दिनसम्म मलाई हात खुट्टा बाँधेर माझबजारको एउटा किनारामा उनीहरूले आफ्नो निगरानीमा राखे । माझबजार चौथो दिन बल्ल प्रहरीले आफनो कब्जामा लियो । जिल्लामा मलाई लगे, सञ्चारमाध्यममा आयो– ‘माझ बजारमा आतङ्ककारीहरूको समूह पक्राउ, प्रहरी हिरासतबाट भाग्न खोज्ने क्रममा प्रहरीको गोली लागि सत्रजनाको मृत्यु, एकजना आतङ्ककारी प्रहरीको हिरासतमा । दुर्ईजना प्रहरी सामान्य घाइते ।’ आदि इत्यादि मलार्ई उनीहरूले पानी पानी भन्दा पिसाव खुवाउनसम्म पछि परेनन् । जुठो भात दिए कैयौं दिन । मलाई पन्ध्रदिनसम्म निकै नै यातना दिएर केरकार पारे, मैले रूदै हात जोडेर सबै यथार्थ बताएँ । बाबाको नम्बर दिएर फोन गरी बुझ्न अनुरोध गरेँ । बल्लतल्ल बाबालाई फोन गर्छु भन्यो मलाई यातना दिने ट्वाकेले । थाहा छैन फोनमा बाबासँग के के कुरा गरे कुन्नि । “तँलाइ तेरो बुबा लिन आउँदै छ । तेरो बुवाको जमानीमा छुट्न सक्छस् ।” भन्यो त्यसले ।
गतहप्ता माझबजारमा दोहोरो भिडन्त भयो । त्यस अर्थमा तँ माथि शङ्का गरेछन् हाम्रा सिपाहीले । फेरि त्यो आतङ्ककारीको पेस्तोल र परिचयपत्रले पनि शङ्का गरायो । यति भनेर कठालो समात्दै अर्र्को कोठामा लग्यो मलाई । त्यहाँ मेरो बाबा, आमा र मामालाई पनि देखेँ, बाच्ने भएँ भन्ने आश जाग्यो ।
एउटा प्रहरीले चिया ल्याएर दियो तर मलार्ई त्यो चिया आफ्नै रगत उमालेर ल्याएझैँ लाग्यो, कसो कसो पिउन पटक्कै मन लागेन । भोक र प्यासले त्यत्रा दिन छट्पटिदा केही दिएनन् । शरीरमा लागेको चोटले र भोकले आन्दोलित थिएँ म, आँखा भन्दा मन ज्यादा रोइरहेको थियो । यस अर्थमा चिया पिउन अस्वीकार गरिदिएँ । माझबजार गतहप्ताको घटनाले निकै त्रसित छ रे । वरपर दायाँ बायाँ मान्छेको रगतको कुण्ड थियो रे, तर नजिक आएर उभिने हैसियत कसैमा थिएन रे । प्रहरी चौकी र त्यस वरपर सबै खरानी नै भएको छ रे ।
बाबा, आमा र मामालाई देख्ने बित्तीकै आफूलार्ई समालेर थाम्नै सकिन मन, हामी अँगालोमा बाँधिएर खुब रोयाँै एकछिन, मेरो अवस्थाले मैनझैँ पग्लनु भयो उहाँहरू पनि ।
मलार्ई सहरको महङ्गो नर्सिङ्ग होममा छ महिनासम्म भर्ना गरेर राखियो, शरीरको चोट त निको हुँदै गयो तर मनमा लागेको चोट भने रूखमा ऐँजेरू भाँगिएझैँ दिन प्रतिदिन झाँगिदै थियो भने पिडालुमा गवरा सल्के जस्तो सल्कदै जान थाल्यो । क्यासेट टेप रेकड गरेझैँ प्रहरीहरूको अमानवीय व्यवहार, प्रहरी प्रशासनको बिना अपराधको यातना र हिमालीले भनेका कुरा रेकर्ड भएको थियो दिमागमा । म त महङ्गो नर्सिङ होममा उपचार गराउँदै थिएँ तर ती छापामारहरू वन वनमा वनमारा निचोरेर आफ्नो चोटमा दल्दै होलान् आफैले गोली निकालेर । ठीकै हो उनीहरूको सोचाइ, म मात्र आफ्नो लागि बाँचेर आएँ उनीहरू अरूका लागि मरेर गए । म त के हु्ँ र ? यहाँ शोषक सामन्ती र भ्रष्टाचारीहरू पैसाको डसनामा सुत्छन् । गरिब दुःखीहरू त्यही पैसाका लागि सूर्र्य उदाएदेखि अस्ताएसम्म पसिना चुहाउँदै दश नङग्रा खियाउँछन् । मसिनो चामलको भात कुकुरले निल्दैन कतै, कतै कोदाको खोले एक पेट खान रूवाबासी छ । देश एउटै, बासिन्दा एउटै, मान्छे उस्तै मात्र भोगाइ फरक किन ? समानता चाहिन्छ सबैलार्ई, परिवर्तन आउनुपर्छ देशमा । म एउटाले मात्र नर्सिङहोममा उपचार गरेर हुँदैन । गाउँ बस्तीका बासिन्दाले पनि ज्वरो आउँदा सिटामोल पाउँनुपर्छ । साँझमा सल्लाको मेटो र माटाको पालामा कपडाको झुम्रा होइन बिजुली बाल्न पाउनुपर्छ । सय ठाउँमा तुनेको भोटो हैन एकजोर गतिलो मयलपोस लगाउन पाउनुपर्छ । साँझ बिहान दुई छाक राम्रो खान पाउनु पर्छ । यी सब परिवर्तनको लागि क्रान्ति आवश्यक छ जुन एउटाले गरेर हुँदैन हामी जस्ता युवा जाग्नुपर्छ, लाग्नुपर्छ, तात्नुपर्छ, मुठीमा आलु उसिन्न सक्ने जोस बोकेर नशा–नशामा रगत उमाल्दै !
सोच्दा सोच्दै आगोको कोइलाझैँ रातो भएर म एकदिन नर्सिङहोमबाटै भागेँ ।
त्यति बेला बाबा आमाको माया, सम्झना, अपनत्वभन्दा हिमालीले देखाएको बाटो प्यारो अति प्यारो लाग्यो । उनको सपना साकार बनाउन दौडिएँ वनवनै, पाखापाखै र खोलैखोला हजारौँ हिमालीहरूको साथमा । बाटामा साथीहरूसँग परिचय गर्दा मैले आफ्नो नाम परिवर्तन नेपाल बताएँ । कारण हामी सबै नेपालमा परिवर्तन ल्याउन चाहन्छौँ, हो म पनि त्यही परिवर्तनको प्यासमा सिदार्थ गौतमझैँ घर छाडेको युवा थिएँ ।
क्रान्तिको बाटोमा हिड्न कहाँ त्यति सजिलो हुँदो रैछ र ? कैयांै दिन भोकै बस्न प¥यो, कैयौं रात खुल्ला आकाशलार्ई ओढने, हरियो चौरलार्ई डसना र ढुङ्गाको सिरानीमा सुखको निद निदाएको थिएँ । त्यो दिन बम पड्कदा कान थुन्ने हातले कैयौं बम पड्काएर ध्वस्त बनाइयो दुश्मनका इलाकाहरू………………… । मनमा परिवर्तनको भोक उम्लेको बेला अप्ठेरा, सकस र सङ्कट त सामान्य तवरले चपाइँदो रहेछ ।’
“आभा ! साँझ झमक्क परिसक्यो तल बैठक कोठामा गेस्ट आएका छन् । केटाले के कस्तो स्वागत ग¥यो तिमी भने यहाँ के गर्दैछौ ?” उहाँको आवाजसँग यर्थाथमा पछारिन्छु नराम्रोसँग ।
“के पढ्छौ त्यसरी आफूलार्ई नै बिर्सिएर ?”
“केही होइन विहान पसलमा एउटा डायरी फेला परेथ्यो त्यहीँ पढेकी ।” मैले भनेँ ।
“कसको रैछ ?”
“थाहा छैन, परिवर्तन नेपालको नाम छ ।”
“चिन्दै नचिनेको मान्छेको डायरी पनि कसैले पढ्छ त ?”
“पढ्नै नहुने इन्द्रजाल त होइन क्यारे, अँ सुन्नुस न यो डायरी कसको हो थाहा नपाएकीले मैले बेवारिसे डायरी नाम राखेँ ।”
उहाँ हाँस्दै तल झर्नु भो, म भने डायरी टेबलमै फ्यात्त फालेर भान्छा कोठामा पस्छु ।
गेस्टहरू आएका हुँदा सदाको भन्दा बढी व्यस्त रहनु प¥यो भान्छामा म । केटाले के बनाउँछ कस्तो बनाउँछ चित्त बुझ्दैन, खानपिन सक्दा रातको दश बज्यो । एकछिन पाउनासँग सन्चो बिसन्चो हाल खवर सोध्नै प¥यो । बिस्तरामा पुग्दा बाह्र बजिसकेछ, थकाइले आँखा झप्प लाग्न लाग्दा डायरी पढ्न जाँगर पलाएन भोलि हेरौंला भन्दै सुतेँ ।
बिहानको दिनचर्या उही हो नुवाइ धुवाइ पूजापाठ यसो उसो गर्दा आठ बजि गयो । उहाँ आज पनि बाहिर जानुभयो कामले, मेडिकलमा म नै परेँ । हिजो अस्तिको जस्तो भिडभाड छैन आज मेडिकलमा, खालि समय बस्न पाउँदा झस्स डायरीको याद आयो, केटालाई पठाएँ । आफूले हेरी भ्याएको ठाउँसम्म बाट अर्को पाना पल्टाउँदै गर्दा एउटा एक्सिडेन्टको केस रगतपच्छे भएर आयो ।
बिरामीलाई डाक्टर रूममा बसालेर डे«सिङ्ग गरी औषधि, इन्जेक्सन दिँदा आधा घण्टा चिप्लेछ । उनीहरू त्यहाँबाट हिड्न नपाउँदै एकहुल मान्छे कुडुलो परेर नारा र जुलुस लगाउँदै आए ।
के भयो ? किन यस्तो भयो ? मैले अनुमान लगाउन सकिन ।
उनीहरू पसल बन्द गर्न निर्देशन दिदै थिए सटर तान्दै लात्ताले हान्दै थिए । अगाडि, दायाँ वायाँका अन्य पसलका सटरहरू धमाधम बन्द भए । उनीहरूले मेडिकल पनि बन्द गर्न भने तर मेडिकल त सर्वसाधारणको सेवाको लागि खोलिएको हुँदा जस्तो सुकै बेलामा पनि बन्द गर्न नपर्ने कुरा म बताउँदै थिएँ तर हुलले खाउँला जस्तो गर्दा मैले डराएर सटर तानेँ ।
सटर तानिसकेर सोकेसको डायरी खोज्दा त्यो डायरी त्यहाँ थिएन । यताउता धेरै खोजेँ भेटिएन डायरी । जसरी हात परेथ्यो त्यसरी नै गायब भयो । मलार्ई भने असाध्यै नमीठो लाग्यो ‘बेवारिसे डायरी’ पूरा पढ्न नपाएकोमा ।

4 प्रतिक्रिया

  1. Susmita khanal says:

    अति नै राम्रो

  2. saraswati nyaupane says:

     दिदी नमस्कार !!! तपाईंको लेख साह्रै राम्रो छ, प्रगतिको कामना छ ल

  3. कथा निकै राम्रो लाग्यो । डायारीको रहस्य खुलेको भए मनको खुलदुली मेटिने थियो ।

  4. समयले हातमा हत्कैडी लगाएपछी ,, गरिबको बर्तको के अर्थ भो 
    गरिबलाई दसँदिन खान नपाए ,,भोको पेटमा पैसाको के अर्थ भो 
    कसैले भन्छन् धुङगाको मुर्ती राम्रो ,,जन्म दिने आमा नमाने धुङगाको के अर्थ भो 
    धोबी घाटको मन्दिर मा पाती नहाले ,, मन्दिर लाई धोकेको के अर्थ भो 

     धेरै धेरै धन्यवाद  बेवारिसे डायरी – सुबिसुधा आचार्य ज्यू मेरो जीवन संगमेल खाएकोछ …. 
    बाध्यता  बनायो मलिन आशुझर्नलाइ  बधाई छ 

प्रतिक्रिया छाड्नुस्